लिपि लोप हुँदा छन्त्याल भाषा सङ्कटमा

  • २५ मंसिर २०७९, आईतवार
  • 899 पटक पढिएको

म्याग्दी २५ मङ्सिर । म्याग्दीमा बसोबास गर्दैआएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप भएको हो ।

छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ८३ वर्षीय युबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु, आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु, बसाइँसराइलगायत कारणले भाषा लोप हुन थालेको उहाँको भनाइ छ । “भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए । युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छोडेर विदेश वा सहरमा बसाइँ सरेको छ । उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेको गुर्जाका कमल छन्त्यालले भन्नुभयो, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ सालको जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा रहेका छन् । नेपाल छन्त्याल सङ्घ म्याग्दीका  मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

घरपरिवारमा मातृभाषा बोल्ने चलन हराउँदै जानु, आफ्नै समुदायका साथीभाइसँग भेटघाट हुँदा पनि नेपाली भाषा प्रयोग गरिनु तथा आफ्नो पुख्र्यौली पेसा छोडेर सहर र विदेश जाने क्रम बढ्नुले पनि मातृभाषा लोप हुँदै गएको हो । म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास छ ।

छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी बताउनुहुन्छ । म्याग्दीमा सबैभन्दा धेरै छन्त्याल समुदायको बसोबास रघुगङ्गा गाउँपालिकामा छ।