चाडपर्व र चुनाबको रौनक

  • १६ आश्विन २०७९, आईतवार
  • 517 पटक पढिएको

बेनी, १६ असोज । रोजगार, व्यापार, व्यवसाय, अध्ययन र अवसरका लागि गाउँबाट बाहिर बस्दै आएका व्यक्तिहरु गाउँ फर्कन थालेका छन् । दशैँ, तिहार लगायतका विशेष महत्व बोकेका चाडपर्व र आगामी मंसिर ४ गते घोषित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला गाउँघरमा चहलपहल बढेको छ ।


दशैँ लगत्तै असोज २३ गते मनोनयन दर्ताको कार्यतालिका रहेकाले पनि चुनाब लक्षित कार्यक्रम लिएर दलका नेताहरु गाउँ गाउँ पुग्न थालेका छन भने चाडपर्व बनाउनकै लागि गाउँ फर्कनेहरुको पनि लर्को लाग्न थालेको छ । प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले चुनाबी अभियान नै सञ्चालन गरेको छ भने पाँच दलित गठबन्धनमा रहेर निर्वाचन लड्न लागेको नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लगायतका दलहरु समेत चुनाबकेन्द्रीत गतिविधिमा व्यस्त बन्न थालेका छन् ।

खासगरि जन्मथलो छाडेर शहर र प्रवाससम्म पुगेकाहरु दशैँ मनाउँनकै लागि आफ्नो घर फर्कन थालेपछि गाउँघरमा आफन्तबिचको जमघट बढेको छ । दशैँ मनाउन गाउँघर फर्कनेहरु बढेपछि गाउँको वातावरण रमाईलो र उत्सवमय बनेको रघुगंगा गाउँपालिका–६ का विरेन शेरपुञ्जाले बताउनुभयो । विद्यालयहरुले समेत चाडपर्वको विदा गरेर पठनपाठन बन्द गरेपछि बालबच्चा पढाउनका लागि शहर झरेकाहरु गाउँ फिर्ता हुन थालेका छन् । बाटो, पैदलमार्ग, चौतारा र घरसमेत सरसफाई गरेर चिटिक्क पार्न थालिएको छ ।

अन्नपूर्ण गाउँपालिका–२ घर भइ पोखरा बसोबास गर्दै आउनुभएका रमेश पुनले चाडपर्वको दिन नजिकिन थालेपछि गाउँ फर्किएको बताउनुभयो । ‘‘ अरु समय गाउँ आउने त्यस्तै हो, समय पनि मिल्दैन, कामको व्यस्तताले छाडेर हिड्ने कुरा पनि भएन, दशै तिहार मनाउन त फर्किहालिन्छ,’’–उहाँले भन्नुभयो । पुन जस्तै सयौँको संख्यामा पोखरा, काठमाण्डौ लगायतका शहरमा बसोबास गर्नेहरु यतिबेला आफ्नो गृहगाउँ फर्कने तयारीमा छन् ।

दशैँका अवसरमा स्थानीय युवा क्लबहरुले आयोजना गर्ने खेलकुद र साँस्कृतिक कार्यक्रमहरुले समेत गाउँमा दशैँको रौनक बढ्ने गर्छ । जिल्ला खेलकुद विकास समितिका अनुसार, म्याग्दीका दर्जनौँ स्थानमा खेलकुद तथा साँस्कृतिक मेला आयोजना भैरहेका छन् ।
दशैँको किनमेल र आर्थिक व्यवस्थापनका लागि पनि यतिबेला बेनी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । फेन्सी, किराना, लगायतका पसलदेखि बैँक तथा सहकारीहरुमा सर्वसाधारणको भीड बढेको छ । चाडपर्वकै किनमेलका लागि सर्वसाधारणको फलो बढेपनि विगतको बर्षको तुलनामा यस बर्ष बजारमा व्यापार व्यवसाय घटेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

सामाग्रीमा भएको मुल्यबृद्धि र आर्थिक बन्दीका कारण चाहेर पनि बढी र महङ्गा सामाग्री खरिद गर्न सक्ने अवस्था नरहेको सर्वसाधारण बताउँछन् । ‘‘ खाने, लाउने सबै सामानको मुल्य छोइनसक्नु छ, घरका सबैलाई एक जोर कपडा किन्दा पनि लाख नाघ्ने देखियो, बेनीको एक फेन्सीमा कपडा हेर्दै गर्नुभएकी एक महिलाले भन्नुभयो’’ । व्यवसायिहरुका अनुसार, दैनिक उपभोग्य बस्तुको मुल्य समेत बढेर आएको छ ।
चामल, चिनी, तेल लगायतका दैनिक उपभोग्य बस्तुहरुमा अघिल्लो बर्षको तुलनामा २५ देखि ३० प्रतिशतसम्म नै मूल्य बढेर आएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कटुवालले बताउनुभयो । ‘‘हामीले किर्तिम मुल्यबृद्धि नगर्न व्यवसायिहरुलाई सचेत गराएका छौँ, आन्तरिक अनुगमनको पक्षमलाई पनि अघि बढाएका छौँ, तर आउँदा नै मुल्य बढेर आएको कारण बिगतका बर्षको तुलनामा मुल्य असमान्यतर्फ बढ्दै गएको छ’’–कटुवालले भन्नुभयो ।