काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आजः सहमति कि निर्वाचन ?

  • १ मंसिर २०७८, बुधबार
  • 688 पटक पढिएको

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन तथा म्याग्दीको ७ औँ जिल्ला अधिवेशनले काँग्रेस नेता कार्यकर्तामा चुनाबी सरगर्मी बढेको छ । बुधवार हुने जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ भने राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु समेत चुन्ने छ । असोज पहिलो सातादेखि सुरु भएको वडा र पालिका अधिवेशन हुँदै क्षेत्रिय अधिवेशन सम्पन्न गरिसक्दा नेपाली काँग्रेस म्याग्दीमा स्पष्ट दुई धारमा विभाजन भएको छ ।


केन्द्रमा संस्थापन पक्ष शेरवहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षनिकटका नेताहरु जिल्लामा स्पष्ट दुई भागमा विभक्त भएका छन् । वर्तमान जिल्ला सभापति खमवीर गर्वुजा र निवर्तमान जिल्ला सभापति समेत रहनुभएका संविधानसभा सदस्य रेशमबहादुर बानियाँ आगामी नेतृत्वको प्रमुख आकाक्षीको रुपमा देखिनुभएको छ । गर्वुजा देउवा र बानियाँ पौडेल निकट मानिनुहुन्छ । वडा र पालिका अधिवेशनमा नै दुई पक्षबिच नेतृत्व र क्षेत्रिय प्रतिनिधि छनौटमा हानथाप भएकोे थियो ।
केहि वडा सहित दुई पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो ।

बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा गर्वुजा र बानियाँ पक्षका कार्यकर्ताहरुले चुनाबी प्रतिस्पर्धा गरेका थिए । पालिका अधिवेशनमा शक्ति प्रदर्शनकै रुपमा उत्रिएका दुबै समूह कात्तिक २७ गतेको क्षेत्रीय अधिवेशनमा आउँदा ‘कुल डाउन’ भएर सहमतिबाट नेतृत्व र प्रदेश प्रतिनिधि चयन गर्न सफल भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा सहमतिको अनेक प्रयासहरु भैरहेका छन् । सभापति पदमा गर्वुजा र बानियाँ दुबैको दावि यथावत रहेको छ । दुबै समूहले भित्रि रुपमा प्यानल उम्मेदवार तयार गरिसकेको भएपनि प्यानलगत रुपमा सामूहिक उम्मेदवारी घोषणा भने भएको छैन् ।

जिल्ला सचिब पदमा गर्वुजा पक्षबाट भरतबहादुर रकालले औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ भने अन्य आकाँक्षीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यो समाचार तयार गर्दासम्म जिल्ला उपसभापति पदमा क्याप्टेन मिनबहादुर कार्की, माधवप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, कमल छन्त्याल र कर्णबहादुर भण्डारी (के.बि)ले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई जना चयन हुने उक्त पदमा भण्डारी बानियाँ पक्षधर हुनुहुन्छ भने अन्य चारै जना गर्वुजा पक्षधर हुुनुहुन्छ । आकाँक्षी धेरै भएपछि गर्वुजा पक्षलाई उम्मेदवारको टुंगो लगाउन समेत सकस पर्ने देखिएको छ ।

त्यसैगरि सचिब पदमा गर्वुजा पक्षबाट रकाल संगै हिराबहादुर पुनले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ । बानियाँ पक्षबाट सचिबमा दुर्गाराम सुवेदी र अजयमिलन श्रेष्ठले उम्मेदवारी रहँदा उपसभापति पदमा क्याप्टेन डमबहादुर पुनको चर्चा चलेको छ । त्यसैगरि सहसचिब पदमा श्रीराम पौड्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला अधिवेशनले सभापति एक सहित उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुई जना निर्वाचन गर्नेछ । कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गरिनेछ ।

म्याग्दीबाट खुला र समावेशी गरि २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको लागि करिब ५० जना आकाक्षी देखिएका छन् । पालिका अधिवेशनमा दुई पालिकामा भएको निर्वाचनमा आफ्नो समूहबाट नेतृत्वमा बिजयी हात पारेपछि गर्वुजापक्ष उत्साहित बनेको छ । न्यूनतम पदबाहेक लेनदेन गर्ने पक्षमा नरहेको गर्वुजा पक्ष बानियाँपक्षलाई पेलेरै जाने मनसायमा पुगेको देखिन्छ भने बानियाँ पक्षले आसन्न स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनहरुलाई समेत मध्यनजर गर्दै सहमतिमै नेतृत्व चयनको लागि अधिकतम प्रयास गर्ने र सहमति नजुटे निर्वाचनमै होमिने कसरतमा रहेको स्रोतको दावि छ ।

केही समय यता चरम गुटबन्दीमा रुमलिएको काँग्रेस म्याग्दीका लागि जिल्ला अधिवेशन पेचिलो बनेको छ । पार्टीमा योगदान र कामको लगानी भन्दा समूहको पक्षपोषण गरेकाहरुलाई पद बाँडफाँड गर्ने प्रवृत्ति बढेको काँग्रेसजनहरुनै खुला रुपमा गुनासा गर्न थालेका छन् । जिल्ला अधिवेशनको मुखमा आफ्नो पद सुरक्षित गर्न समूह अदलबदल गर्नेहरु पनि ह्वात्तै बढेको छन् । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा पदका लागि आन्तरिक पार्टीको निर्वाचन भएपनि गुट बदलेको लिखित प्रतिबद्धतामा सहिछाप गर्नुपरेको रोचक तथ्यहरु बाहिर आएका छन् । जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा भएका दुई प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएपनि आज हुने जिल्ला अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन हुन्छ या निर्वाचनमा पुग्छ अझै निक्योल भैसकेको छैन् ।

अधिवेशन अघि सहमतिको स्पष्ट खाका नकोरिएपनि क्षेत्रीय अधिवेशनमा जस्तै जिल्ला अधिवेशनमा समेत गर्बुजा र बानियाँ पक्षले एकआपसमा लेनदेन गरेर सर्वसम्मत रुपमा नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्न सक्ने सम्भावना भने नटरेको काँग्रेसजनहरुको बुझाई छ । आगामी आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यको समेत प्रमुख दाबेदारको रुपमा देखिएका गर्वुजाको लागि सहमतीको अधिवेशन सम्पन्न गराउनुपर्ने मनोवैज्ञानिक दबाब छ । प्रदेश निर्वाचन क्षेत्रमा कायम भएको सहमतीको नेतृत्व चयनको वातावरण जिल्ला अधिवेशनमा भत्किए आगामी राजनीतिक यात्रा कठिन हुने भय गर्वुजामा छ भने पार्टीको जिल्ला समितिको नेतृत्व गरि संविधान सभा सदस्य समेत रहिसकेकाले निर्वाचनमा हार व्यहोर्नु परे राजनीतिक जिवनमा नोक्सानी व्यहोर्नुपर्ने भय बानियाँमा छ । त्यसैले मनोनयन दर्ता सम्म दुबै समूहबिच प्यानल उम्मेदवारी नै दर्ता हुने देखिएपनि दुबै समूह अन्तत् सहमतीकै पक्षमा उभिने आँकलन गरिएको छ ।