दसैँसंग जोडिएको पिङको संस्कृति जोगाउँदै युवा पुस्ता

  • १५ आश्विन २०७९, शनिबार
  • कमल खत्री
  • 988 पटक पढिएको

कमल खत्री
बेनी, १५ असोज । मंगला गाउँपालिका–५ अर्मनको टिकाबाङ स्थित साहारा युथ क्लबका युवाहरुले दिन लगाएर लिङ्गे पिङ तयार गरेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा परम्परागत रुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । परम्परागत रुपमा दसैँ तिहारको अवसरमा गाउँमा ‘लिङ्गे पिङ’ बनाउने कार्यलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष दिर्गबहादुर बुढाथोकीले बताउनुभयो । पिङ बनाउनका लागि पहिलो दिन गाउँका युवाहरु गाउँमाथिको धुरीमा पुगेर मालको रुखको अग्ला लिंगा लिने गर्छन् । दोस्रो दिन जंगलबाट ल्याइएका अग्ला लिंगालाई गाडेर बाबियो घाँसबाट बनाइएको डोरीलाई बाँधेर पिङ तयार गरिन्छ । पिङ बनाउन युवाहरुले लिंगा काट्ने, बोक्ने, बाबियोको लठो बनाउने काम गर्छन भने युवतिहरुले खाजा बनाएर खुवाउने गर्छन् । लिंगा बोकेर ल्याउँदै गर्दा बिच बाटोमा युवतिहरुले पु¥याएको खाजा खाएर नाचगान सहित लिंगालाई गाउँमा ल्याउने चलन रहेको छ । पिङ तयार भएपछि फुलपातीको दिनमा विशेष पुजा गरेपछि रातभर नाचगान गरेर पिङलाई कुर्ने चलन रहेको क्लबका अध्यक्ष बुढाथोकीले बताउनुभयो । ‘‘हरेक बर्ष दशैँमा हामीले लिङ्गे पिङ बनाउँदै आएका छौँ, युवायुवतिहरु प्रयाप्त मात्रामा गाउँमा नबस्ने भएकाले परम्परागत संस्कृतिहरु जोगाउन मुस्किल हुँदै गएको छ’’–उहाँले भन्नुभयो ।


परम्परागत रुपमा लिङ्गे पिङ संगै काठको रोटेपिङ समेत बनाउने गरिन्थ्यो । लिङ्गे पिङको प्रचलन अझै रहेपनि रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको छ । काठका सामानहरु पयोग गरि एकै पटकमा धेरै जना खेल्न मिल्ने रोटेपिङ सिप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगको हो । रघुगंगा गाउँपालिका–४ दग्नाममा पनि  क्लबको अगुवाईमा लिङ्गे पिङ हालिएको छ भने रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेका स्थानीयबासीले समेत दसैँमा लिङ्गे पिङलाई जोगाउँदै आएका छन् । यहाँको चौरखानी, मंगलेखानी, कुइनेखानी, घ्यासीखर्क, खरिबोट, पात्लेखर्क, दुवाडी लगायतका हरेक बस्तीहरुमा दसैँमा ‘लिङ्गे पिङ’ हाल्ने गरेका छन् ।

स्थानीय रितुङ माध्यमिक विद्यालयका प्रधानध्यापक खिम छन्त्यालले पुर्खाहरुले दशैँको अवसरमा जमिन छाड्ने प्रचलन स्वरुप पिङ खेल्ने संस्कृतिको सुरुवात गरेको बताउँदै अहिलेपनि स्थानीय युवा क्लब र आमा समूहहरुले निरन्तरता दिएको बताउनुभयो । ‘‘लिङ्गा काट्न युवाहरु जंगल जान्छन, युवतिहरुले खाजा बनाएर बाटोमा लैजान्छन्, पिङ हाल्ने दिनमा आमा समूह र युवा क्लबको सहभागितामा ठाडो भाकामा गित गाएर रमाइलो गर्ने चलन छ’’–उहाँले भन्नुभयो ।

पिङ बनाइसकेपछि धोजा पतकाले सिंगारेर चिटिक्क बनाउन गरिन्छ भने केटी मान्छेलाई पहिलो पटक खेल्न दिने गरिन्छ । जिल्लाको माथिल्लो भेगमा जंगलका अग्ला काठका रुखहरुको लिङ्गाहरु गाडेर जंगलमा पाईने निगालाको चोयाँको लठो प्रयोग गरि पिङ बनाइन्छ भने बेशीका बस्तीहरुमा भने बाँसका लिङ्गो र बाबियोको लठडो प्रयोग गरेर पिङ बनाउने गरिन्छ । असत्यमाथि सत्यको बिजयी भएको उत्सवका रुपमा मनाईने दसैँमा खासगरि जमिन छाडेरै खुसीयाली मनाउने प्रचलन स्वरुप पिङ हाल्ने गरेको बुढापाकाहरु बताउँछन् ।
पहिले हरेक जसो गाउँ र बस्तीमा दसैँ तिहारमा लिङ्गे पिङ र चमच्चा हाल्ने गरिएपनि आजभोली न्यून मात्रामा मात्रै देख्न पाइन्छ । ‘‘पिङ हाल्ने कामलाई हामीले उत्सवकै रुपमा लिने गथ्यौ, तर पछिल्लो समय यो हराउन थालेको छ’’– धवलागिरि गाउँपालिका–२ लमसुङका भक्त सिंकिजा मगरले भन्नुभयो ।

स्थानीय लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मगरले युवायुवतिहरु पुराना संस्कार, संस्कृति र परम्पराको संरक्षणमा जागरुक नबन्दा दसैँको महत्व र महिमा संग जोडिएको लिङ्गे पिङ हाल्ने प्रचलन हराएर जाने जोखिम बढेको बताउनुभयो ।
वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्षको दसैँ तिहारका अवसरमा कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलन रहेको रघुगंगा गाउँपालिका–३ का बयोबृद्ध ९३ बर्षिय उदयचन्द्र रिजाल बताउनुहुन्छ । ‘‘ दसैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ हालिन्थ्यो, पिङ खेल्नकै लागि घण्टौँसम्म पालो कुर्नुपथ्र्यो, को माथिसम्म मच्चिन सक्छ भनेर प्रतिस्पर्धा नै हुन्थ्यो, पछिल्लो समय पिङको चलन कम हुन्दै गएको छ’’– उहाँले भन्नुभयो । मनोरञ्जनका लागि इन्टरनेट प्रविधिमा आधारित मोवाईल, टेलिभिजन, युटुब, सामाजिक सञ्जाल लगायतमा नयाँ पुस्ता भुल्ने भएकाले पुराना र मौलिक मनोरञ्जनका पिङ, रोटेपिङ, चमच्चाहरु हराउने जोखिम बढ्न थालेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l