करबाकेलीमा संग्रहालय भवन निर्माण

  • १५ भाद्र २०७७, सोमबार
  • 1289 पटक पढिएको

म्याग्दी, १५ भदौ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने संग्रहालयका लागि को दुई तले भवन निर्माण गरिएको समितिका अध्यक्ष चामबहादुर पुनले बताए । समितिले एक वर्षअघि संग्रहालयको भवन निर्माण सुरु गरेको थियो ।


संग्रहालयको लागि दुई तले भवन निर्माणमा ४७ लाख ११ हजार ४२८ रुपैयाँ खर्च भएको अध्यक्ष पुनले बताए ।बाँकी कामलाई पूर्णता दिएर संग्रहालय तयार पार्नका लागि थप सहयोगको अपिल गरेका छन् । प्रदेश सांसद विनोद केसी र अन्नपूर्ण गाउपालिकाले पाँच÷ पाँच लाख सहयोग र बाँकी सबै स्थानीयको श्रमदान र चन्दा सहयोग जुटाएर भवन तयार पारिएको हो । परम्परागत सिप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिएपनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने निर्माण समितिका सचिव रवी गर्बुजा पुनले बताए । हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाडाकुँडा र दैनिक जिवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धन गर्नु संग्रहालय मूख्य उद्देश्य रहेको राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदान लगायतका पुर्वाधार निर्माण भइसकेको छ । स्थानीयबासीले निशूल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रबिधि र परम्परागत सिपको प्रयोग गरि मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

गुरुड पुनहरुले पुज्ने पंक्षी हो । यस स्थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलबार र मंसिरको पहिलो उजेली मंगलबार पारेर पूजा गर्छन् । करबाकेली सम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबार सहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जना भन्दा बढी पाहुना बास बस्न सक्ने सुबिधा छ ।समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको बिशेषता भएको बताए।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।