म्याग्दीको बरंजामा मगर खाम वक्ताको अवशेष

  • ६ चैत्र २०७८, आईतवार
  • 417 पटक पढिएको

याम पुन 

म्याग्दी ६ चैत ।  म्याग्दी र पर्वत जिल्लामा मगर भाषा किन बोल्दैनन ? कसरी लोप भयो ? भन्ने जिज्ञासा राख्नुभयो भने प्रायले “बाइसे, चौबिसे राज्यका शासकहरूले मगर भाषा बोल्न दिएनन् । मगरभाषा बोले बापत जिभ्रो काटिदिने, चार पैसा दण्द गरिदिनाले भाषा लोप भयो” भन्ने बनिबनाउ उत्तर पाउनुहुन्छ । अर्थात शासकको जानिबुझी दमनले लोप भयो । बौद्धिक र अभियान्ताहरूले सार्वजनिक कथ्यकै आधारमा यस्तै लेखिदिए, पैरवी गरिदिए । यी कथ्यहरूका तथ्यगत प्रमाण भेट्टिएका छैनन् । यद्यपी कथ्यपनि तथ्य मानिन्छ । पृथ्वीनारायण शाहको उपदेश कथ्यनै हो । पछि लिपिवद्ध गरेर यसलाई तथ्य इतिहास बनाइयो भन्ने इतिहासकारहरूको जिकिर छ । लिखित परम्परा नभएका आदिवासीहरूको इतिहासको श्रोत मुख्यतः कथ्य र मिथक नै हुन् ।


हुनपनि बागलुङको निसीगाउँभन्दा पुर्वदेखि मगर खाम टुटेको छ । बाग्लुङ, पर्वत र म्याग्दी मध्यकालमा पर्वत राज्यका बम मल्लराजाहरूको अधिनस्थ थियो । चौबिसे मध्य पर्वत राज्य शक्तिशाली र वैभवशाली थियो । मल्ल भन्दा पहिले थापा(क्षेत्री)हरू शासक थिए । स्थान विशेषमा मगर शासक थिए । राज्यशक्ति अभ्यासकर्ताहरूले मगर भाषा बोल्न प्रतिबन्ध नगरेहोलान भन्न सकिदैन । किनभने म्याग्दी जिल्लाका अधिकाँश स्थाननामहरू मगर भाषामा छन् । मगर भाषा लोपबारे स्थापित कथ्यहरू तथ्य हुन् वा होइनन् भन्ने बहस्को विषय होला । किनकी भाषा मर्नु विभिन्न कारणहरू छन् । शासकले मात्रै मार्दैन । यद्यपी नेपालको सन्दर्भमा भाषा लोप हुनको मुलकारण शासक र शासक जातिको भाषा र नीति हो भन्दा अन्यथा हुँदैन ।

नेपालका मगरजातिको तीनवटा भाषा अस्तित्वमा छन् । बाह्रमगराँत भनिने पाल्पा, स्याङजा र तनहुँमा बोलिने भाषालाई मगर ढुँट भनिन्छ । अठार मगराँत भनिने रोल्पा, रुकुम र प्यूठानमा मगर खाम÷पाँङ र डोल्पाका बोल्ने मगर काइके । भाषाशस्त्रीहरूले मगर ढुँट र खाम/पाँङमा धेरै समानता छ, भन्छन् । आदिम बसाँईसराई प्रवाह र सँस्कृतिक अभ्यासको आधारमा बाग्लुङ, म्याग्दी र पर्वतमा बोल्ने मुलतः मगर खाम/पाँङ हुन् । खामलाई “पाङ” पनि लेखिन्छ । तर यहाँ सहजताको लागि मगर खाम मात्रै प्रयोग गरिएको छ ।

म भाषाशास्त्रको विद्यार्थी होइन । भाषा लोपको शिकार भएको एक पात्र हुँ । मेरो भाषा लोप किन भयो होला भन्ने सामान्य जिज्ञासा सबैमा हुनेरहेछ । दुईबर्ष अगाडि बरंजाका समाजसेवि मित्र यामबहादुर रोकासंग प्रसंगबस भाषाको बारेमा कुराकानी भयो । खासगरि म्याग्दी जिल्लामा बोल्ने भाषा मगर खाम हो । प्रौढ शिक्षाको लागि “नयाँ गोरेटो” जस्तै श्रोत पुस्तिका तयारपारी अध्ययनको लागि पहल गरे कसो होला भन्ने छलफल गर्न खोजेको थिए । उहाँले “हाम्रो बरंजामा मगर खाम वक्ताहरू छन् । उनीहरू ८० वर्षभन्दा माथिका छन्” भनी सुनाउनु भयो ।
यो सूचना सुनेर म झँस्के । किनभने म्याग्दी जिल्लामा मगर भाषाको स्थाननाम बाहेक जनजिभ्रोमा कतै छैन भन्ने बुझाइ गहिरोगरि घुसेको थियो । तत्पश्चात प्रश्नहरू उब्जिए । म्याग्दी र पर्वत जिल्लाभर मगर खाम कतै बोल्दैनन् बरंजामा पछिसम्म कसरी बच्यो ? अहिले सम्म किन बाहिर आएन ? ०४६ सालपछि भाषा, धर्म र संस्कृति बारे नेपालभर व्यापक बहस, छलफल, कार्यक्रम सतहमै हुन्छ तर बरंजामा बृद्धहरूले बचाइराखेको भाषामा कसैको ध्यान किन गएन ? त्यो खासमा कुन भाषा हो ? मगर खाम वा ढुँट ? वा छन्त्याल ? यदी शासकहरूले दवाएर भाषा बोल्न नदिएको हो भने त्यहाँ कसरी बचाए ? के ति वक्ताहरू धेरैपछि रुकुम वा रोल्पाबाट बरंजामा आएका हुन् ? के बिबाहगरि धेरैपछि आएका चेलीले भाषा लिएका थिए ? के कारण हो जसले भाषा अवशेषको रुपमा रहयो ? यस्ता प्रश्नहरू दिमागमा तेर्सिए ।

आलेखमा यी माथिका प्रश्नहरू मध्य दुईवटाको उत्तर खोतलिएको छ जुन महत्वपूर्ण छ । १ं) के कारण थियो जसले अवशेषको रुपमा मगर खाम वक्ता बचाएर राख्न बाध्य पारयो ? २) के वक्ताहरू धेरैपछि बरंजामा आएका हुन जसको कारण भाषा अवशेषको रुपमा बच्यो ? खासमा मगर खामको वक्ता रोल्पा र रुकुम जिल्लामा उल्लेख्यनै छन् । यसकारण यो मृत वा लोपोन्मुख भाषा होइन । चासो म्याग्दी र यसको छिमेकी जिल्लामा किन लोप भयो भन्ने हो । किनभने पहिचानको गुदी आधारस्तम्भ मध्य भाषापनि एक हो ।

अवशेषको रुपमा कसरी रह्यो ?
मगर खाम अवशेषको रुपमा कसरी बच्यो ? नरबहादुर रोका (७९) ले मगर खाम बोल्छन् भन्ने पुर्व छलफल स्थानीय शिक्षक जगबहादुर रोका, यामबहादुर रोका र मेरो बीचमा भयो । भेटन गइयो । “तपाईलाई खाम भाषा बोल्न आउछ रे भन्ने सुनेका थियौँ र भेट्न आएको” भन्नेबाट कुराकानी शुरु गर्नुभयो । उनले भने “आउदैन पुजागर्दा मात्रै बोल्नुपर्छ । पुजा सामग्रिहरू तयार पार्दा र पुजागर्ने स्थानमा मगर खाममा बोल्नुपर्छ” भन्नुभयो । बोलेन भने के हुन्छ ? उत्तर थियो “पुजा राम्रो हुँदैन । देउटा खुसी हुँदैनन् । मगर खाममा पुजागर्ने पुर्खादेखिको चलन हो । बाउ, बाजेले सबै मगर खाम बोलेर पुजा गर्दथ्ये । त्यसैबाट मैले सिकेको । आजभोलि सबै बिर्सिसके” । उनी पुजारी रहेछन् । उनका पुस्ता नै पुजारी रहेछन् । हुनपनि उनलाई पुजागर्दा आवश्यक सामग्रिको नाममात्रै सम्झन सक्छन् । कुन कुन शब्द आउछ भन्दा उनले सम्झिदै भने, “अरमा/रमा=झाँक्री, सलमी=वर्शा (झाँक्रीले प्रयोग गर्ने), रयाङगो=ढयाङग्रो, सिधम=मान्द्रो, तिसमी=पुजारी, लुङ=ढुङ्गा, सिं=दाउरा, आलम=धजा, मस्या=धुप, आरुवा=बञ्चरो, सेउलुङ=सेउला, मी=आगो, रासो=लेउ, साफा=फेदा, यु=यताआउ, पानी=दी, भात्=बस्काङ, बाटो=लाम, भेदा=लु, गाई=ङयाट, भैसी=मैँस, बिरालो=सिला, मान्छे=आजा, आइमाइ=मित्जा, पैसा=टाटन, माले=छैन, खामेजारो=कहाँजाने”…. इत्यादी ।

अर्का व्यक्ति बलबहादुर रोका (७८) को बयान अनुसार, “बराजु पनि बोल्थे रे । बाजे, बाबापनि मगर खाम बोल्थ्ये । म पनि १५/१६ बर्षको उमेरमा राम्ररी बोल्थे । त्यसपछि गोर्खा भर्ती भएँ । पल्टनमा हुँदा अरुभाषा बोल्नुपर्ने भएकाले बिर्सदै गएँ । नेपाल आप्mनो नातिनीलाई आफुले जानेको शब्दहरू टिप्न लगाए । त्यसलाई फोटोकपी गरेर देश विदेशमा बाँडे” । त्यो फोटोकपी उनीसंग थिएन । गाउँकै एक युवासंग रहेछ । त्यसमा ६० भन्दा धेरै शब्दहरू टिपाएका रहेछन् । त्यसमध्य केही शब्दहरू यी हुन्ः धान=छो, चामल=छुरु, भात=बसकाङ, खानुस=ज्यानी, कोदो=रोङका, पीठो=बाती, कुकुर=चीउ, पानी=दी, आगो=मी, आगो दिनुुस=मी रासो, बिरालो=सील, दाउरा=सिङ, बाटो=लाम, ढुङ्गा=लुङ, झोल=मदी, मीठो=जपना, नमीठो=माजपना.. इत्यादी । उनले वाक्यहरुपनि सम्झन्छन् । आफैले बोलेको भाषा लोप भएको चिन्ता बरंजाका बुढापाकहरूमा रहेछ । त्यसकारण आफुले जानेका शब्दहरू टिपाएर भएपनि बाँडे ।

खरप्रसाद फगामी ९२ बर्षका भए । आप्नो बाजेको पालामा बरंजामा आएका हुन रे । उनले बालसखा उमेरमा मगर खाम सिकेका रहेछन् । उनी १५/१६ वर्षको हुँदा बरंजामा धेरैले मगर खाम बोल्थे रे । उनको बाबा आमाले बोल्ने गर्दैनथ्ये तर उनले साथीहरूबाट सिकेका थिए । आप्mना पुर्खा नबोले पनि उनले सिके । यसको अर्थ बरंजामा ६०/७० वर्ष पहिले मगर खाम बोल्ने वातावरण थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

भाषाशास्त्रीहरूले एक भाषामा विभिन्न भाषिकाहरू हुन्छ भन्छन् । एकै भाषापनि स्थान अनुसारका हुन्छन् । यसलाई क्षेत्रीय भेद् भन्दारहेछन् । भाषिक जानकारहरू मगर खाममा पनि चार भेद् छ भन्छन्, जस्तै पर्वत्य, गमाले, सेसी र निसी । भोटबर्मेली भाषाबीचमा शब्दहरू एकअर्कोसंग मिल्न जान्छन् भन्ने तर्क भाषाशास्त्रीहरूको छ । बरंजामा बोलिएको भाषालाई मगर खाम हो भन्नेमा शंका भएन । मगर खामका वक्ताहरू र ढुँटका वक्ताहरूसंग छलफल गर्दा शब्दहरू मिल्न गएको देखिन्छ । केही शब्दहरू दुवै संग नमिलेका छन् । भाषा परिवर्तन भइराख्ने हुनाले अन्यत्रको मगर खामसंग धेरै टाढिएको पनि हुनसक्छ । बरंजामा मगर खामनै भनेर चिनिन्छ । यो भाषाशास्त्रीहरूको चिन्तनको विषय भयो ।

बरंजामा धुले मेला र आगदेउ पुजा महत्वपूर्ण र फरक संस्कृति अभ्यास छ । यी पुजा म्याग्दीका अन्य गाउँ÷ठाउँमा गरेको थाहा छैन । आगदेउ पुजागर्दा मगर खाम बोल्नुपर्ने रहेछ । अमर रोका (२०७६) अनुसार आगदेउ पुजाको अन्तिम दिन, “……कोटघरमा आइपुगेपछि झाक्रीँका सम्पूर्ण सामान राखेर त्यसदिन थर्पुको मुख्य अस्तलमा त्रो गाउने चलन छ । त्रो सबै मगर भाषामा गरिन्छ” (उही पुस्तक पृ.२६) । पुजा संस्कृतिले भाषा अवशेष भएपनि बचाएको रहेछ ।

शिलाथुरलाई सुँगुरको बलिदिँएर पुजागर्दा रहेछन् । सायद म्याग्दी जिल्लामा सुँगुरले पुजा गरेको यहीमात्रै होला । जसरी पण्डितहरूले पुजाआजाको लागि संस्कृत भाषाका शास्त्र पाठ गरेर काम चलाउछन् अथवा पुजा पाठको लागि संस्कृतभाषा अनिवार्य छ, त्यसैगरी बरंजामा पुजा गर्नको लागि मगर खाम अनिवार्य रहेछ । संस्कृत भाषा लिखित छ तर मगर खाम मौखिकरुपमा । मुख्यतः पुजाको संस्कृतिले मगर खाम अवशेषको रुपमा बचेको रहेछ जुन म्याग्दी जिल्लामा अन्य ठाउँमा छँदै छैन ।
वक्ताहरू बरंजामा धेरै पछि आएका थिए ?
बरंजामा बसोबासको इतिहासमा फर्कौ । “बरंजा” शब्द मगर खाम भाषाको हो भन्ने तर्क अमर रोका मगर लिखित र सम्पादित बरंजा र चौवन्न कुरीयको ऐतिहासिक चिनारी नामक पुस्तकमा उल्लेख छ । यो पुस्तक प्रकाशन मिति छैन तर वि.स. २०७६ सालमा प्रकाशन भएको शुभकामना मन्तव्यबाट थाहा लाग्छ । उक्त पुस्तकमा उल्लेख भए अनुसार घुमन्ते अवस्थामा मगरहरूले धनुष ठोक्रो (दाप) मा अन्नबाली लिएर आएका थिए रे । हालको बरंजामा आएर खेतिपाति गर्न थाले रे । विभिन्न बाली मध्य बदाम पनि थियो । अन्य बाली भन्दा बदाम राम्रो उब्जनी भयो र मुख्य खाना भयो । बदामलाई “बरम” भनिन्थ्यो । बदाम खानेलाई मगर खाममा “बरम्ज्या” भनिन्थ्यो रे । “बरम ज्याङला” भनेको बदाम खान्छु । बदाम खानेठाउँ “बरम्ज्या” भन्दा भन्दै बरंजा भएको हो ।

अर्को तर्क बझाङ्गे र राम्जाली रोकाहरूको संख्या धेरै छ । “बझाङ्गे”बाट अपभ्रंश भएर बरंजा भएको हो भन्नेपनि छन् । तर अन्न्य ठाउँका रोकाहरूले “बैजाली” रोका भन्दछन् । बैजालीबाट बझाङ्गे भएका पनि हुन सक्छन् । मगर खाम वक्ता बम कुमारी बुढाको भनाइ अनुसार “बराङ ज्याङ” भनेको भलायोको जंगल हो । पहिले बरंजा भलायोको जंगल थियो वा थिएन खोजको विषय हुन् ।

बरंजामा “नौँ थर चौवन्न कुरीयमा” प्रचलित छ । यसैसंग बरंजाको इतिहास र संस्कृति बलियोसंग गाँस्सिएको र गहिरो गरि जरा गाडेको छ । नौ थरमा पुन थोकी, मर्चथोके रोका, बझाङ्गे रोका, नाउँसा घर्ती, दर्लामी, सुतपराई, बुढाथोकी, फगामी र रामजाली रोका हुन् (अमर रोका मगर, २०७६, पृ.६) । एक समयमा यी नौ थरका ५४ वटा घरधुरी भए र यसैलाई “चौवन्न कुरिया” भन्न थालियो । अहिले ३९४ कुरीया पुगेको उल्लेख छ ।

माथिनै उल्लेख गरियो कि बरंजामा धुले मेला र आगदेउ पुजा एकदमै फरक र विशिष्ट प्रकृतिका छन् । पुजाको प्रक्रिया अध्ययन गर्दा आदिम कविलाई समाजको संस्कृति जस्तो लाग्छ । आगदेउ पुजा एक वर्ष विराएर तिहारको समयमा गरिने रहेछ । पुजामा नौ थर चौवन्न कुरीयाले पुरा तीनदिन खर्चिनुपर्ने रहेछ । नौ थर भित्रकाले मात्रै यो पुजागर्ने रहेछन् । यसको लागि प्रत्यक थरबाट एक एक जना झाँक्री जम्मा हुनुपर्ने रहेछ । नौ थरको बलियो घेराभित्र यो पुजा शुरुवात र समापन हुन्छ । “आगदेउ शुरु भएको प्रथम दिन निश्चित आगोदेउ क्षेत्रभित्र भएको चौवन्न कुरीयाका मगरहरू बाहेक अन्य अपाली, छपाली तथा बाहुन, क्षेत्री, दमाइ, कामीहरूलाई अन्यत्र ठाउँमा जानलाई आग्रह गरिन्छ । जसलाई “भाग्ने दिन पनि भनिन्छ” (अमर रोका २०७६, पृ.२३) । यसको अर्थ यो कोर मगरको मात्रै पुजा हो, आगदेउ ।

चाखलाग्दो के छ भने आगदेउ पुजामा झाँक्री वा जान्ने बुढापाकाहरूले नवै थरको ताढा सम्मको शाखा (वंश) का नाम लिनु पर्दोरहेछ । अमर रोकाको पुस्तकमा पुन थोक शाखाको ५ जनाको नाम छ । जस्तै, १) मनि पुन से २) बलिपुन से इत्यादी । त्यस्तै दरलामीको शाखा १) तारे सेर से २) पारे सेर से ३) धनपते सेर से गरि १० वटा शाखाको नाम उल्लेख छ । मर्चथोकेको १३ शाखा, सुतपरेको १४, बुढाथोकीको ११, बझाङ्गेको २९, नाउँसा घर्तिको ६, रामजालीको २१, फगामीको २ शाखाको नाम उल्लेख छ । नामको पछाडी पुनको बाहेक अरुको थर होइन “से” र “सेर से” लेखिएको छ । बमकुमारी बुढाको भनाइ अनुसार, “सेर” को अर्थ ठूला÷बडा र “से” को अर्थ भनाइ अनुसार वा जनजिभ्रो भन्ने हुन्छ । ठुला÷वडा भनाइ अनुसार फलाना हो भनेर नाम लिने परम्परा बसेको हुनुपर्छ । पुजारी, बुढापाका र झाँक्रीहरूले मौखिक रुपमा भन्दै आएको शाखा(वंश) कथ्यलाई पुस्तकमा लिपिवद्ध गरिएको रहेछ । यसले वंशाली लेख्नमा ठूलो सहयोग गर्ने देखिन्छ ।

यी शाखाका नामहरू एक पुस्ताको एकजनाको लेखिएको हो भने सबैभन्दा धेरै २९ पुस्ता हुन आउछ । अमर रोका (२०७६) ले सरदर धेरैमा १३ पुस्ता र कम ७ पुस्ता भएको अनुमान लगाएका छन् । सरदर आयु ४५ बर्षलाई मान्ने हो भनेपनि १३×४५=५८५ वर्ष हुन आउछ । अर्थात लगभग ६०० बर्ष पहिले बरंजामा बसोबास शुरुभएको मान्नुपर्ने हुन्छ । धुलेमेला सम्बन्धी अध्ययन गरिरहेकी लालकुमारी रोकाले लिएको तस्विरमा थर्पुकोटको स्थापना वि.स. १३१२ लेखिएको छ । मानौ बसोबास गर्दा वित्तिकै कोट स्थापना गरेको हो भने पनि आजभन्दा ७६६ वर्षदेखि बरंजामा प्रामाणिकरुमा बसोबास गरेको देखिन्छ । लिच्छविकालमानै बस्ति बसेको हुनुपर्छ ।

आगदेउ पुजागर्दा जिउँदो र मृत्यू भएका झाँक्रीहरूको नाम भन्नु पर्दोरहेछ । मृत २६ र जिउँदो १४ झाँक्रीको नाम उल्लेख छ । जस्तै, धौला आरमा सेअमरितु आरमा सेगोरे आरमा से । “आरमा/रमा” मगर खाम हो जसको खस नेपालीमा झाँक्री भनिन्छ । यसरी नाम लिनेलाई “दुर लिने” भन्दा रहेछन् । मगर खाम वक्ता बमकुमारी बुढा अनुसार “दुर भनेको मगर खाममा झाँक्रीले गाउँने भाका हो” । यस्तो दुर लिने बरंजा वरिपरि चारै दिशाभित्रका सबै स्थान, अन्नबाली, चराचुरुङ्गी, रुख विरुवा, जंगली जन्तु, किरा फटयाङ्ग्राहरूको नाम लिनुपर्ने रहेछ । यी नामहरू धेरै त मगर खामको हुनुपर्छ । खैर, यो भाषाशास्त्रिहरूले खुट्टयाउलान नै ।

तथ्यहरूले भन्छ बरंजामा मगर खाम बोल्ने वक्ताहरू धेरै पछि आएका होइनन् । बरंजामा आवाद शुरु गर्नेनै खाम भाषी मगरहरू थिए भन्न सकिने आधारहरू प्रसस्त छन् । नौ थर मध्य पछि आएका फगामी मगर देखिन्छन् जसको दुई शाखाको नाम उल्लेख छ । खरप्रसाद फगामी–९२ ले “हामी बाजेको पालामा यहाँ आएको हो” भन्नु भयो । बाजेको पालामा नौथर र चौवन्न कुरीयमा समावेश गरेको हुनुपर्छ । सबैभन्दा धेरैपुस्ता बझाङ्गे रोका र त्यसपछि रामजाली रोका देखिन्छन् । बरंजामा सबैभन्दा पहिला आएका यी दुइथरी रोका हुनकी भन्ने अनुमान लगाउन सकिन्छ । पछि अरु थरलाई पनि आगदेउ पुजामा समाहित गर्दै लगेकोे हुनुपर्छ । कसै कसैले पुनको शाखा पहिले आएको भन्नेपनि छ । फेरी उनीहरूको शाखाको नाम नगन्य मात्रा छ । पहिले आएको हो भने धेरै हुनुपर्ने हो । यो खोजको विषय हो ।
अन्तमा
धेरैलाई लाग्छ म्याग्दी र पर्वत जिल्लामा मध्यकालमै मगर भाषा लोप भइसकेको थियो । चन्द्रप्रकाश बानियाँले ऐतिहासिक पर्वत राज्य, (२०६२) नामक पुस्तकमा लेखे अनुसार पर्वत राज्यको स्थापना वि.स. १४९३ लाई मानेका छन् र मल्ल राजाहरूको शासन ३५० वर्ष चल्यो । मल्लहरूकै पालामा पर्वत राज्य अन्त्य भयो । यी मल्लहरू खसभाषि हुन् । एक समय बरंजापनि मल्लराजाहरूको अधिनस्थ थियो । यो अवधिमापनि बरंजामा भाषालोप भएको थिएन भन्ने प्रष्ट हुन्छ ।

बरंजा गाउँको सबैभन्दा माथि डाँडाँमा “चिनाकोट” भन्ने स्थान छ । गाउँको निकै भित्री भागमा “थर्पुकोट” छ । थर्पुकोटको वरीपरिनै बरंजाको आदिम बस्ति हो भन्ने भनाइ छ । यो कोट र आगदेउ पुजा अन्तरसम्बन्धित छन् । यो कोट मगरहरूलेनै स्थापना गरेको हुनुपर्छ । यी स्थानहरूको ऐतिहासिक, साँस्कृतिक र पुरात्वातिक अध्ययन गरे थप तथ्यहरू निस्केलान । थर्पुकोट नजिकै लामो शिलालेख पनि थियो तर त्यो धेरैपहिले मासिएर गयो भन्नेपनि छ । नरहरी नाथ पनि पुगेका थिए भन्ने भनाइ छ ।

म्याग्दीकै बरंजामा मगर खाम पछिसम्म थियो भन्ने जानकारी जिल्लामा धेरैलाई थाहानै भएन । बरंजाका स्थानीयले पनि प्रचार प्रसार गरेनन् । त्यहाँ गएर बुझदा “गाउँमा धेरैजना बोल्ने गथ्र्ये” भन्ने सुन्न पाइन्छ । आजभन्दा ३० वर्ष अगाडि भाषाको वक्ता बाक्लै भएको हुनुपर्छ । समय धेरै घर्किसक्यो । बरंजाका बुढापाकहरू केही शब्द र वाक्यहरूमात्रै सम्झन सक्छन् । अर्थात अवशेषको रुपमा मात्रै छ । पुजागर्दा बोल्ने केही शब्दहरूमात्रै पुजारीले सम्झन्छन् र प्रयोग गर्दछन् । नयाँ पुस्ताले पुजा गर्दा बोल्नुपर्ने आवश्यक शब्दहरू लिखत बनाएर त्यसैको पाठ गर्दै पुजा गरेपनि हुने, जसरी अरु धर्मावलम्बिले गर्दछन् । मौखिकै गर्नुपर्छ भन्नेपनि छैन ।

खरप्रसाद फगामी (९२), भन्छन्, “लेखेर के गर्छौ ? कोही बोल्दैनन ? बोल्ने जति बसै मरेर गए” । ब्यक्ति मर्नु एउटा सिंगो इतिहासनै मर्नु हो । नयाँ पुस्तालाई संस्कृति हस्तान्त्रण गर्ने मातृभाषापनि संगै मरेर गयो । ०४६ पछि प्रजातन्त्रको स्थापना संगै बरंजामा भाषा बचाउने अभियानमा लागेको भए सायद अहिले भन्दा धेरै वक्ताहरू हुने थिए की ! शासकहरूले भाषा खाइदिए भनिदिए, लेखिदिए र त्यसैको पछिलागेर वास्तानै गरेनाँै की ! हामीले तथ्यको आधारमा आन्दोलन र पैरवी गरेनौँ की ! गाउँ गाउँमा खोजि गर्न पुगेनाैँ । बचेकोलाई सार्वजनिक विषय बनाएर संरक्षण गर्न सकेनौँ । भाषिक पक्षघाटको शिकार बनेर बस्यौँ ।

भाषा, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने अधिकार स्थानीय तहलाई छ । इच्छाशक्ति भएमा गाउँपालिकाले भाषाशास्त्रीलाई बोलाएर बरंजामा गहिरो अध्ययन गराउन सक्छ । र, म्याग्दीमा अवशेषको रुपमा रहेको यो भाषालाई दस्तावेज गर्न सक्छ । जिल्लामा मगर खाम अवशेषै भएपनि बचाएर राखे बरंजाको गौरव पनि हुन्छ । सरोकारवालाको चासो र इच्छाशक्तिको खाँचो छ ।