झाँक्रीपानी पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै

  • १७ कार्तिक २०७७, सोमबार
  • धिरन खत्री
  • 3285 पटक पढिएको

म्याग्दी, १७ कात्तिक । आँखै अगाडी हिमाल ठोकिँदा मन फुरुङ्ग हुन्छ । डाँडााथिको अग्लो टावरबाट वरिपरि घेरिएको हिमालको दृष्यले जो कसैको मन लोभ्याउने गर्छ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा पुग्ने आन्तरिक पर्यटकहरुलाई यहाँको प्राकृतिक सुन्दरता र पर्यटन पूर्वाधारले आकर्षित गर्न थालेको छ ।


धौलागिरि, नीलगिरि, अन्नपुर्ण, माछापुच्छ«े, चुरेन, मानापाथी, गुर्जा, लगायतका दर्जनबढी हिमालका चुचुराहरुलाई एकै ठाउँबाट अवलोकन गर्न सकिने पर्यटकीय सम्भावनायुक्त झाँक्रीपानीमा पर्यटन पूर्वाधार थपिएसंगै पर्यटकहरुको आगमन बढ्न थालेको छ । गाउँपालिकाले प्रदेश र संघिय सरकारसंग साझेदारी गरि, होमस्टे, पदमार्ग, सडक स्तरोन्नती, सामुदायिक भवन संगै दुष्यावलोकनका लागि भ्यू–टावर समेत निर्माण गरेको छ । पर्यटकको सुविधाका लागि यहाँ रहेका २२ घरधुरीमा दैनिक ४० जना बास बस्न सक्ने क्षमताको घरवास (होमस्टे) समेत सञ्चालन गरिएको छ ।


समुद्री सतहदेखि २ हजार ५७० मिटर उचाइमा रहेको झाँक्रीपानीमा आकर्षक भ्यू–टावर निर्माण भएपछि आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको स्थानीय कोमल थापा मगरले बताउनुभयो । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका थापाका अनुसार, आन्तरिक पर्यटकहरु बढदो क्रममा छन् । ‘‘ अब यहाँ आएर बास बस्ने समस्या छैन, खानामा स्थानीय उत्पादनकै स्वाद दिलाउँछौँ, कोरोना कहर हटेपछि आन्तरिक संगै बाह्य पर्यटकहरु पनि भित्रने अपेक्षा गरेका छौँ’’– थापाले भन्नुभयो ।


भ्यू–टावर सहित घेराबार निर्माणमा ३६ लाख खर्च भएको मंगला गाउँपालिका प्राविधिक विपिन आचार्यले बताउनुभयो । भ्युटावर निर्माणमा गाउँपालिकाको २२ लाख र जनश्रमदान ५ लाख सहित २६ लाख र घेराबार निर्माणमा १० लाख खर्च भएको छ । तीन तले १४ मिटर अग्लो भ्युटावरमा दृष्यअवलोकनका लागि रेलिङ बनाइएको छ भने टावर परिसरमा प्रतीक्षालय, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण भएका छन् । आगन्तुक पाहुनालाई स्वागत तथा कला संस्कृती प्रस्तुती तथा सभा, समारोह र तालिम सञ्चालनका लागि भ्यू टावर नजीकै सभाहल सहितको सामुदायिक भवन समेत निर्माण गरिएको छ ।

झाँक्रीपानी र ऐतिहासीक चिनाकोट दरबार क्षेत्रलाई एकिकृत रुपमा पर्यटन विकास गर्ने उदेश्यले पदमार्ग निर्माण गर्न थालिएको छ । झाँक्रीपानीलाई लक्षित गरि गाउँपालिकाको केन्द्र बावियाचौर देखि नेटासम्म पदमार्ग निर्माण समेत गरिएको छ । त्यसलाई विस्तार गरि झाँक्रिपानी सम्म पु¥याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । ‘‘ गाउँपालिकामा झाँक्रिपानी, टोड्के लगायतका पर्यटकीय गन्तव्यहरु छन, यिनको पूर्वाधार निर्माण र समुदाय स्तरमा पर्यटकीय सचेतना अभिबृद्धिलाई हामीले प्राथमिकतामा राखेर काम गरेका छौँ’’–उपाध्यक्ष केसीले भन्नुभयो ।

प्रदेश र संघ सरकारसंग समन्वय गरेर गाउँपालिकाले पर्यटन पुर्वाधार विकासमा जोड दिएको छ । यस क्षेत्रमा भित्रने बजेट र जनश्रमदानबाट पर्यटन पूर्वाधार निर्माणले फड्को मारेको स्थानीय युवा दर्पण रोकाले जानकारी दिनुभयो । ‘‘समुदाय स्तरबाट झाँक्रीपानीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न धेरै पहल भए, महोत्सव लगाउनेदेखि प्रचार प्रसारमा जुटेका छौँ, संघियता कार्यान्वयनमा आएसंगै स्थानीय, प्रदेश र संघिय सकार मार्फत बजेट भित्रने क्रम बढेको छ, यसले यहाँको पर्यटन विकासमा हामी उत्साहित भएका छौँ’’–उहाँले भन्नुभयो ।

झाँक्रीपानीबाट देखिने दन्तेलहर जस्तै हिमालको मनमोहक दृष्यसंगै अग्ला डाँडाकाँडा, हरियाली जंगल, दर्जनौँ गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा प्रभावित बनेको बेनीबाट झाँक्रिपानी पुग्नुभएका कृष्ण जिसीले बताउनुभयो । ‘‘ २० बर्षअघि महेन्द्ररत्न मावि बंरजामा शिक्षण गरेको थिएँ, त्यतिबेला नै यहाँको प्राकृतिक सुन्दरताबारे जानकार थिएँ, तर त्यतिबेला केहि पूर्वाधार थिएन, अहिले पर्यटन पूर्वाधार निर्माणले फड्को मारेको रहेछ,’’–जिसीले भन्नुभयो । झाँक्रीपानीमा स्थानीय मगर, छन्त्याल लगायतका समुदायको मौलिक कला संस्कृति पर्यटकहरुको लागि थप आकर्षणको रुपमा रहेको छ । पर्यटकहरुले स्थानीय स्तरमा उत्पादीत बदाम, आलु, च्याउ लगायतका अर्गानिक उत्पादनलाई कोसेलीको रुपमा लैजाने गर्छन ।

प्राकृतिक दृष्य, गाउँले जीवनशैली, अगार्नीक खानासंगै होटल तथा लजको सुविधा पर्यटकको रोजाईमा देखिन्छ । विहानीमा देखिने मनमोहक सुर्योदय, सेताम्मे देखिने हिमालको लस्कर, ग्रामीण जिवनशैलि र एकान्त बस्ती भएकाले यस क्षेत्रलाई कृषि र ग्रामीण पर्यटनको रुपमा विकास गर्नुपर्ने झाँक्रिपानी पुग्नुभएका बेनीका ब्यवसायि राजेश शाक्यले बताउनुभयो । सदरमुकाम बेनी देखि बगरफाँट, बास्कुना, थामडाडा, बरंजा गाउँ गर्दै दुई घण्टाको यातायात सुविधाबाट झाँक्रीपानी पुग्न सकिन्छ । भने बावियाचौर र तातोपानीबाट समेत झाँक्रिपानी जान सकिन्छ । यस क्षेत्रको प्रचार प्रसार गाउँपालिका संगै म्याग्दीका उद्योगी व्यवसायि, लायन्स क्लबहरु समेत सक्रिय बनेका छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l