दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)

  • २१ चैत्र २०७८, सोमबार
  • 1949 पटक पढिएको

बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ ।

 

सञ्चारकर्मी पदम विश्वकर्माले तयार पारेको भिडियो रिपोर्ट

बिगत १२ बर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाँको कान्छो बुबाको घरमा आश्रय लिएर बसेका छन् । विक दम्पतीको अनमेल विवाह भएको थियो । न्युन दृष्टिविहिन रहनुभएकी लालमायाँको ३९ बर्ष जेठा बसवीरसंग विवाह भएको थियो । अहिले लालमायाँ ३५ र बसवीर ७४ बर्ष पार गर्नुभएको छ ।
बिक दम्पतीका ४ सन्तान छन् । गरिबी, अभाबको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घर समेत जिर्ण अवस्थामा पुगेको छ । माईतिमा आश्रय लिएको घर बाहेक खेतीकिसानी गर्ने कुनै जग्गाजमिन समेत छैन । मजदुरी गरि परिवारको जिविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर बृद्ध हुँदै गएको र उहाँको गत बर्ष एउटा आँखाको जोती गुमेपछि परिवार नै साहाराविहिन बन्न पुगेका हुन् ।
‘‘जेनतेन परिवार पालेको थिएँ, अघिल्लो बर्ष काम गर्ने क्रममा आँखामा ढुंगा प¥र्यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो’’–उहाँले भन्नुभयो । उहाँकी श्रीमती पनि न्यून दृष्टिविहिन हुनुहुन्छ ।
घरमुली दम्पतीले नै काम गर्न नसक्ने र दुबैको कुनैपनि आम्दानीको स्रोत नभएपछि उनीहरुको दैनिक घरखर्च देखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभाबले सताउन थालेको छ । आफुहरुले घरायसी सामान्य काम बाहेक केहि गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाईलेखाई गराउन समस्या भएको लालमायाँले बताउनुभयो । बिक दम्पतीका ३ छोरा र १ छोरीमध्ये एक जनाले जनाले स्कुल जान नै छाडेका छन् । जेठो १५ बर्षका छोरा सुविन्द्रलाई काठमाडौँको एक संस्थाले निःशुल्क रुपमा पढाईदिएको छ । स्थानयि जनज्योति आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ बर्षका माईलो छोरा राजेन्दले आर्थिक अभाबकै कारण स्कुल जान छोडेका छन ।
घरको आर्थिक अबस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छोडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाँले दुखेसो पोख्नुभयो । लालमायाकी १० बर्षिय छोरी शुशिलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाई पनि बिचैमा रोकिने त होइन भन्ने चिन्ता छ । बिक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर २ बर्षका छन । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिवि, अशिक्षा र अभाबको चपेटामा परेका छन् ।
‘छोराछोरी साना छन, श्रीमान ७४ बर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खाने देखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाईका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो’’–लालमायाँले भन्नुभयो । अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा विरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलीरहन्छ ।