कृषि र भेटेरीनरीको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक

  • २३ भाद्र २०७९, बिहीबार
  • धिरन खत्री
  • 443 पटक पढिएको

म्याग्दी, २३ भदौ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् ।


कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा ४ करोड उन्नाईस लाख छ्यालिस हजार रुपैयाँ बराबरको कार्यक्रमहरु रहेका छन् । विनियोजित रकममध्ये ४ करोड ४ लाख ८६ हजार रुपैयाँ पुँजीगत खर्च रहेको छ भने चालुगत तर्फ १४ लाख ६० हजार रुपैयाँ करोड २१ लाख ४४ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कृषि प्रवद्र्धन, भौतिक संरचना निर्माण, विशेष बाली प्रवद्र्धन, कृषि प्रयोगशाला, साना सिचाई कार्यक्रम, रैथाने बालि संरक्षण कार्यक्रम, तालिम तथा परामर्श लगायतका कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।


त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ बराबरका कार्यक्रम रहेको जनाएको छ । विनियोजित रकममध्ये एक करोड २२ लाख ९० रुपैयाँ पुँजीगत खर्च रहेको छ भने ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ । चालु आर्थिक वर्षका लागि पशु पूर्ण खोप कार्यक्रम, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु प्रजनन तथा नश्ल सुधार, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम रहेको केन्द्र प्रमुख जीवन प्रसाद आचार्यले बताउनुभयो ।


कार्यक्रममा गत आर्थिक वर्षको कार्यक्रम समीक्षासँगै चालु आर्थिक वर्षका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत कृषकले राख्नुभएको थियोे । कार्यक्रममा कृषकले बास्तविक कृषकको पक्ष कार्यक्रम संचालन ल्याउन, भकारो सुधारलाई प्राथमिकता दिन, बास्तविक कृषकको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्न, कृषकको फर्म, खेतबारी पुगेर कृषि र कृषकका समस्या बुझ्न आग्रह गरेका थिए । सहभागीबाट प्राप्त सुझाव प्राथमिकताका साथ कार्यान्वयन गर्न पहल गर्ने कार्यालय प्रमुखहरुले प्रतिवद्धता जनाउनुभएको थियो ।

सार्वजनिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघ र प्रदेशको नीतिनियमले साना किसानहरुलाई समेट्न नसकेको बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी र कृषकहरु मिलेर कृषि र भेटेरिनरीका बार्षिक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले राज्यका नीति नियम तथा कार्यक्रम कृषकको पक्षमा नभएको बताउदै भुगोल र कृषकको चाहना अनुसार जिल्लास्थित पालिका मिलेर कृषि र पशुपालन क्षेत्रका नीति नियम बनाउनुपर्ने बताउनुभयो । ‘कृषि उपजलाई कोल्डस्टोरमा राख्ने भनिएपनि विद्युतको समस्या रहेको छ । म्याग्दीको भूगोल र कृषकको चाहनाअनुसार नीति तथा कार्यक्रम र बजेट छैन।’– गर्वुजाले भन्नुभयो । ‘जनप्रतिनिधि र कर्मचारी सुध्रिए कृषकको चाहना अनुसार नीति नियम र कार्यक्रम बनाउन सकिन्छ ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कृषी र भेटेरिनरीले साना किसाना समेट्ने किसिमले नीति तथा कार्यक्रम बनाउनमा पहल गर्न आग्रह गर्नुभयो । कृषकका चाहनाअनुसार २०७९÷०८० का स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न कृषि र भेटेरिनरीका कर्मचारीलाई निर्देशन गर्नुभएको छ ।
कृषि ज्ञान केन्द्रको कार्यालयमा भएको बार्षिक कार्यक्रम सार्वजनिकरण कार्यक्रममा पालिकाका जनप्रतिनिधि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, कृषि तथा भेटेरिनरीका प्राविधिक, पत्रकार, कृषक लगायतको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l