तोरीपानीमा ‘सयपत्री होमस्टे’ सुभारम्भ (फोटो फिचर)

  • १७ मंसिर २०८२, मंगलवार
  • कमल खत्री
  • 25 पटक पढिएको

म्याग्दी १६ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा पर्यटकहरुको सहज र आरामदायी बसोबासका लागि घरबास (होमस्टे) सञ्चालन भएको छ । धौलागिरी आइसफल पदमार्गको प्रस्थानविन्दुको रुपमा रहेको तोरीपानीको नजिक रहेका धार्मिक पर्यटकीय स्थलहरु पछै, ढोलठान, केभहिल, जगन्नाथ, टोड्के लगायतका पर्यटकीय क्षेत्रहरुको भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर तोरीपानीका पाँच घरमा घरबास सञ्चालन गरिएको हो ।
सामुदायिक रुपमा सञ्चालनमा आएको घरबासको मंगलवार एक समारोहका बिच उद्घाटन गरिएको छ । घरबासको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले बजार बाहिर शान्त र मनोरम वातावरणमा रमाउन चाहने पर्यटकहरुका लागि तोरीपानीमा सञ्चालनमा आएको घरबास उपयोगी बन्ने बताउनुभयो । ‘‘ यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ, प्राङ्गारिक कृषि उपजको स्वादले पर्यटकहरुलाई खुसी बनाउनेछ, यसलाई थप व्यवस्थित गर्नेकार्यमा नगरपालिकाले समेत सहकार्य गर्नेछौँ’’–मेयर केसीले भन्नुभयो ।
टिमुर गाउँको रुपमा परिचति तोरीपानीमा हुँदै आएको व्यावसायिक तरकारी खेतीलाई समेत प्रवद्र्धन गर्दै स्थानीयबासीको आयआर्जन बृद्धि गराउन घरबास कार्यक्रमले सहयोग पुग्ने स्थानीयबासीको अपेक्षा छ । घरबास सञ्चालनका लागि इको हिमाल काठमाण्डौले सहयोग गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तोरीपानीमा ग्रामीण कृषि पर्यटन प्रवद्र्धनका लागि घरवास समूह गठन गरी आबश्यक तालिम र सुरुवाती लगानीमा सहयोग गरिएको इको हिमालका निर्देशक नारायण ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थाले सयपत्री सामुदायिक घरवास समूहलाई रु दुई लाख र पाँच घरलाई रु ७० हजारका दरले आर्थिक सहयोग समेत उपलब्ध गराएको छ । 
पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको र पर्यटकहरुको आगमनलाई ध्यानमा राखेर थप घरहरुमा समेत घरवास विस्तार गरिने समूहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो । घरबासमा आउने पर्यटकहरुलाई स्थानीय अर्गानिक उत्पादनबाट बनेका खानाका परिकारहरुको स्वाद चखाउने गरिएको छ । स्थानीय आमा समूहहरुले पर्यटकहरुलाई मौलिक कला र संस्कृति झल्कने नाच समेत देखाउने प्रवन्ध मिलाईएको छ । तोरीपानीका जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, युव गिरी र भगवान क्षेष्ठको घरमा पहिलो चरणमा घरवास सुरु गरिएको छ । तोरीपानीबाट धौलागिरि ,अन्नपूर्ण, मााछापुच्छे«, निलगिरी, मानापाथी हिमालहरुको दृष्य अवलोकन गर्न सकिन्छ ।
घरवास सुभारम्भ कार्यक्रममा पुग्नुभएका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सडक विस्तारको कारण परम्परागत पदमार्गहरु विस्थापित बन्ने अवस्थामा पुगेकाले नयाँ र मौलिक पर्यटकीय गन्तव्यहरुको उजागरमा घरवासले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, इको हिमाल अष्ट्रियाका अध्यक्ष कुर्ट लुगर, वडा अध्यक्ष चक्र केसी, डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटा,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले सामुदायिक होमस्टेको दिगोपना र यसले समुदायमा पार्ने आर्थिक सामाजिक सकरात्मक प्रभाबको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पुगेका अतिथि र पर्यटकहरुलाई स्थानीयबासीले फुल माला लगाएर पञ्चेबाजा र भजनकृतन सहित स्वागत गरेका थिए । समूहका अध्यक्ष खत्रीको अध्यक्षता, इब गिरीको स्वागत र उषा पाईजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।    

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l