म्याग्दीमा पहिराे पीडितकाे स्थानान्तरणकाे यर्थाथ : पहिरो पीडित पहिरोमै फर्किए – (इन्साइड स्टाेरी)

  • १८ भाद्र २०७७, बिहीबार
  • 1771 पटक पढिएको

म्याग्दी १८ भदौ । २०७२ सालको महाभूकम्पको कारण पहाडै भत्किएर पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीका पहिरो पीडित पुनः पहिरोमै फर्किएका छन् । भूकम्पले चर्किएको काफलडाँडा नजिकैको पहाड सोही बर्षको जेठ १० गते खसेर भिषण पहिरो जाँदा बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएका थिए ।
पहिरोको कारण बस्ती पूर्ण रुपमा क्षति भएपछि पीडितहरु पहिरो स्थल नजीकैको सामुदायिक वनले समेटीएको राहुपारेमा अस्थायि रुपमा बसोबास गर्दै आएका थिए ।

                                  बैँसरीमा पहिरोमाथि नै घर बनाएर बसेका पहिरो पीडित । 

पहिरोबाट पीडित भएकाहरु मध्ये अन्यत्र जग्गा जमिन नभएका र घर बनाएर बस्ने उपयुक्त जग्गा नभएकाहरुको संख्या अधिक थियो । पीडितहरुलाई स्थानान्तरणको लाथि उपयुक्त स्थान नभेटिएपछि उनीहरुकै चाहना अनुसार, पुन : पहिरो गएकै स्थानमा बस्ती बस्न थालेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत अनुदान लगेर स्थानीयबासीले पहिरोले बस्ती पुरिएकै ठाउँमा जग्गा सम्माएर घर निर्माण गरिरहेका छन् । अहिलेसम्म पहिरो गएको स्थानमै ६ वटा घर पुननिर्माण भएको स्थानीय भिमबहादुर कार्कीले बताउनुभयो ।


उहाँका अनुसार, अन्यत्र गएर घर मात्रै बनाएर जिविकोपार्जन नहुने र तत्कालको लागि पहिरो पनि रोकिएकाले पीडितहरु आफ्नो पुरानै थातथलोमा फर्कनु परेको हो । पीडित भएकाहरुमध्ये एक जनाले बैँसरीको शिरमा रहेको बस्ती रिसिनचौतारीमा आवास पुननिर्माण गरेका छन भने अन्नपूर्ण गाउँपालिकाको राम्चेतर्फका अन्य तीन जनाले गाउँमै घर निर्माण गरेको कार्कीले बताउनुभयो ।

‘‘ पहिरोमै घर बनाएर बस्नुपर्ने हाम्रो पनि बाध्यता हो, अन्यत्र गएर घर बनाएर के गर्ने ? यहाँ कम्तीमा सडकमा आवत जावत गर्नेलाई चिया, खाजा बेचेर भएपनि जिविका त चल्छ,’’–एक स्थानीयले भन्नुभयो । पीडितहरुमध्ये करिब ६ घर अझै पनि बेनी–जोमसोम सडकले समेटिएको बैँसरी नजीकैको राहुपारेमै अस्थायी टहरामा बस्दै आएका छन् । भूकम्पको धक्काको कारण चर्किएको पहाडको सबै भाग नझरेको कारण भूगर्भविद्हरुको टोलीले बैँसरी बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझाब दिएको थियो ।

बस्ती स्थानान्तरण गर्न अन्यत्र जग्गा भएकाहरुको हकमा आवास पुननिर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदान उपलब्ध गराएको थियो । कार्यालयले आवास पुननिर्माणको लागि तीन किस्तामा गरि प्रतिघर रु ३ लाख उपलब्ध गराएको कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्य घरधुरी नियमित लाभग्राहीमा समेटिएको भएपनि अध्ययन टोलीको सुझाब र जिल्ला आयोजना सहजीकरण र समन्वय समितिको सिफारिसमा ९ घर जोखिमपूर्ण लाभग्राहीमा छनौट भएका थिए ।

ती लाभग्राहीमध्ये भूमिहिन लाभग्राहीमा समावेश भएका दुई जनालाई जग्गा खरिदमा थप दुई लाख र एक जनालाई रु २५ हजार अनुदान उपलब्ध गराएको कार्यालयका निमित्त प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, ९ जना मध्ये एक जनाले पहिलो किस्ता लगेका छन भने एक जनाले अहिलेसम्म पनि सम्झौता गरेका छैनन् । त्यसैगरि थप चार जनाको अन्यत्र जग्गा भएपनि घर बनाउने उपयुक्त जग्गा नभएकाले उनीहरुलाई समेत जग्गा खरिद अनुदानको लागि सिफारिस गरिएपनि प्राधिकरण मार्फत निर्णय भएर आएको छैन् । म्याग्दीमा बैँसरी पहिरो संगै बेनी नगरपालिका–१० मा पर्ने पात्लेखेतको पहिरोको समेत भूगर्भविद्हरुको टोलिद्धारा अध्ययन गराईएको थियो ।

भूकम्पपछि भूमिगत पहिरोको थप चपेटामा परेको पात्लेखेत र तोराखेतको पहिरोलाई समेत प्रारम्भीक अध्ययन गराईएको भएपनि अहिलेसम्म प्राधिकरणले यस क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखेको छैन् । तर भूकम्पपछि नै पहिरोले उठिबास लगाएका बस्तीहरुका स्थानीयबासीलाई स्थानान्तरणमा थप जटिलता देखिएको छ । भूकम्पपछिको पहिरोका कारण पहिरोको चपेटामा परेका बस्तीको अहिलेसम्म उपयुक्त स्थानमा स्थानान्तरण नभएको सन्दर्भमा यसै बर्ष बाढी र पहिरोको कारण जिल्लाको धवलागिरि गाउँपालिकाको मराङ, मालिका गाउँपालिकाको बिम , अन्नपूर्ण गाउँपालिकाको फगाम लगायतका बस्तीहरुमा ठुलो सख्ंयामा घरहरु पहिरोले क्षत विक्षत बनाएको छ । स्थानीय विद्यालय र सामुदायिक भवनहरुमा आश्रय लिएर बसेका उनीहरुलाई कसरी सुरक्षित आवासमा स्थानान्तरण गर्ने थप गम्भिर चूनौति थपिएको छ ।  (समृद्द साप्ताहिकमा प्रकाशित )