धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)

  • २५ कार्तिक २०७७, मंगलवार
  • 2504 पटक पढिएको

म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य  हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।

यहाँ हालै बेगखोला युवा जागरण समुहका युवाहरुको टोलीले राष्ट्रिय झण्डा समेत राखेका छन् ।  यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमसृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । यस मौसममा सोबाङधुरीबाट हिमाल र बादलको लुकामारी निकै रोचक देखिन्छ । विहानको सूर्योदयको दृष्यले पर्यटकहरुलाई मोहनी लगाउने गर्छ । विहानको समयमा हिमाल र बादलको दृष्यले यहाँ पुग्नेहरुलाई लोभ्याउने गर्छ । नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको धौलागिरि आइसफल पदमार्ग पहिचान भएको एक दशक पुगीसक्दा समेत सञ्चालनमा आउन सकेको छैन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा रुईसे डाँडादेखि धवलागिरि आइसफल पदमार्गलाई छनौट गरेको थियो । रघुगंगा गाउँपालिका ३ पिप्ले, २ भगवती, १ बेग, ७ चिमखोला, ८ कुइनेमंगल, अन्नपूर्ण गाउँपालिका–१ दानाको हिमाली भेग र डाँडाकाँडा हुँदै मुस्ताङको लेते पुग्ने गरि यस पदमार्गको पहिचान भएको छ ।


‘टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भएको छ ।


धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेका छन् । यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको विकास गर्न सकेमा म्याग्दी र मुस्ताङको अर्थतन्त्रमा ठुलो फाइदा पुग्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ ।

तस्बिर सौजन्य  : Rahim Tuphan