पहिरोले क्षतविक्षत मराङको पीडा

  • २६ श्रावण २०७७, सोमबार
  • 1103 पटक पढिएको

 

 

म्याग्दी, २६ साउन । धौलागिरि गाउँपालिका– ६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर यताउता दौडिदै दिन विताईरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढी पहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले काँखमा छन् । अर्जुनलाई जिन्दगीभर धनबहादुरले बाबा र आमाको माया दिनुपर्ने छ । उनीसँग जीवनसँगीनी र २ छोरी गुमाएको पीडा ताजा नै छ तर त्यही छोरा हेरेर चित्त बुझाउनु बाहेक अर्को उपाय पनि त छैन भन्छन् धनबहादुर । छोराले आमा खोजिरहन्छ तर के भनेर उसको मन बुझाउन धनबहादुरलाई थप पीडा छ ।


धनबहादुर त एकजना मात्र प्रतिनिधि पात्र हुन । उनीजस्तै कयौले आफ्न्त गुमाएका छन् । घरपरिवारबाट विछोडिएका छन् । रातिसँगै सँगै सुतेका आफन्तजनसँग भोलिपल्ट भेट हुन नपाउँदाको पीडा सुनाउनेहरु पनि प्रशस्तै भेन्छिन् मराङमा । उसो त असार २५ गते राति आएको पानीले मराङमा मात्र पीडा दिएको छ्रैन, विम, ताकम लगायतका थुप्रै स्थानहरुमा क्षति पुगेको छ । बाढी र पहिरोले मराङ विक्षिप्त भएको छ । जमिन फाटेको, बाटोहरु भत्किएका, रुख, विजुलीका पोलहरु ढलेका छ । गाउँनै पहिरो जोखिममा छ, भोक, शोक र सुरक्षित आवासको चिन्ता पहिरो पीडितमा देखिन्छ । मराङस्थित राम्चे, कुम्री, रिखा, नामरुक, ठुलोगाउँ लगायतको क्षेत्रको घर बगाउनुसाथै त्यहा अन्यबासिन्दालाई विस्तापित गराएको थियो । विस्थापित परिवारलाई ताकम, राम्चेस्थित दलित सामुदायिक भवन र जनविकास आधारभूत विद्यालयको भवन र सम्मो भुभागमा टहरा बनाएर बस्न बाध्य भएको छन् । त्यहाँ जमिन होईन,वस्तीे होईन सवथोक पहिरोले बगाएको वडाअध्यक्ष राजाराम सुवेदीले रुदै फोनमा पीडामा सुनाए ।

पहिरोबाट आफ्नो बुहारी र नातिनातिनी गुमाएकी राम्चेकी चनमति कामी त्यो दिन सम्झदा अझ पनि भक्कानिन्छिन् । उनी भन्छिन्–“विहान ३ बजेसम्म त बुहारी र नातिनीसँग सँगै थिए, अब त पानी केही कम होला नी भनेर घरमा आएर सुते विहान हेर्दा त पहिरोले सखाप पारेको रैछ ।” उनी आफू सुत्न गएको र पहिरो आएको थाहा नपाएको पश्चताप मानिरहन्छिन् । राम्चेमै अर्को घर देखिन्छ जुन अगाडीबाट हेर्दा सग्लो चिटिक्कको छ, रंगरोगन गरिएको छ तर घरको पछाडि केही छैन्, त्यही घरमा दिपक सुनारले त्यहाँ आफ्नी छोरी गुमाएका रहेछन् । उनी भन्छन्–“ठूलो पानी आएपछि परिवारका सबैजना पानी तर्काउन आयौं छोरी सानी भएकोले भित्रै सुतिरहेकी थिईन, एक्कासी माथिबाट रुख सहितको बाढी आयो र घरभित्र पस्यो छोरीलाई……..” उनी भक्कानिए । यस्ता धेरै पीडाले भरिएको मराङमा । भत्किएको घर पनि ढिलो चाडो बन्ला, फाटेका जमिनहरु पनि ढिलोचाडो जोडिएला, बाटाघाटाहरु बन्लान तर उनको मनमा लागेको चोट ? कहिले निको हुन्छ उनी आफैलाई पनि थाहा छैन ।

पहिरोले क्षत विक्षतको भएको अवस्थामा तत्कालका लागि २ छाक टार्नका लागि राज्य र विभिन्न निकायहरुले राहत सहयोग गरेका छन् । अहिले उनीहरुलाई तत्काल खाद्यान्न सामग्रीको अभाव छैन तर उनीहरुलाई वसोवासको समस्या देखा परेको छ । उनीहरुलाई तत्कालको लागि अस्थायी वासस्थान बनाउनका लागि नेपाल कम्युनिष्ट पार्टी निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयू म्याग्दीले एकहप्तासम्म श्रम शिविर गरेको आएको राष्ट्रिय युवा संघ म्याग्दीका सह संयोजक सन्दीप खत्रीले बताए । उनले भने–“पहिरो पीडितहरुका लागि तत्काल अस्थायी वासस्थानका लागि मराङमा ५१ वटा टहरा बनाएका छौं, उनीहरुलाई अर्को व्यवस्था नहुने बेलासम्मका लागि टहरामा वातावरण तयार गर्न हामीले जनश्रमदान गरेका हौं ।” युवा संघका संयोजक प्रविन शाहीले थपे टिनले टहरा छाउने तयारी भईरहेको छ, बेनीबाटर दरबाङसम्म ट्याक्टर र त्यहाँबाट माथि हेलीबाट टीन लैजाने तयारी भएको छ । टिन पुगेपछि फेरि हामी पुगेर छाउनेछौ ।” राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य पुनम खड्का, अनेरास्वीयूका संयोजक सुवास विक लगायतका राष्ट्रिय युवा संघ र अनेरास्वीयूका झण्डै ४० जनाले श्रमदान गरेका थिए ।
मराङमा बाढी पहिरोमा परेर १९ जना निधन र २ जना बेपत्ता रहेका छन् । क्षतविक्षत मराङका जनधनसंगै खानेपानी, विद्युत, स्वास्थ्य लगायतको समस्या पहिरोले निम्त्याएको छ । सबैले राहत लिएका छन्, तर खाद्यान्नबाहेक अन्य तरकारी खानका लागि सागसब्जीको अभाव पहिरोले निम्ताएको पीडितले बताए । जिल्लाबाट राहत उपलब्ध हेलिकप्टरमा आएपनि, पहिरो लागेको क्षेत्रमा पीडितले फलाउने सागसब्जीको विउविजन कोसैले नलाउदाँ तरकारीको समस्या देखिएको छ । बाढीपीडितको आवश्यक बस्तुहरुको सहयोग भन्दा राहत वितरणको नाम पदको राजनीति गरेको बाढीपहिरो क्षेत्रमा पुगेका राजनीतिक दलको नेताहरुको फोटोमा देखिन्छ ।
जिल्लाको सदरमुकाम बेनीदेखि बाढीपहिरो क्षेत्रमा पुग्नका लागि सडक पहिरो र नदीको कटानले पुर्णरुपमा खुल्न सकेको छैन्, पदमार्गपनि पहिरोले बगाएर जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको बाढीपीडितका लागि टहरा बनाउन मराङ पुगेका राष्ट्रिय युवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले बताए ।
अब राज्यले राहतलाई एकद्वार प्रणालीमा राखेर चाम, नुन, तेल बाड्नु भन्दा पनि उनीहरुको स्थायी पुर्नवासको लागि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । राज्य छ भन्ने अनूभूति दिलाउनका लागि आफूहरु दिनरात नभनी लागिरहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन । उनले भनिन्–“हामी यतिबेला प्राकृतिक प्रकोपको सामना गरिरहेका छौं, हामीलाई धेरैजनाले साथ र सहयोग गरिरहनु भएको छ, सबैलाई धन्यवाद तर अब हामी स्थायी पुनःवासको बारेमा सोचिरहेका छौं त्यसैले सबैले यसैमा सहयोग गरिदिनुहुन अनुरोध छ ।”