बाढीले बगाएको कुइनेमंगलेको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण

  • ५ चैत्र २०७७, बिहीबार
  • कमल खत्री
  • 1646 पटक पढिएको

म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीमा आएको बाढीले बगाएको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण गरिएको छ । कुईनेमंगलेको दुलेखर्कमा रहेको यस विद्यालयको भवन २०७५ साल भदौ २७ गते आएको बाढीले बगाएर क्षति पु¥याएपछि सोही ठाउँ नजीकको घ्यासीखर्कमा सारेर रु २ करोड ३० लाख बढी लागतमा पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण (शिक्षा) इकाई र रघुगंगा गाउँपालिकाले विनियोजन गरेको बजेट तथा समुदायबाट संकलन भएको सहयोग रकमबाट सुविधासम्पन्न विद्यालय भवन पुननिर्माण भएको छ ।

पुननिर्माण प्राधिकरण मार्फत दुई बर्षमा ८ कोठे दुई तले विद्यालय भवन निर्माण भएको छ । दुई बर्ष क्रमिक रुपमा रु ७०/७० लाख बजेटबाट चार÷चार कोठे भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिनुभयो । पुननिर्माण मार्फत नै विद्यालयमा रु १५ लाख बजेटबाट सौचालय समेत निर्माण भएको छ । उहाँका अनुसार, विद्यालय पुननिर्माणमा गाउँपालिका मार्फत ५२ लाख बजेट परिचालन भएको छ ।

गाउँपालिकाबाट जग्गा व्यवस्थापन संगै चार कोठे भवन निर्माण, सौचालय र कार्यालय भवन समेत निर्माण भएको छ । दुई बर्षकै अवधिमा १२ कोठे कक्षाकोठा भवन सहित कार्यालय भवन र शौचालय सहितको पूर्वाधार निर्माण गरि विद्यालय पुननिर्माण भएको प्रअ छन्त्यालको भनाई छ । ‘‘बाढीले विद्यालयको अधिकाँश संरचना बगाएपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरेका थियौँ, अहिले पक्की भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ, विद्यालयको घेरावार, खानेपानी र खेलमैदानको व्यवस्थापनतर्फ पहल थालेका छौँ’’–प्रअ छन्त्यालले भन्नुभयो ।

विद्यालय बाढीले बगाएपछि स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीको अगुवाईमा सञ्चालन भएको सहयोग संकलन अभियान मार्फत संकलन भएको रकमबाट रु १२ लाख खर्चिएर जग्गा खरिद गरिको थियो । उक्त जग्गा व्यवस्थापन कार्यमा खर्च भएको करिब २० लाख रकममध्ये गाउँपालिकाले रु ६ लाख बजेट उपलब्ध गराएको र बाँकी रकम स्थानीयको चन्दा संकलन र श्रमदानबाट पूर्ति गरिएको वडा अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । विद्यालयमा थप पूर्वाधार निर्माणसंगै खानेपानीको व्यवस्थापन र घरावार लगायतको लागि पालिका मार्फत थप पहल गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले दुर्गम बस्तीमा सुविधासम्पन्न भवन निर्माण भएपछि बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा १३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । ४ जना दरबन्दी, २ राहत शिक्षक कार्यरत यस विद्यालयमा गाउँपालिकाले एक जना शिक्षक नियुक्त गरेको छ भने निजि स्रोतबाट ३ जना शिक्षकको तलबभत्ता जुटाउनुपर्ने बाध्यता रहेको छ ।  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l