मुस्ताङमा स्याउको उत्पादन बढ्यो, स्याउ टिप्न बगैँचामा व्यापारीको चहलपहल

  • ४ आश्विन २०७९, मंगलवार
  • कमल खत्री
  • 787 पटक पढिएको

म्याग्दी ४ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । बगैंचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरुले स्याउ टिप्न थालेका हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैंचामा यतिबेला स्याउ व्यापारीहरुको चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस बर्ष स्याउ टिप्ने समय तोकिएको थियो । भदौ २५ गतेदेखि कृषकहरुलाई स्याउ टिप्न दिने निर्णय भएसंगै बगैचाहरुमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस बर्ष मुस्ताङमा स्याउ उत्पादन बढेको छ । बिगतका बर्षहरुमा बोटबाट स्याउ नपाक्दै बजारमा लैजाँदा उपभोक्ताले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको गुनासो गरेपछि यस बर्षदेखि भने बोटमा पाकेपछि मात्रै बजारमा स्याउ निर्यात गर्न थालिएको छ । अनुकुल मौसमका कारण गत बर्षको तुलनामा स्याउको उत्पादन १५ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको कार्यालय प्रमुख बस्ताकोटीले बताउनुभयो । यहाँ उत्पादन भएको स्याउ ९० प्रतिशत विक्रि हुने गरेको छ । गत बर्ष ५ हजार ५ सय ६४ मेट्रिक टन स्याउ विक्रिबाट मुस्ताङमा रु ५१ करोड बढी रकम भित्रिएको थियो । मुस्ताङमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको मध्ये ५८० हेक्टरमा गरिएको स्याउका बोटहरुले उत्पादन हुने गरेको छ । जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको हो । जिल्लाको थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक ५ वटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको छ ।
व्यावसायिकरणका लागि सहयोग
स्याउको राजधानीको रुपमा चिनिने मुस्ताङमा स्याउ खेतीलाई थप व्यवसायिक र विस्तार गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ । पुरानो बगैचा व्यवस्थापनका लागि प्रांगारिक मल, विषादी र यन्त्र उपकरण खदिरका लागि कार्यालयले नगद अनुदान दिँदै आएको छ । कार्यालयले स्याउ खेतिको विस्तार र व्यवसायिकरणका लागि बल्क विस्तार कार्यक्रम समेत सञ्चालन गरेको छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले समेत प्राविधिक परामर्श सेवा संगै गुणस्तर कायम गरेर बजारीकरण गर्न सहयोग गर्न थालेपछि स्याउ खेतीतर्फ कृषकहरु उत्साहित बनेका छन् । जोमसोममा बषौदेखि स्याउ खेती गर्दै आएका कर्मा गुरुङले हरेक बर्ष खेतीलाई विस्तार गरेको बताउनुभयो । करिब ३ सय रोपनी जग्गामा स्याउ खेती गरेका गुरुङले आफ्नो बगैँचामा उत्पादन भएका स्याउलाई काठमाण्डौ पु¥याएर विक्रि गर्ने तयारी गरेको बताए । ‘‘ यहाँ बाहिरका व्यापारीहरु पनि आउने गर्छन, यस बर्ष म आफैलेपनि स्याउलाई काठमाण्डौको मण्डीमा पु¥याएर विक्रि गर्ने योजनामा छु, बाहिरका व्यापारीहरुले पनि यहाँका बगैँचा नै खरिद गरेर स्याउ टिप्न थालेका छन्’’–उहाँले भन्नुभयो ।
उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती
मुस्ताङमा स्थानीय परम्परागत रैथाने स्याउसंगै उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तारले तिब्रता पाएको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि विस्तार भएको यस प्रजातिको स्याउको गुणस्तर र उत्पादन बढी हुने भएकाले स्थानीयबासी यसतर्फ आकर्षित भएका छन् । उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती अन्तरगत गाला, फुजी, रिङरुट, गोल्डेन डेलिसियस र जोनाप्रिन्स प्रजातिका स्याउ खेती विस्तारले पछिल्लो समय तिब्रता पाएको छ । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती बढी विस्तार भएको छ । स्याउ बिषेश कार्यक्रम अन्तरगत गत बर्ष मात्रै कृषि ज्ञान केन्द्रले रु २ करोड ४० लाख बजेट उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तारमा कृषकहरुलाई अनुदान दिन खर्च भएको जनाएको छ । कृषि विकास निर्देशनालयले समेत विरुवा खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराएको थियो ।
मुस्ताङी स्याउको माग अत्यधिक
नगदे बालीको रुपमा रहेको मुस्ताङको स्याउ यहाँका किसानको मुख्य आम्दानीको स्रोत हो भने समुद्री सतहदेखि २ हजार ५ सय मिटर माथिको उचाइमा उत्पादन हुने मुस्ताङको स्याउ हिउँले सिञ्चित हुने हुँदा स्वादिलो र पोषिलो हुने भएकाले बजारमा माग अत्यधिक हुने गर्छ । व्यापारीले किसानको स्याउ बगैंचामा प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा खरिद गरी बेनी, बागलुङ, पोखरा,काठमाडौं लगायतका बजारमा विक्रि गर्दै आएका छन् । बजारमा मुस्ताङी स्याउको मूल्य प्रतिकिलो रु २ सय देखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l