दरबाङमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- १७ मंसिर २०८२, मंगलवार
- 1 पटक पढिएको
‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवारदेखि पालिकाको केन्द्र दरबाङमा छैंटौँ संस्करणको खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा खेलकुद सञ्चालन गरिएको छ ।
प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित विभिन्न १० वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, छात्रछात्राको भलिबल र कबड्डी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय दरबाङ प्रथम, भीम मावि देवीस्थान द्वितीय र केबि एकेडेमी दरबाङ तृतीय भई पुरस्कृत भएका छन् । मङ्गलवारै सम्पन्न १५ सय मिटरको छात्र दौडतर्फ जनप्रिय माविका निलबहादुर किसान प्रथम, गौवमबस्त मावि देवीस्थानका रुपेश सुनार द्वितीय र राष्ट्रिय मावि रुमका नगेन्द्र घर्ती तृतीय हुनुभएको थियो । त्यस्तै छात्रातर्फ किसानी मावि विमका हिमा जुग्जाली प्रथम, जनप्रिय माविका विविका भण्डारी द्वितीय र भीम माविका श्रीया पुन तृतीय घोषित हुनुभएकोमा पुरस्कृत गरिएको छ ।
त्यस्तै हाईजम्पअन्तर्गत छात्रतर्फ केबि एकेडेमीका दिपेश रोका र छात्रातर्फ किसानी माविका बन्दना घर्ती उत्कृष्ट हुनुभएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगिताको उद्घाटनपछि सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकास गराउने बताउनुभयो ।
उहाँले खेलकुदजन्य प्रतियोगिताहरुले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्नुका साथै विद्यालयहरुको बीचमा समेत मैत्रीपूर्ण सम्बन्ध स्थापना हुने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक र व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनहरु ल्याउने बताउँदै विद्यार्थी खेलाडीहरुले निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले विद्यार्थीहरुका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने प्लेटफर्मको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा मालिका ६ नम्बर वडाका वडा अध्यक्ष पथबहादुर रोका र किसानी मावि विमका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको विशेष उपस्थिति रहेको प्रतियोगिताको उद्घाटनसत्र शिक्षा शाखा प्रमुख अशोक रिजालको स्वागत र जनप्रिय माविका प्रअ दिवाकर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।