रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम

  • २४ पुष २०७९, आईतवार
  • 739 पटक पढिएको

कमल खत्री
बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत निर्माण गर्न लागिएको हो ।
दुबै आयोजनामा अहिले दैनिक करिब १ हजार जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ । यि दुई आयोजनाको बाँध, सुरुङमार्ग, विद्युतगृह र पेनस्टक पाईप जडान लगायतका पूर्वाधार निर्माण गर्न रामेछाप शेर्पा कन्स्ट्रक्सन, साउथ एसियन इन्फ्रास्ट्रक्चर र हाइ हिमालय हाइड्रोपावर कन्ट्रक्सनले ठेक्का लिएका छन् ।


राहुघाट मंगले जलविद्युत आयोजनाको बाँधस्थल बन्दीघाटदेखि विद्युतगृह रहने चिमखोलासम्मको ५ हजार ३२० मिटर सुरुङमार्गमध्ये २ हजार ३९३ मिटर सुरुङ निर्माण भएको छ । आगामी एक बर्षभित्र ब्रेकथ्रु गर्ने लक्ष्य सहित दुई वटा अडिटबाट सुरुङमार्गको कामलाई तिब्रता दिएको आयोजनाले हेडवक्स र विद्युतगृहतर्फको कामलाई समेत अघि बढाएको कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो ।
हेडवक्सतर्फ बाँध लगायतका पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । बाँधतर्फ ४० प्रतिशत पूर्वाधार निर्माणको प्रगति भएको छ । चिमखोलाको मलाङमा रहने विद्युतगृहका लागि जग खन्ने काम अघि बढाइएको छ । बन्दीबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई ३६२ मिटरको हेडबाट खसालेर उत्पादन हुने विद्युतलाई १४ किलोमिटर लामो ट्रान्समिसन लाइन मार्फत राष्ट्रिय प्रशारणमा जोडिनेछ । अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको यस आयोजनाबाट आगामी ३० महिनाभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको इन्जिनियर ढकालले बताउनुभयो ।
तुण्डी पावर कम्पनीले नै यस आयोजनाको विद्युतगृहबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गर्ने गरि ४८.५ मेगावाटको अपर राहुघाट जलविद्यूत आयोजना निर्माण गरिरहेको छ । चिमखोलाबाट ६ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई दग्नामको पुछारमा रहेको लगरको बगरमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने तयारी गरिएको छ । दुई वटा अडिटबाट सुरुङमार्ग निर्माण सुरु गरेको यस आयोजनामा अहिलेसम्म ३ हजार १ सय मिटर सुरुङ निर्माण गरिसकिएको छ । अपर राहुघाटको विद्युतगृहको कामले समेत गति लिएको छ ।
दग्नामको पुछारमा रघुगंगा नदीमाथि झिँको पुछारबाट बेलिब्रिज निर्माण गरेर पहुँचमार्ग पु¥याएपछि अहिले पहाड काटेर विद्युतगृहको फाउण्डेशन निर्माण गर्ने काम सुरु गरिएको छ । विद्युतगृह निर्माणमा परिचालित हाइ हिमालय हाइड्रोपावरले दैनिक ८० जना जनशत्तिः परिचालन गरेको छ । रघुगंगा नदीको बगरमा पहाड समेत काटेर विद्युतगृहको फाउण्डेशन निर्माण गर्ने काम भैरहेको निर्माण कम्पनीका साईट इन्चार्ज भुवनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, पहाडलाई काट्नका लागि दुई वटा स्काभेटर र पहाड खोल्ने मेसिन परिचालन गरिएको छ भने क्रसर ल्यान्ट स्थापना गरिसकिएको छ ।
धौलागिरि हिमालको फेदीमा मुहान रहेको ‘ऊर्जा खोला’को रुपमा चिनिन थालेको रघुगंगा नदीमा अहिले चार जलविद्युत निर्माणधिन छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले रघुगंगा–३ , ४ र ५ मा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने वडा नम्बर –८ छरीमा संयुक्त ऊर्जा प्रा.लि.ले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।