निवर्तमान सांसदलाई पुनःसंसद प्रवेशमा रोक्दै मुस्ताङमा युवाले रचे इतिहास

  • ६ मंसिर २०७९, मंगलवार
  • 571 पटक पढिएको

म्याग्दी ६ मंसिर । एक पटक संसदमा पुगेका व्यक्तिलाई पुनः अवसर नदिन ‘नो नट अगेन’ अभियानका बारेमा पक्ष र विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा हिमालपारीको जिल्ला मुस्ताङमा तीन जना निवर्तमान सांसदलाई पराजीत गर्दै तीन युवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बिजयी भएका छन् ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसले बिजयी हात मात्रै पारेको छैन्, संसदमा दोहोरिएर जाने प्रचलनलाई रोकेको छ भने राजनीतिमा युवाहरुलाई अवसर दिनुपर्ने सन्देश समेत दिएको छ । प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका २९ बर्षिय युवा नेता योगेश गौचन थकालीले निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका ६१ बर्षिय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजीत गर्दै बिजयी भएका हुन् । काँग्रेसलाई गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थन थियो ।

१० हजार ९५७ मतदाता रहेको मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । निर्वाचनमा काँग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकट्म प्रतिस्पर्धी नेकपा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८७ र राप्रपा नेपालका उम्मेदवारले १३ मत प्राप्त गरेको र ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित काँग्रेसका थकाली पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा समेत हुन् । २०७४ मा आफ्नै बुबालाइ पराजित गरेका तुलाचनलाई यस पटक योगेशले भारी मतले पराजीत गरेका हुन् । ०७४ को निर्वाचनमा प्रेमले रोमीलाई ४८५ मत अन्तरले हराउँदै प्रतिनिधि सभामा जित हाँसिल गरेका थिए ।

ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले नेविसंघ र तरुणदलमा समेत आबद्ध भएर जनवर्गीय संगठनहरुलाई चलायमान बनाउने काम समेत गरेका थिए । उनले मुस्ताङमा होटल र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गरिरहेका छन् ।
गण्डकी प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र (१) मा काँग्रेसका युवा नेता नम्डु गुरुङ बिजयी भएका छन् । ३४ बर्षिय युवा गुरुङले निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा बिष्टलाई २५५ मतान्तरले पराजीत गरे । गुरुङले १०४८ मत प्राप्त गरी बिजयी हुँदा बिष्टले ७९३ मत प्राप्त गरेका थिए ।

लोमानथाङ गाउँपालिका–३ किम्लीङको निवर्तमान वडा अध्यक्ष रहेका गुरुङ गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा पराजीत भएका थिए । उनी काँग्रेसको जिल्ला सदस्य समेत छन् । प्रदेश निर्वाचन क्षेत्र (२) मा काँग्रेसका ४० बर्षिय युवा उम्मेदवार विकल शेरचनले एमालेका चन्द्रमोहन गौचनलाई पराजीत गरे । एमालेवाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भैसकेका गौचनलाई काँग्रेस जिल्ला सचिब समेत रहेका ४० बर्षिय युवा शेरचनले १५८ मतान्तरमा पराजीत गरेका हुन् । घरपझोङ गाउँपालिका–४ जोमसोम घर भएका शेरचनले २ हजार ७२३ मत ल्याउँदा गौचनले २ हजार ५६५ मत ल्याएका थिए । तरुण दलबाट राजनीति सुरु गरेका शेरचनले करिब १० बर्ष कोरिया बसाईको क्रममा जनसम्पर्क समिति मार्फत काँग्रेसको राजनीतिलाई निरन्तरता दिएका थिए भने तीन बर्ष अघि नेपाल फर्किएपछि राजनीतिलाई पुनः निरन्तरता दिएका थिए ।
                                   स्थानीयदेखि राष्ट्रिय मुद्धाहरुमा सशक्त भुमिका खेल्ने प्रतिबद्धता
यतिबेला मुस्ताङले देशभरकै ध्यान तानेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो नतिजा घोषणा भएर मात्रै होइन, निर्वाचित तीनै जना ४० बर्षमुनीका युवा भएकाले पनि यस पटकको निर्वाचनमा मुस्ताङले देशभरको ध्यान तान्न सफल भएको हो । यहाँबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित तीनै जना युवाहरुले मुस्ताङको विकास र समृद्धिसंगै समग्र मुलुकका विद्यमान समस्याहरुको निराकरण गर्न संसदमा शसक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पूर्णता दिने, कोरला नाकालाई नियमित सञ्चालनमा ल्याउनेदेखि मुस्ताङलाई पर्यटनको हब बनाउने एजेण्डाहरुलाई आफुहरुले प्राथमिकता दिने उनीहरुको भनाई छ । प्रतिनिधिसभामा निर्वाचित गौचनले कोरला नाका सञ्चालनको लागि कुटनीटिक पहलमा भुमिका खेल्ने देखि नाका सञ्चालनको लागि आबश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, छुसाङदेखि नाका सम्म ग्राभेल सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने, जिल्लाभित्र आम नागरिकको माग बमोजिमको सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यका पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्दै मुस्ताङलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने बिषय आफ्नो प्राथमिकतामा पर्ने बताए ।

प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ र शेरचनले मुस्ताङको जलवायु परिवर्तनको बिषय, हिमाली शहरको मुद्धालाई प्रदेशसभामा जोडका साथ उठाउने बताउँछन् । ‘‘अहिले एक्यापको कारण हामीले यहाँको नदिजन्य पदार्थको सहज व्यवस्थापन गर्न सकिरहेका छैनौँ, जस्को कारण यहाँका बस्तीहरु उच्च जोखिममा पर्दै गएका छन्, हामीले हिमाली क्षेत्रको बस्तीको संरक्षण र यहाँको विकासमा छुट्टै अवधारणालाई अघि सार्ने जमर्को गर्छौ, युवाहरुले बोल्ने कम र काम बढी गर्नुपर्छ, त्यसतर्फ हामी सचेत छौँ’’–प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित शेरचनले भने ।