म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’

  • १६ मंसिर २०७८, बिहीबार
  • 624 पटक पढिएको

कमल खत्री
बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा भएको बोलेरो जिप दुर्घटनामा पनि साँघुरो र घुम्ती नपुगेको सडक नै दुर्घटनाको प्रमुख कारण मानिएको छ ।

बेनीबाट बेग जाँदै गरेको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्ने घुम्तीबाट २ सय मिटर भन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, जिपका चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालमा उपचार गरि अहिले पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

उकालोमा जाँदै गरेको बोलेरो जिप घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भीक अनुसंधानमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो । ‘‘उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ, अधिकाँश दुर्घटनामा जिर्ण सडकमा चालकले सावधानि अपनाउन नसकेको देखिन्छ’’–उहाँले भन्नुभयो । गत साउन १५ गते धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ८ जना घाईते भएका थिए । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको थियो । अक्करे पहाडमा बनाइएको सडकको ग्रेड मिलेको छैन भने सडक साँघुरो रहेको छ ।

यस अघि गत असार १६ गते बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको मिठौला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । उक्त दुर्घटनामा समेत जिर्ण सडक नै दुर्घटनाको कारण मानिएको थियो । जिल्लामा विस्तार भएका ग्रामिण सडक अधिकाँश मापदण्ड विपरित विस्तार भएका छन् । प्राविधिक सर्वे विना डोचर चालकको भरमा मापदण्ड पुरा नगरिकन विस्तार भएका सडक जिर्ण, साँघुरा र ग्रेड नमिलेका छन् ।

जिल्लामा हरेक बर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानविय क्षति बढ्दो छ । यस आर्थिक बर्षको मङ्सिर १५ गतेसम्ममा जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भैसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक बर्ष २०७५÷०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरि आ.ब. २०७६÷०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने ८ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाई गरिएपनि सडकको जिर्ण अवस्था र चालकको लापरबाहिले दुर्घटनालाई कम गर्न चुनौति थपिएको उहाँको भनाई छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडाहरुमध्ये जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अन्य सबै वडामा कच्ची सडकको सञ्जालले जोडिएको छ । जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भैसकेको छ भने जिल्लाभरमा जम्मा ९ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ ।

कच्ची रुपमा विस्तार भएका अधिकाँश सडकको अवस्था जिर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् । पहाड, अक्करे भिर हुँदे विस्तार भएका अधिकाँश सडक एकतर्फि मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकाँश ग्रामिण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन् । दोहोरो वारपार गर्न समेत मुस्किल पर्ने सडकको स्तरोन्नतीमा प्रभाबकारी योजनाहरु सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहको बजेट सडकलाई नै पहिलो प्राथमिकता राखेर खर्च हुने भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।

सडक मर्मत र स्तरोन्नतीको काममा जनप्रतिनिधि स्वयमका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको रघुगंगा गाउँपालिका– ३ का युवा विकास भण्डारीले गुनासो गर्नुभयो ।
‘‘ सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा जोडर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ’’–उहाँले भन्नुभयो ।

स्थानीय संगै प्रदेश र संघ सरकार मार्फत समेत सडक स्तरोन्नतीमा जिल्लामा बर्षेनी करोडै रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नालि, पर्खाल लगायतका पूर्वाधार निर्माण गरि स्तरोन्नती गर्नुपर्ने भएपनि अधिकाँश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेको कारण सडकहरुको अवस्थामा सुधार आउन नसकेको गुनासा बढीरहेको छ ।