बजारको अभाबले गाउँमै उत्पादन भएका अल्लो कपडा थन्किए

  • ४ पुष २०७९, सोमबार
  • 898 पटक पढिएको

बेनी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभाबले थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरि गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमीहरु बजार अभाबले समस्यामा परेका छन् । विगत ६ बर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरी अल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाहरुको बजारीकरणमा समस्या भएको बताउनुभयो ।


उहाँले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट,पाइन्ट,टोपी,झोला, जुता लगायतका सामाग्री बनाउनका लागि बेनी, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा बजारीकरण गर्दै आउनुभएको छ । पछिल्लो दुई बर्षयता अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमीहरु समस्यामा परेको थापाको भनाई छ । ‘‘कोरोना महामारी र रुस–युक्रेन युद्ध लगायतका कारण विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटरबढी कपडा गोदाममै थन्किएको छ’’–थापाले भन्नुभयो । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर विक्रि गर्दै आउनुभएका थापाले ९ जनालाई प्रत्येक्ष रुपमा रोजगार दिँदै आउनुभएको छ । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङ लगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयबासीबाट संकलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ ।
गत बर्ष स्थानीयबासीबाट ३ हजार किलो अल्लोको पुवा संकलन गरेको उद्योगले यस बर्ष ७ हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्ने संगै जंगलमा अल्लोको पुवा संकलनबाट समेत स्थानीयबासीले अम्दानी गर्दै आएका छन् । उद्योगले अल्लोको पुवालाई प्रतिकिलो रु १२० मा खरिद गर्दै आएको उद्यमी थापाले जानकारी दिनुभयो । ‘‘हामी गाउँपािलकाभित्रका स्थानीयले संकलन गर्ने जतिपनि अल्लोको पुवा खरिद गर्न सक्छौ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामाग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारहरुको खोजी थालिएको छ’’–थापाले भन्नुभयो ।


थापाले उद्योगमा अहिलेसम्म करिब २५ लाख लगानी गर्नुभएको छ । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको दिएको थियो । यस अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडाहरुमध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको रु ८०० र कटन मिसाएको रु ५५०, ऊन मिसाएको रु ५०० मा विक्रि हुने गरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिनुभयो । ‘‘स्वास्थ्यको लागि समेत लाभदायि हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन, अझैपनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकहरुको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ’’–उहाँले भन्नुभयो । जंगलमा पुस देखि वैशाखसम्म अल्लोको पुवा संकलन गर्ने गरिन्छ ।