मुस्ताङमा थाक च्याम्पियनसिपको रौनक

  • ६ आश्विन २०७९, बिहीबार
  • 675 पटक पढिएको

सुन्दरकुमार थकाली,
मुस्ताङ ६ असोज ।
मुस्ताङको लामो इतिहास बोकेको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक च्याम्पियनसिप रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। झन्डै ५० को दशकअघि सुरु भएको प्रतियोगिता यो वर्ष पनि जिल्लाको थासाङ गाउँपालिका(५ ताक्लुङमा सुरु भएको हो। हरेक वर्ष जिल्लाका अन्तर क्लवबीच आलोपालो सञ्चालन हुने च्याम्पियन सिप सहआयोजकको जिम्मा अन्नपूर्ण युवाक्लव ताक्लुङले पाएको छ। जिल्लाको खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धनमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघ अभिभावकीय संस्था हो।

२०६० अघि मुस्ताङमा सडक तथा सञ्चार क्षेत्रको पहुँच स्थापित नहुँदा मुस्ताङका अंग्रज खेलप्रेमीहरूको पहलमा गौरवमय थाक खेलकुद च्याम्पियन सिप प्रतियोगिता सुरुवात गरिएको थियो। पहिले मुस्ताङका सबै गाउँहरूमा आन्तरिक रूपमा खेलकुद प्रतियोगिता हुने गर्थ्यो। यसरी जिल्लामा छरिएर रहेको खेलकुदलाई एउटै सुत्रमा बाँधेर संघले थाक भलिबल च्याम्पियन सिपको परिकल्पना गरेको थियो।

मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्र घाँसासम्मका आठवटा विभिन्न युवाक्लवलाई समेट्दै प्रतियोगिता हुँदै आइरहेको छ। बिहीबार यसको ५०औं स्वर्ण जयन्ती भव्यताका साथ मनाइएको छ। च्याम्पिनसीपको पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले दिपप्रज्वलन गरी उद्घाटन गरे। पूर्व मन्त्री थकालीले राजनैतिक पृष्ठभूमि फरक भएपनि जिल्लाका राजनीतिकर्मीले एउटै मञ्चमा उभ्याउन सक्नु यसको मुख्य विशेषता रहेको बताए।

प्रतियोगिताले के कति उपलब्धि हासिल गर्‍यो भन्नुभन्दा पनि यसकै माध्यमबाट धेरै खेलस्रष्टाहरूको पहिचान स्थापित भएको बताए। उनले आसन्न निर्वाचन सम्मुखमा पनि राजनीतिक प्रतिस्पर्धा र पूर्वाग्रह पन्छ्याएर भ्रातृत्व सम्बन्ध कायम राख्नु थाक च्याम्पिन सीपको योगदान रहेको बताए। संविधान सभा सदस्य श्रीमाया थकालीले च्याम्पिन सीपलाई खेलकुदको रूपमा मात्र परिभाषित गर्न नहुने उल्लेख गरिन्।

उनले खेलकुदकै माध्यमबाट सामाजिक र राजनैतिक क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्ने पुलको काम यसले गरेको बताइन्। निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले खेलकुद क्षेत्रको विकासले जिल्लाको खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने बताए। मुस्ताङमा खेलकुद क्षेत्रको प्रचुर सम्भावना रहेको उल्लेख गर्दे यसका लागि आफूले सांसद भएर रहँदा विभिन्न पहल गरेको बताए। संघका अध्यक्ष चन्द्रमोहन गौचनले यसप्रकारको प्रतियोगिताका माध्यमबाट संघले निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।

नेपालमा खेलकुद इतिहास पछ्याउँदा नेपाल भलिबल संघको स्थापना २०३३ सालमा स्थापना भएको र त्यस अगावै २०२७ सालमा मुस्ताङमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघ स्थापना भई भलिबल खेलसहित अन्य इभेन्टहरू आयोजना हुँदै आइरहेको अध्यक्ष गौचनले बताए। कार्यक्रममा लोघेकर दामोदरकुण्डा गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र प्रजिअ नेत्रप्रसाद शर्माले थाक प्रतियोगिता सफलताको शुभकामना दिएका थिए। प्रतियोगिता कोरोनाका कारण लगातार दुई संस्करण रोकिएको थियो। कोरोना न्युनीकरण हुँदै गएपछि संघले दुई वर्षपछि च्याम्पियन सिप आयोजना गरेको हो।

विगतदेखि निरन्तर प्रतियोगितालाई अगुवा गर्दै आएका पूर्व अध्यक्षहरू पूर्व वाणिज्य मन्त्री थकाली, निवर्तमान संघीय सासद तुलाचन, पूर्व जिविस सभापति विष्णुराज हिराचन, छत्रबहादुर थकाली लगायतका पूर्व अध्यक्षहरूलाई संघले दोसल्ला ओढाएर विशेष सम्मान गरेको छ। लोघेकर दामोदरकुण्डा गापालाई पनि विशेष सम्मान गरिएको छ। थाक भलिबललाई आर्थिक सहयोग गर्ने संघसंस्थालाई सम्मान गरिएको थियो। स्वर्ण जयन्तीका अवसरमा प्रकाशित स्मारिकाको पूर्व वाणिज्य मन्त्री थकाली, निवर्तमान सांसद तुलाचन र संघका अध्यक्ष चन्द्रमोहन गौचनले संयुक्त रूपमा विमोचन गरे।

हालसम्म थाक सातसय क्षेत्रलाई समेटिएको यसप्रकारको प्रतियोगिता मुस्ताङका पाँचवटै पालिकालाई समेटेर अघि बढाउने प्रयास गरिएपनि सफल हुन सकेन। मुस्ताङको जोमसोम, स्याङ, मार्फा, टुकुचे, कोवाङ, लेते, घाँसा र ताक्लुङका विभिन्न युवाक्लवले थाक च्याम्पियन सिपमा भाग लिने गरेका छन्। मोफसलमा आयोजना हुने कतिपय प्रतियोगिता दुईरचार संस्करणमा हराएर जाने गरेको तथ्य रहेको छ। प्रतियोगिता चार दिन सञ्चालन हुने छ। च्याम्पियन सिपअन्तर्गत महिला तथा पुरुष भलिबल, मिस मुस्ताङ, गायन प्रतियोगिता, आर्चरी प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ। प्रतियोगिताका लागि मुस्ताङमा खेलप्रेमी तथा स्थानीय दर्शकहरू अहिले मुस्ताङको ताक्लुङमा एकत्रित भएका छन्। मुस्ताङकै अन्न भण्डारको रूपले परिचित ताक्लुङ अहिले खेलकुदमय भइसकेको छ।