बेनीमा सातौँ म्याग्दी महोत्सवको तयारी तीव्र

  • १७ पुष २०७९, आईतवार
  • 693 पटक पढिएको

बेनी, १७ पुस : म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुन लागेको सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।


बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा सघाउन महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
‘‘महोत्सवको तयारीलाई तीव्र पारेका छौँ, काठमाण्डौ सम्म पुगेर प्रचार प्रसार गरिएको छ, महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न गठित उपसमितिहरु मार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ’’–अध्यक्ष कटुवालले भन्नुभयो । संघले अहिले आर्थिक स्रोत जुटाउन व्यवसायि, बैँक तथा वित्तिय संस्था र स्थानीय तहहरुसंग समन्वय गरिरहेको जनाएको छ ।
शान्त रुपमा महोत्सव सम्पन्न गर्न जिल्ला स्थित सुरक्षा निकायहरुसंग समेत छलफल र बैठकहरु भैरहेको जनाइएको छ । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्क्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टर मार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि ¥याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।
महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुने भएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् ।
जिल्लामा रहेका जातजातिहरुको पहिचान झल्कने झाँकि पदर्शन सहित पुख्र्याली प्रतियोगिता समेत हुने महोत्सवमा बेनीको पुरानो नाच हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साँगेतिक प्रस्तुती रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ । महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई तीब्रता दिइएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा रु १ करोड २५ लाख आम्दानी र रु १ करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यवसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको ब्यावसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।