रघुगंगाको छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई
- २२ मंसिर २०८२, आईतवार
- 1 पटक पढिएको
म्याग्दी, २१ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम मावि भगवतीले हात पारेको छ । रघुगंगा गाउँपालिका– ३ पिप्ले स्थित रघुगंगा माविको खेलमैदानमा आइतवार सम्पन्न प्रतियोगितामा विभिन्न ११ विद्यालयलाई पदकमा पछि पार्दै साविक बिजेता समेत रहेको मुक्तिधाम मावि बिजयी भएको हो ।
भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ ३०÷३० स्वर्ण, रजत र कास्य पदकका लागि भएको खेल प्रतिस्पर्धामा मुक्तिधाम माविले ११ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गरी प्रथम हुन सफल भएको गाउँपालिकाका प्रशासकीय अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा अमर मावि पाखापानीले ९ स्वर्ण, ८ रजत र २ कास्य पदक प्राप्त गरी द्धितीय र रघुगंगा मावि पिप्लेले ४ स्वर्ण, ११ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितामा विजेता विद्यालयलाई नगद रु ६० हजारको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । त्यसैगरी दोस्रो र तेस्रो हुन सफल विद्यालयलाई क्रमशः नगद ४० हजार र ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल लगायतले प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यालय तथा पदक बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
