म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ता तिव्र

  • ७ आश्विन २०७७, बुधबार
  • धिरन खत्री
  • 2249 पटक पढिएको

 

म्याग्दी, ७ असोज । ब्यवासायीक रुपमा कृषि, पशुपालन र विभिन्न क्षेत्रमा ग्राम उद्योग संचालनका लागि म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ताले तिव्रता पाएको छ । विभिन्न अनुदान तथा सुलभ सेवाहरुको लागि विगतदेखि संचालन गरेका ब्यवसायीले र नयाँ संचालन गर्नेहरुले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेर फर्म दर्तालाई प्राथमिकता दिएका छन् ।

गत आर्थिक बर्षमा म्याग्दीमा ४ सय ५२ ओट वाणिज्य फर्म तथा उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २६३ वटा वाणिज्य फर्म र १८९ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । ब्यवसायलाई स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको, बजार अनुगमनको प्रभाव र ब्यवसाय गर्नेहरु समेत सचेत भएकाले नयाँ आर्थिक वर्ष सुरु भए यता दर्ता हुने क्रम बढेको कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा उद्योग तथा वाणिज्य फर्म दर्ताबाट ३५ लाख २६ हजार ३२५ रुपैयाँ राजश्व संकलन भएको छ । कोरनाको प्रभावका कारण पछिल्लो चारभमहिना दर्ता गर्ने कम आएका थिए । २०७५/०७६ मा उद्योग तथा वाणिज्य फर्म दर्ता र नविकरण वापत ४७ लाख तीस हजार ८५० रुपैयाँ राजस्व संकलन भएको थियो । साउन १ गतेदेखि हालसम ६७ उद्योग र ४६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । यस बर्ष सुरुवातमा फर्म दर्ता गर्ने बढेको तथ्यांक सहायक ढुङ्गानाले बताए ।

पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामुलक उद्योग दर्ता बढेको छ । ब्यवसायीक रुपमा कृषि र पशुपालन गर्नै कृषकलाई प्रदेश कार्यालयले विभिन्न शिर्षकमा अनुदानको ब्यवस्था गरेपछि पछिल्लो समय कृषि तथा पशुपन्छी फर्म दर्ता गर्ने संख्या बढेको कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताए । बिमा, बैङ्क कर्जा र अनुदान सुबिधाका लागि ब्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ । बर्षौदेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुदै आएका उद्योग तथा फर्महरु समेत दर्ता हुन थालेका कार्यालयका प्रमुख पौडेलले बताए ।

प्रदेश सरकार अन्तरगत भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत म्याग्दीमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गतबर्ष ७६ जना कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरेको थियो । बाख्रा, गाईभैसी, कुखुरा, भेडापालक र डेरी मासु ब्यवासायीहरुलाई अनुदान दिएको कार्यालयले जनाएको छ । सबभन्दा बढी मोडल फार्ममा अनुदान वितरण गरेको छ ।

त्यस्तै प्रदेश सरकारअन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले ७९ ब्यवसायिक कृषकलाई ८८ लाख अनुदान वितरण गरेको थियो । सुन्तला, तरकारी र रुैथानेबाली संरक्षंण गर्ने कृषकलाई सिचाई, फर्म निर्माण तथा विभिन्न शिर्षकमा अनुदान वितरण गरेको कृषि प्रचार अधिकृत गोविन्द्र पाण्डेले जानकारी दिए । स्थानीय स्रोत साधन प्रयोग गरेर ब्यवसायीक रुपमा ग्राम उद्योग संचालनबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले पछिल्लो समय संघ र प्रदेश सरकारले फर्म संचालन गर्नेलाई अनुदानको ब्यवस्था गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l