सातौँ म्याग्दी महोत्सवको तयारी पुरा

  • २७ पुष २०७९, बुधबार
  • 849 पटक पढिएको

बेनी, २७ पुस । ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतले बेनीलाई देश तथा विदेशमा चिनाएको छ । संगीतका माध्ययमबाट बेनी बजारलाई चिनाउन यो गीतले गरेको योगदान संगसंगै बेनीमा परम्परागत रुपमा लाग्दै आएका माघे संक्रान्ति मेलाले पनि थप चिनारी दिँदै आएको पाईन्छ । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै हरेक बर्ष माघ १ गते ‘माघे संक्रान्ति मेला’ लगाउने गरिन्थ्यो ।


तत्कालिन समयमा मनोरञ्जन र व्यापार व्यवसायका लागि आयोजना हुने यसै माघे संक्रान्ति मेलालाई संरक्षण र जगेर्ना गर्नका लागि २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्वमा मेला र महोत्सव आयोजना गर्न थालिएको हो । संघको अगुवाईमा २०६० देखि बेनीमा हरेक तीन÷तीन बर्षमा महोत्सव आयोजना गर्ने गरिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । बेनीमा २०६०, ६२, ६५, ६८, ७१ र ७४ मा महोत्सव आयोजना गरिएको छ । यसका अलबा संघ अन्तरगत नै रहेको महिला उद्यम विकास समितिको आयोजनामा सडक खाना महोत्सव तथा माघे संक्रान्ति मेलाहरु आयोजना हुँदै आएका छन् ।
यस बर्ष म्याग्दी उद्योग बाणिज्य संघले पुस २८ देखि माघ ७ गतेसम्म सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको आयोजना गरेको छ । विहिवारदेखि बेनीमा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । महोत्सव सफल बनाउन गठीत ३९ वटा उपसमिति मार्फत तयारीलाई भव्य र व्यवस्थित बनाउने तयारी गरिएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा बेनीलाई तुल, व्यानर र धोजापतकाले सिगारिएको छ । बजार सरसफाई र सजावटले चिटिक्क पारिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र उद्घाटन सत्रलाई मौलिक कला , संस्कृति र पेषभुषा प्रदर्शन सहित भव्य बनाउने तयारी गरिएको संघका अध्यक्ष कटुवालले बताउनुभयो । ‘‘ बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलालाई निरन्तरता दिँदै महोत्सव सञ्चालन गरेका हौँ, कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा महोत्सवले सघाउने अपेक्षा गरेका छौँ’’–उहाँले भन्नुभयो ।

महोत्सव स्थलको व्यवस्थापन, प्रचार प्रसार र अतिथि निमन्त्रण लगायतका काम सकिएको संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार यो महोत्सवमा काली गण्डकी नदीमा ¥याफ्टिङ र म्याग्दीका मुख्य पर्यटकीय स्थलहरुमा हेली सयरको समेत व्यवस्था गरिएको छ । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने उहाँको भनाई छ ।

महोत्सवमा २६० बढी व्यवसायिक स्टल राखिने भएको छ । अधिकाँश स्थलहरु बुकिङ भैसकेका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिने संघका महासचिब अमित बानियाँले जानकारी दिनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा रु १ करोड ४० लाख आम्दानी र रु १ करोड खर्च हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवालोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिव १० करोड बराबरको ब्यावसायिक आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुहुने आयोजकले जनाएको छ ।