कोरोना महामारीमा थलिएको शिक्षा : विद्यालय जान आतुर विद्यार्थी (रिपोर्ट)

  • १५ आश्विन २०७७, बिहीबार
  • कमल खत्री
  • 2923 पटक पढिएको

कमल खत्री
म्याग्दी १५ असोज । बेनी नगरपालिका–९ तोरीपानीकी कक्षा १० मा अध्ययनरत प्रतिक्षा बानियाँ आफ्नो शैक्षिक भविश्यबारे अन्यौलमा हुनुहुन्छ । गलेश्वर माविको प्राविधिक धार तर्फ (सिभिल इन्जिनियरिङ) अध्ययनरत बानियाँ पाठ्यक्रमका आधारमा प्रयोगात्मक शिक्षण सिकाइ आबश्यक पर्ने भएपनि करिब ६ महिनादेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन नहुँदा अन्यौलता छाएको बताउनुहुन्छ ।

लकडाउनका बिच विद्यालयले टोलशिक्षा मार्फत शिक्षण सिकाइ सहजीकरणको प्रयासहरु नगरेको पनि होईन् । तर हरेक टोलमा सबै तहका विद्यार्थी हुने तर एउटै शिक्षकले सबै तहका विद्यार्थीहरुलाई पठनपाठन गराउनुपर्ने बाध्यताका कारण प्रभाबकारी बन्न सकेन् । असोज दोस्रो सातादेखि विद्यालयले विद्यार्थीसंख्याका आधारमा समूह विभाजन गरि समयतालिका बनाएर विद्यालयमै शिक्षण सिकाइ सहजीकरण सुरु गरेसंगै आफुहरुले राहत महसुस गरेको बानियाँले बताउनुभयो ।


‘‘यतिधेरै महिना विद्यालयहरु बन्द भए, हामीले जानेका र पढेका कुराहरुपनि बिर्सने अबस्थामा पुग्यौँ, अनलाइन कक्षाका लागि गाउँमा इन्टरनेट पनि छैन, विद्यालयमा नियमित पठनपाठन भैदिए सहज हुने थियो’’–बानियाँले भन्नुभयो । विद्यालयले समूह विभाजन गरि विद्यालयमा शिक्षण सहजीकरण सुरु गरेपछि विद्यार्थिहरुको मुहारमा खुसी छाएको छ । गलेश्वर माविसंगै जिल्लाका केहि विद्यालयहरुले विहानदेखि दिउँसो सम्म समयतालिका बनाएर समूह विभाजन गरि एउटा कक्षामा बढीमा १५ जनासम्म राखेर २ देखि ३ घण्टासम्म सिकाइ सहजीकरण गराउन थालेका छन् ।


ग्रामिण भेगका केहि विद्यालयहरुले विद्यालयमै शिक्षण सिकाइ सहजीकरण गर्न थालेसंगै बालबालिकाहरु छोटो समय भएपनि विद्यालयमा पुग्ने अवसर पाएका छन् । गलेश्वर माविको कक्षा १ मा अध्ययनरत दृष्टि रत्नले लामो समयपछि विद्यालय खुलेपछि खुसी भएर पढ्न लागेको बताउनुभयो । ‘कहिलेकाँही सरहरु घरमै पुगेर पढाउनुहुन्थ्यो, धेरै त खेलेरै बस्यौँ, अब स्कुल खुलेको छ, साथिहरुसंग संधै स्कुल आउँछु’’– रत्नले खुसी हुँदै भन्नुभयो । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसंगै बन्द भएका विद्यालहयरु अहिलेसम्म पनि नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

                                                    ज्ञानाेदय माविकाे टाेल शिक्षाा सहजिकरण
६ महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुमा ठुलो असर पु¥याएको छ । लामो दुरिका यातायात, बैँक तथा वित्तिय संस्था, सरकारी तथा गैर सरकारी कार्यालयहरु सञ्चालनमा आइसकेको भएपनि सरकारले विद्यालय सञ्चालनबारे व्यवहारिक र ठोस खाका ल्याउन नसक्दा लाखौँ बालबालिकाहरुको शैक्षिक भविश्य अन्यौल बनेको छ । गलेश्वर माविका प्रअ गणेशबहादुर बानियाँले सरकारी तवरबाट विद्यालयको शैक्षिक गतिविधिलाई सामान्य रुपमा सञ्चालन गर्नका लागि उचित निर्णय लिन ढिलाई भएको गुनासो गर्नुभयो ।


‘‘ यहाँ कोरोनाको संक्रमण पनि बढी छैन, सतर्कता अपनाएर स्वास्थ्य सुरक्षालाई अबलम्बन गरि नियमित पठनपाठन गराउन सकिन्छ, अभिभावकबाट पनि यस्तै दबाब आउन थालेको छ, तर सरकारी तवरबाट व्यवहारिक निर्णय नहुँदा हामीले पढनपाठनलाई नियमित गर्न सकेका छैनौँ’’–उहाँले भन्नुभयो । यस विद्यालयले प्राविधिक धारतर्फकालाई सातामा तीन दिन र साधारणतर्फका विद्यार्थीहरुलाई सातामा दुई दिन विद्यालयमै समुह विभाजन गरि समयतालिका अनुसार सिकाइ सहजीकरण गर्न सुरु गरेको छ ।


रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविकी छात्रा निसा रिजालको मनमा पनि विद्यालयमा नियमित जाने हुटहुटी छ । कक्षा १० मा अध्ययनरत रिजालले टोल टोलमा शिक्षकहरु आएर अध्यापन गराउने गरेपनि विद्यालयमै पुगेर नियमित कक्षामा अध्ययन गरेजस्तो सरल र सहज नभएको बताउनुहुन्छ । यस विद्यालयले गाउँपालिकाभरमै नियमित रुपमा टोल शिक्षा सञ्चालन गरि प्रथम परिक्षा समेत लिईसकेको छ । ‘‘टोल सिकाइ सहजीकरणकै आधारमा १० पूर्णाङ्कको परिक्षा पनि लिइसकेका छौँ, हामी लकडाउनमा पनि टोल टोलमा पुगेर सिकाइ सहजीकरण ग¥यौँ, विद्यालयको नियमित पठनपाठन जस्तो प्रभाबकारी हुन सकेन होला, तर बालबालिकाहरुमा कोरोना कहरको भय र त्रासबाट प्रभावित हुन नदिने र सिकाइ निरन्तरतामा टेवा पुगेको महसुस गरेका छौँ’’–विद्यालयका प्रअ परशुराम गौँडेलले भन्नुभयो ।

उहाँले टोल टोलमा पुगेर सिकाइ सहजीकरण भन्दा विद्यालयमा विहान देखि दिउँसोसम्म समुह तालिका बनाएर कक्षागत रुपमै निश्चित समयका लागि पठनपाठन गराउने योजना बनाएको र स्थानीय तहसंग समन्वय भैरहेको जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा टाढाको दुरीमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको जनकल्याण माविका प्रअ रुपेश सुवेदीले विद्यालय नियमित सञ्चालन नहुँदा बालबालिकामा कोरोनाको भय र त्रास बढ्ने गरेको बताउनुभयो । उहाँले विहानदेखि दिउँसोसम्म बालबालिकाहरुलाई समुहगत रुपमा विभाजन गरि स्वास्थ्य सुरक्षा र भौतिक दुरीलाई कायम गरि शिक्षण सिकाइ सहजीकरण गरिएको बताउँदै अन्य क्षेत्रलाई व्यवस्थित गरि विद्यालयलाई नियमित सूचारु गर्नतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने बताउनुुहुन्छ ।
                                                             सावधानी अपनाएर खोल्नुपर्छः सरोकारवाला
विद्यालय शिक्षकहरुलाई शिक्षा मन्त्रालयले विद्यालयमा पुग्न निर्देशन दिए बमोजिम अधिकाँश शिक्षकहरु आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् । तर सरकारले लकडाउन खोलेपनि विद्याललाई अझै नखुल्ने क्षेत्रमै राखेको छ । ६ महिनादेखि विद्यालयहरु बन्द रहेतापनि सरकारले प्रभावित र कम प्रभावित क्षेत्रलाई गोलमोटल नियम लागु गरेकोप्रति विरोधका स्वरहरु उठेका छन् । खासगरि म्याग्दी लगायतका कोरोनाबाट कम प्रभावित क्षेत्रमा बजार, यातायात, सबै क्षेत्र खोल्ने तर विद्यालय मात्रै बन्द गर्दा यसले राम्रो सन्देश र प्रभाब नदिने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

                                तस्बीर ः केपी सापकाेटा

म्याग्दीमा अहिलेसम्म समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन् । कोरोनाको जोखिम कम रहेको ग्रामिण क्षेत्रमा नियमित र बजार क्षेत्रमा समूह विभाजन गरि पठनपाठनलाई पुरानै लयमा फर्काउनुपर्ने नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । ‘‘ कोरोनालाई विद्यालयमा थुनेर राखेजस्तो नियम बनाइएको छ, अब व्यवहारिक रुपमा प्रभावित र कम प्रभावित क्षेत्रलाई अनुकुल हुने गरि निर्णय हुन जरुरी छ’’–सुवेदीले भन्नुभयो । टोल शिक्षा र अनलाइन कक्षाको प्रभाबकारीता न्युन रहेको बताउँदै उहाँले विद्यालयमा शिक्षक जाने गाउँ टोलमा बालबालिकाहरुको समयखेर जाने परिस्थिति आएको उल्लेख गर्दै सतर्कता अपाउने र स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विद्यालयहरुलाई सुचारु गराउनुपर्ने तर्क राख्नुभयो । जिल्लाका केहि स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी गरेपनि विद्यालयहरुमै क्वारेनटाइन सञ्चालन भएकाले समस्या उत्पन्न भएको छ ।
                                                                   अनलाइन कक्षाको पहुँच छैन
कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएपछि नै शहरी क्षेत्रमा बालबच्चा पढाएर बस्नेहरु गाउँ फर्किएका छन् । अध्ययनका लागि मात्रै बजारमा बस्दै आएका विद्यार्थीहरु अधिकाँश गाउँमै रहेकाले म्याग्दीमा अनलाइन कक्षाको लागि पहुँच नगन्य छ । सदरमुकाम बेनीमा रहेका केहि विद्यालयहरुले अनलाइन कक्षाको अभ्यास गरेपनि त्यो प्रभाबकारी बनेको देखिदैन् । सामान्यतया भिडियो कुराकानी गर्न सक्ने मोवाईल, ल्यापटप र सहज इन्टरनेट सुविधाको पहुँच सबै विद्यार्थीहरुमा नहुने भएकाले पनि यसको प्रभाबकारीता नगन्य देखिएको हो ।

अहिले सदरमुकाम बेनी सहित ग्रामिण भेगका अधिकाँश विद्यालयहरुले टोल टोलमा पुगेर सिकाइ सजहीकरणको अभ्यास गर्न थालेका छन् । विद्यालयको सेवा क्षेत्र छरिएको भएपनि गत असार देखि नै टोल टोलमा पुगेर सिकाइ सहजीकरणमा जुटेको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताउनुभयो । ‘‘ हामी हरेक बालबालिकाको टोलमा पुगेका छौँ, गृहकार्य दिने र बिषयबस्तुबारे अनौपचारिक सहजीकरणको काम भएको छ, विद्यालय नआउँदा बालबालिकाहरु अध्ययनबाट बाहिर नजाउन भन्नेतर्फ हामी सजग छौँ’’–उहाँले भन्नुभयो ।

सरकारले भदौ १९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले विद्यालयमा प्रत्येक्ष रुपमा बालबालिकालाई बोलाएर पठनपाठन गराउनुको विकल्पमा बैकल्पिक व्यवस्था मार्फत सिकाइ सहजीकरण गर्ने उल्लेख गरेकाले जिल्लाका अधिकाँश विद्यालयहरुले यसैलाई कार्यान्वयनमा लगेको पाईएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

निर्देशिकाले विद्यार्थीहरुलाई सूचना तथा प्रविधि पहुँचको आधारमा पहुँच नभएका, रेडियोको पहुँच भएका, टेलिभिजन सम्मको पहुँच भएका, इन्टरनेट बाहेकको कम्युटर र इन्टरनेट सहितको कम्युटरको पहुँच भएको गरि ५ भागमा विभाजन गर्ने र आफ्नो उपलब्धता अनुसारको सहजीकरण गर्नेमा जोड दिएको छ । मन्त्रीस्तरीय निर्णयबाट जारी भएको निर्देशिकामा स्थानीय सरकारले आवश्यक सुरक्षा र सावधानी अपनाएर विद्यार्थीलाई प्रत्येक्ष पठनपाठन गराउन पनि सक्ने बुँदा उल्लेख भएपनि सरकारको मन्त्रीपरिषद बैठकले भने खोल्न नहुने क्षेत्रमा विद्यालयलाई राखेका कारण विद्यालयहरुमा अन्यौलता उत्पन्न भएको पाइएको प्रमुख थापाले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l