अन्नपूर्णमा कालीगण्डकी दोहन घटना : ‘यस्तो छ गाउँपालिकाले तय गरेकाे छानविनको घेरा’

  • १९ भाद्र २०७७, शुक्रबार
  • 2388 पटक पढिएको

म्याग्दी १९ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको घटनामा स्थानीय युवा सागर बरुवाल र बेनी–जोमसोम सडक आयोजना अन्तर्गतको ठेकेदार कम्पनी शर्मा युनाईटेड अनुसंधानको घेरामा परेका छन् । डोजर लगायतको निर्माण सेवामा आबद्ध रहेका युवा वरुवाल अन्नपूर्ण–६ घारका वडा अध्यक्षका छोरा समेत हुन् ।


एक साता अघि अन्नपूर्ण गाउँपालिकाको महभिर, भिरकाटेमा अबैधरुपमा बालुवा उत्खनन् गरि चोरी भैरहेको तस्बिरहरु सार्वजनिक भएको थियो । गाउँपालिका कार्यालयको नजिकैको ठाउँमा नदिजन्य पदार्थको अबैध उत्खनन र निकासी हुँदा समेत गाउँपालिका मुखदर्शक बनेपछि स्थानीय युवाहरुले स्थलगत अनुगमन, निरिक्षण सहित सो कार्यमा संलग्न व्यक्ति बरुवाल नै भएको उल्लेख गरि किटान सहित लिखित उजुरी सहित कारबाहीको माग गरेका थिए ।
सो टोलीले भिरकाटे स्थित कालीगण्डकी नदीमा भएको अबैध दोहन र निकासीको लागि नजीकका ठाउँहरुमा पु¥याएर राखिएको थुप्रोहरुको समेत प्रमाण समेत पेश गरेका थिए ।

स्थानीयको जनदबाबपछि गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन नेतृत्वको टोलीले बुधवार साँझ नै स्थलगत अवलोकन गरेका थिए । अवलोकनको क्रममा बालुवा थुपारेर राखेको भेटिएपनि उत्खनन् गरेको डोजर र ढुवानी गर्ने साधन नभेटिएपछि स्थानीयबासीको गुनासो र लिखित उजुरीको आधारमा गाउँपालिकाले  छानविन अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिए । उनले बालुवा उत्खनन र निकासी कार्यको छानविनको लागि थालिएका कदमहरुको नतिजा प्राप्त भएपछि मात्रै वास्तविकता भन्न सकिने बताए ।

गाउँपालिका स्रोतका अनुसार, उजुरीको आधारमा गाउँपालिकाले बुधवार नै आरोपित बरुवाललाई २४ घन्टे लिखित स्पष्टिकरण सोधेको थियो । तर बरुवालले अबैध बालुवा उत्खनन्मा आफ्नो संलग्नतालाई स्विकार नगरि सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ठेकेदार शर्मा युनाइटेडले भण्डारण गरि राखेको जवाफ पेश गरेपछि गाउँपालिकाले सो घटनाको अनुसंधानलाई ठेकेदार कम्पनी सम्म पु¥याएको हो । बरुवालले आफुले वालुवा उत्खनन नगरेको प्रतिकृया दिएका छन् । ‘‘ यहाँ निकाल्ने ठाउँ पनि छैन, तर मलाई आरोप लगाईएको छ, पालिकामा उजुरी परेको रहेछ, गाउँपालिकामा शनिवार छलफलको लागि मलाई समेत डाकिएको छ’’–उनले भने । विहिवार गाउँपालिकाले पुनः ठेकेदार कम्पनीलाई समेत २४ घन्टे लल्टीमेटम सहित जबाफ माग गरेको छ ।

 

‘कहाँ कहाँ ? के कति ? परिमाणमा कहाँबाट ल्याएर बालुवा भण्डार गरिएको छ ? जवाफ पेश गर्नु भनी गाउँपालिकाले काटेको पत्रमा सोथिएको छ । कम्पनीले समेत शुक्रवार नै जवाफ पेश गरेको गाउँपालिका स्रोतको दावि छ । गाउँपालिकाले पछिल्लो समय गाउँपालिकामा के कति सवारी साधनमा बालुवा भित्रिएको छ भनेर गाउँपालिका प्रवेशद्धारको रुपमा रहेको तिप्ल्याङको प्रहरी चौकीबाट समेत तथ्याङ्क माग गरेको बुझिएको छ । गाउँपालिकाले दुबै पक्षलाई शनिवार छलफलको लागि समेत बोलाएको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले घटनामा दोषिको पहिचान गर उचित कारबाहीको लागि प्रतिबद्ध रहेको प्रतिकृया दिए ।


सडक आयोजनाले बालुवाको प्रयोग गर्ने खालको काम अहिले  पूर्ण रुपमा बन्द गरेको कारण उसले कतैबाट ल्याएर भण्डारण नगरेको स्थानीयबासीको दावि छ । स्थानीयबासीले आर्थिक लेनदेनमा घटनालाई अर्कै रुप दिनका लागि सडकको ठेकेदारलाई जोडेको भन्दै निष्पक्ष छानविन गरि दोषिमाथि कारिबाही गर्न माग गरेका छन् । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदीजन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ । प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिनासम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत व्यवस्थाअनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्नसमेत पाइँदैन । यहाँ अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ ।


अबैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न ब्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य बस्तु जफत गरी बढीबढाउमा बिक्री गर्ने कानुनी व्यवस्था छ ।अन्नपूर्ण गाउँपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा ठेक्का लगाएर उत्खनन् तथा निकासी गर्न लगाउने गाउँपालिकाको योजना छ । गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दासमेत अन्नपूर्ण गाउँपालिकाका बगर उत्खनन्का लागि कसैले पनि ठेक्का हालेका थिएनन् ।