ठेकेदारले काम नगरेपछि खिवाङ सिँचाइ आयोजना अलपत्र

  • ३० भाद्र २०७९, बिहीबार
  • 473 पटक पढिएको

बेनी ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ को खिवाङ सिँचाइ आयोजना अलपत्र परेको छ। गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको आयोजनाको निर्माण व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको थियो। सम्झौताको म्याद सकिने अवधीसम्म कार्यान्वयन नभएपछि ठेक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन्।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पत्राचार र फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि ठेक्का तोडिएको बताए। ु२०७९ असार ७ गतेसम्मको म्याद भएको आयोजना निर्माण नै सुरु नगरेका निर्माण कम्पनीको जमानत फिर्ता गर्न बैंकलाई पत्र पठाएका छौं,ु उनले भने ुसार्वजनिक खरिद ऐनमा उल्लेखित व्यवस्था र कार्यपालिकाको जेठ ३० गतेको बैठकको निर्णयअनुसार निर्धारित समयमा काम गर्न नसकेकाले ठेक्का तोडिएको हो।ु

२०७८ फागुन ८ गते दाङको घोराही उपमहानगरपालिका(१६ को सुकृत निर्माण सेवाले कर र पिएस सहित ३४ लाख ४६ हजार ७४६ रुपैयाँमा सो सिँचाइ आयोजनाको ठेक्का सम्झौता गरेको थियो। सो योजनाका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा शसर्त शीर्षकमा पचास लाख रुपैयाँ बिनियोजन गरेको थियो।

प्रतिस्पर्धामार्फत ठेक्का पाएको सो कम्पनीले हालसम्म कुनै पनि काम नगरेको गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले बताए। सुकृतको जमानत बसेको हिमालयन बैंक लिमिटेडलाई चार लाख ९३ हजार रुपैयाँ जमानत गाउँपालिकाको खातामा जम्मा गर्न २०७९ असार १ गते पत्राचार गरिएको थियो। २०७८ फागुन ८ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई गाउँपालिकाले २०७८ चैत २८, २०७९ बैशाख १४, जेठ ४, १२ र २३ गते पत्रमार्फत ताकेता गरेको थियो।

पाइपलाइन, इन्टेक लगायतका संरचना बनाएर खिवाङको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले बजेट बिनियोजन भएको योजना कामनै सुरु नभई फ्रिज हुँदा कृषकहरू निराश बनेका वडाध्यक्ष रामबहादुर खड्काले बताए। दुई सय घरधुरीको पाँच सय रोपनीभन्दा बढी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको थियो। निर्माण व्यवसायीको लापरवाहीले बजेट बिनियोजन भएको योजना कार्यान्वयन नहुने र कृषकहरूले सिँचाइ अभावको समस्या भोग्नुपर्ने दुखद अवस्था आएको वडाध्यक्ष खड्काले बताए।

खिवाङ आलु र तरकारी खेतीको पकेट क्षेत्र हो। मकै, कोदो खेती हुने खिवाङको मुनि रहेको घारको फाँटमा धानबाली खेती हुन्छ। सिँचाइ सुविधा नहुँदा त्यहाँका कृषकहरूलाई खेतीबाली लगाउन समस्या भएको छ।