तामाखानीको उत्खनन् नहुँदा स्थानीयबासी निरास

  • १७ आश्विन २०७९, सोमबार
  • 1056 पटक पढिएको

कमल खत्री
बेनी, १७ असोज । धवलागिरि गाउँपालिका –५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा वि.स. १९०४ मिती उल्लेख भएर बनाइएका तामाका भाँडाकुडा छन् । उहाँका जिजुबाजेहरुले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । छन्त्यालको घरमा उक्त मिती उल्लेख भएका ६ माने पाथी , गाग्री लगायतका तामाका सामाग्री सुरक्षित छन् । १७४ बर्ष अघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राख्नुभएको छ ।

मल्कबाङ गाउँ आसपासमा मात्रै दर्जनबढी तामाका खानीहरु रहेका छन् । डाँडा र पाखाभरि प्रशस्त तामाखानी छन् । खानी उत्खनन गर्नु छन्त्याल जातिको पुख्र्यौली पेसा हो । धवलागिरि गाउँपालिकामा छन्त्याल जातिको बसोबास रहेका ठाउँमा तामाखानीहरु बाख्लै भेटिन्छन् । त्यसैले परम्परागत रुपमा उत्खनन गरिएका तामाखानी र छन्त्याल समुदायको बसोबासबिचमा पेसा र जीविकोपार्जनको सम्बन्ध जोडिएको छ ।

धौलागिरि गाउँपालिकाको मल्कबाङ संगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छीम, धारापानी लगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनेका सुरुङहरु रहेका छन् । तर, बन्द अवस्थामा रहेका दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । तत्कालिन सरकारले करको दर बढाएसंगै करिब साढे १ शदाब्दीदेखि यस क्षेत्रका तामाखानी बन्द हुन पुगेका थिए । बन्द अबस्थामा रहेका तामाखानीहरुको अध्ययन र अनुसंधान गरि पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् । आफ्ना पुर्खाहरुले खानी खनेका ठाउँ वरपर अहिलेपनि तामाका धाउहरु भेटिने भएकाले यस क्षेत्रमा तामा खानीको सम्भावना अध्ययन गरि पुनः सञ्चालनमा ल्याउनुपर्ने मल्कबाङका वडा अध्यक्ष अमर छन्त्यालको भनाई छ ।

‘‘हाम्रो पुस्ताले यसैमा जीवन विताए, उनीहरुले खनेका दर्जन बढी खानीका भग्नाबशेष यहाँ अझै भेटिन्छन्, सरकारले यस क्षेत्रका खानीको सम्भावनालाई अनुसन्धान गर्न जरुरी छ,’’–उहाँले भन्नुभयो । तत्कालिन सरकारले खानी उत्खनन गर्नेहरुबाट लिने करबापतको ‘भेजा’ बढी लिन थालेपछि छन्त्याल समुदायको पुख्यौली पेसा खानी उत्खनन् संकटमा पर्न थालेको थियो । म्याग्दीमा अहिले खानीका भग्नावशेष भएका ठाउँ नजिक छन्त्याल समुदायकै बसोबास छ । छन्त्याल समुदायले खानीबाट तामा, फलाम लगायत उत्खनन् गरि अन्य ठाउँमा पुगेर अन्नसंग साटेर गुजारा चलाउने गरेको कथन बुढापाका सुनाउँछन् ।

आफ्नो पुख्यौली पेसा संकटमा परेपछि ४÷५ पुस्तादेखि छन्त्याल समुदायको पेसा पनि परिवर्तन भएको छ । अहिले अधिकाँश छन्त्याल समुदाय वैदेशिक रोजगार, व्यापार व्यवसाय लगायतमा आबद्ध देखिन्छन् । मल्कबाङ, गुर्जा, मच्छिम लगायतका क्षेत्रमा तत्कालिन समयमा स्थानीय स्तरमै उत्खनन गरिएका तामाबाट बनाइएका घरेलु भाँडाहरु अहिले पनि छन् । खानी खन्नको लागि बनाइएका लामा–लामा सुरुङ वरपर र भित्र तामाका धाउहरु प्रशस्त मात्रामा देखिने भएकाले यसको अध्ययन र अनुसन्धान गर्नुपर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ ।

‘‘पुर्खाहरुले गाउले छिनो, घन ,कुटो कोदालोको सहारामा यत्रा पहाडमा सुरुङ खनेर तामा उत्खनन गरेका हुन्, त्यतीबेला सुरुङभित्र आगो बालेर तामाका धाउहरु खन्ने गरेको सुनिन्छ, अहिले प्रविधिको विकास भएको छ, सम्भाव्यता अध्ययन गरेमा नयाँ प्रविधिको प्रयोगले खानीहरु उत्खनन् गर्न सकिन्छ,’’–उहाँले भन्नुभयो । सरकारले समेत खानीहरु उत्खनन्मा विभिन्न नीतिहरु अघि सारेको सन्दर्भमा स्थानीय तहहरुले समेत आबश्यक पहलकदमी लिन सकेमा यस क्षेत्रमा बन्द अवस्थामा रहेका खानीहरु पुनः सञ्चालनमा ल्याउन सकिने आधारहरु छन् ।

तर अहिले चट्टाने पहाडमा आफ्ना पुर्खाहरुले खानी खन्नको लागि स्थानीय औजारहरुले बनाएका सुरुङहरु समेत पुरिने अबस्थामा पुगेकोमा स्थानीयवासी चिन्तित समेत भएका छन् । खानीमा रहेका सुरुङहरुले नेपालको झण्डै २ सय बर्ष पुरानो जीवनशैलीलाई समेत झल्काउने भएकाले यस्तो सुरुङहरुलाई तत्कालको लागि संरक्षण गर्नुपर्ने आबश्यकता छ ।

पुस्तांै पहिलको जीवन्त दैनिकीहरु बोकेका खानीहरुलाई उत्खनन्को पहलकदमीसंगै सुरुङहरुको संरक्षण र प्रचार प्रसार गर्नसकेमा अध्ययन अनुसंधान र पर्यटन विकासमा समेत टेवा पु¥याउन सक्ने आधारहरु छन् । खानीहरुलाई उत्खनन गर्न स्विकृतिको लागि सरकारी प्रकृया पु¥याउन नसक्नु, पुख्र्यौली सीप नयाँ पुस्तामा हस्तान्तरण नहुनु जस्ता कारण पनि खानी उत्खनन नहुनुको अर्को कारण बनेको छ । त्यसैले परम्परागत रुपमा उत्खनन हुने गरेका यस्ता संभावनायुक्त खानीको अनुसन्धान गरी संचालनमा ल्याउन स्थानीय प्रदेश र केन्द्रीय सरकारको ध्यान जान जरुरी छ ।

बन्द भएका खानीहरुलाई आधुनिक स्रोत, साधन र सीपको प्रयोग गरि पुन संचालनमा ल्याउन सकेमा स्थानीय समुदाय संगै राष्ट्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । खानी संरक्षण र उत्खनन्को अधिकार स्थानीय तहलाई आएपछि म्याग्दीका विभिन्न ठाउँमा रहेका यस्ता खानीहरु पुनः सञ्चालनमा आउने स्थानीयबासीमा आशा पलाएको छ ।