दुर्घटनामा परेर खोलामा फसेका चालकको उद्धार

  • १६ मंसिर २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी १५ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानी स्थित घुमाउनेभिरमा दुर्घटनामा परेर म्याग्दी खोलामा फसेका एक जनाको उद्धार गरिएको छ । गयराती करिब साढे २ बजेको समयमा भैरहवा देखि सिमेन्ट बोकेर आएको ग २ ख ०८४० नम्बरको ट्रक बेनी–दरबाङ सडकखण्ड अन्तर्गत घुमाउनेभीरको साँघुरो सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटनामा परेको थियो ।
ट्रक संगै करिब ६० मिटर तल म्याग्दी नदीमा खसेर घाइते अवस्थामा फसेका पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखरा घर भएका चालक बर्ष ३४ का गोबिन्द बहादुर खाम्चालाई उद्धार गरि प्रदेश अस्पताल बेनीमा उपचारको लागि पु¥याईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।


घटना लगत्तै प्रहरी चौकी सिंगा तातोपानीबाट प्रहरी सहायक निरिक्षक दिवाकर सुवेदीको कमाण्डमा ट्राफिक सहित ३ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरिक्षक सागर तिमिल्सिनाको कमाण्डमा १० जानको टोली उद्दार सामाग्री सहित खटिएर खोलाबाट उद्धार गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका चालक खाम्चाको निधार र शरिरको बिभिन्न भागमा चोट लागेको र प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ । पहिरो र भिरको साँघुरो सडकको कारण घुमाउनेभिरमा पटक–पटक दुर्घटना हुने गरेको छ ।