राहुघाट जलविद्यूतको ३८ प्रतिशत काम सकियो, सुरुङ निर्माणको प्रगति निराशाजनक
- १७ पुष २०७८, शनिबार
- कमल खत्री
- 849 पटक पढिएको
कमल खत्री
बेनी १७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अहिलेसम्म जम्मा उक्त प्रगति भएको हो ।
नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग बि. स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको आयोजनाले जनाएको छ । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसैसातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरु गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रवन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, बिद्युतगृहमा अर्थिङ गरेर विद्युतगृह क्षेत्रमा भेलले आफ्नो काम सुरु गरेको छ ।
२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भएपनि सम्झौता भएको सम्झौता भएको दुई बर्षपछि आत्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालन भएको हो । विद्युतगृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तिब्रता दिने कम्पनी प्रवन्ध सञ्चालक केसीले बताउनुभयो । ३६ महिनाको अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब एक बर्ष मात्रै बाँकी छ ।
सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक बिपद र कोरोना (भाइरस) को महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ । ‘‘निर्धारित समयमा सकिने अवस्था रहेन, अब छिटो सम्पन्न गराउनतर्फ हामीले हरदम कोसिस गरिरहेका छौँ, ठेकेदार कम्पनिलाई ताकेता र सहजीकरण गर्नमा धेरै समय खर्चिएका छौँ’–आयोजना प्रमुख राजबहादुर बिष्टले भन्नुभयो । कमजोर भुबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको उहाँको भनाई छ ।
कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार २ सय मिटर मात्रै सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युतगृह र ड्यामसाईट निर्माणतर्फ अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग २०७४ मंसीरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण गरि २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्ल स्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रबिधिको मोटर चल्ने पुल निर्माण गरेको छ भने राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनमा जोड्न लुप इन लुप आउटको चार वटा टावर समेत तयार पारिसकेको छ ।
अर्धजलाशययुक्त प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई यस अघि वि.स. २०७० मा नै निर्माण सम्पन्न गर्ने गरि भारतीय ठेकेदार कम्पनी आईभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको हो ।
न आयोजना बन्यो, नत हाम्रा समस्या समाधान भए ः स्थानीयबासी
राहुघाट जलविद्युत आयोजनाकोको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रमा रहेका अधिकाँश घरहरु चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरु चर्किने क्रम बढेपनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयबासीको गुनासो छ । घरहरु चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुननिर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले स्थानीयबासी समस्यामा परेको स्थानीयबासी नारायण सुवेदीले बताउनुभयो । उहाँका अनुसार, अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न रु १ लाख ७५ हजार मात्रै रकम दिने र उक्त रकम अपुग हुने भएकाले स्थानीयबासीले चर्किएकै घरमा जोखिम मोलेर बस्नुपरेको छ । पिप्लेमा मात्रै १५ बढी घरहरु चर्किएका छन् ।
स्थानीयबासीले चर्किएका घरधनीलाई राहत, सडक र पदमार्ग व्यवस्थापनमा आयोजना र निर्माण कम्पनीले वेवास्ता गर्ने गरेको गुनासो समेत गरेका छन् । आयोजनाको आवास र रहेको उदा आमा समूहको भवनदेखि वडा कार्यालय जोड्ने पुरानो पैदलमार्ग आयोजनाको आवास पूर्वाधार बनाउँदा विग्रीएको भएपनि पटक पटक लिखित र मौखिक आग्रह गर्दा समेत अहिलेसम्म पुननिर्माण नगरेको स्थानीय युवा अम्बिक शर्माले गुनासो गर्नुभयो । ‘‘ यस बाटोको सिँढी उक्काएर आयोजनाले त्यसै अल्पत्र पारेको छ, कम्तीमा सहज रुपमा आवत जावत गर्न सक्ने पैदलमार्ग बनाउन हामीले पटक पटक आग्रह गरेका छौँ तर सुनुवाई भएको छैन’’–उहाँले भन्नुभयो । सुरुङ खन्दा दैनिक रुपमा हुने विष्फोटको कम्पनले पिप्ले क्षेत्रका किसानले पालन गरेका गाइभैसीँको गर्भ खेर जाने गरेकाले कृषकहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयबासीको माग रहेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l