म्याग्दीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

  • १५ पुष २०७९, शुक्रबार
  • 585 पटक पढिएको

बेनी १५ पुस : देशका विभिन्न स्थानमा बंगुरमा देखा परेको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा सङ्क्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रुपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।
पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बंगुर फार्ममा गरिएको बंगुरमा पशुपन्छी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । यहाँका ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखा सहितको टोलीले अनुगमन गरेको थियो । बंगुर फार्मबाट लैजाने मासु पसल सहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ ।


केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताउनुभयो । बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाई छ ।

बेनी नगरपालिका–७, मंगलाघाटमा साढे २ सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदिप गौतमले बताउनुभोि । यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुन सक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । पशु सेवा शाखाको अनुसार,रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको ५, टकबहादुर बुढाथोकीको ६५ वटा, टिका रोकाको २६ वटा पूर्वराज घर्तीको ७ वटा बंगुर मरेको विवरण संकलन भएको छ ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाई छ । जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकहरुको भनाई छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ ।