गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह
- ३ असार २०७४, शनिबार
- 2457 पटक पढिएको
कल्पना पौडेल – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ ।
गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।
वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोेगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ ।
पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ ।
शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यस्ता खानेकुरा खाएर प्रभावित भएका बिरामी हरेक दिन अस्पताल आउने गरेको बताए ।
टेकु अस्पतालमा झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नभएका बिरामी सङ्ख्याको ह्वात्तै बढेको डा पुनले जानकारी दिए । झाडाबान्ताका कारण मानिसको ज्यान पनि जानसक्ने भएकाले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खान उनप् सल्लाह दिन्छन् ।
त्यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने उनी बताउँछन् ।
‘अहिले नै गर्मीमा देखिने झाडाबान्ताका बिरामी अस्पताल आउने सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ’, उनले भने ।
गत वर्ष यही समयमा फ्लुको सङ्क्रमण बढेको भन्दै उनले धुलोधुवाँ, भीडभाडबाट बच्न पनि आग्रह गनुर्भयो । कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ कृष्णप्रसाद पौडेलले गर्मी मौसममा झाडाबान्ता लाग्ने कारण दूषित खानपान तथा पानी भएको बताउँछन् ।
उनले कान्ति बाल अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको जानकारी दिए । बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।
डा पुनका अनुसार खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हुँदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।
यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
यसै पनि काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिमयुक्त ठाउँ हो । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।
डा पुन मानिसलाई बजारको वा घरमै पनि स्वस्थ र सफा पानी र खानेकुरा खानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि बेवास्ता गर्ने गरेको दुःखेसो गर्नुहुन्छ । उनीका अनुसार त्यसबाहेक अस्पतालमा पहाडी सर्पले डसेका बिरामी पनि दिनहुँ अस्पताल आइरहेका छन् ।
पडाडी सर्पले टोक्दा विष नलाग्ने भए पनि कहिलेकाहीँ रक्तश्राव भएर नरोकिने समस्या देखिने र त्यस्ता व्यक्तिले दैनिक वा एक दिन बिराएर रगत परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुरलगायतका स्थानबाट सर्पको डसेका बिरामी आइरहेका टेकु अस्पतालले जनाएको छ ।
www.ratopati