सुनको मूल्यमा नयाँ रेकर्ड

  • १४ श्रावण २०७७, बुधबार
  • 875 पटक पढिएको

सुनको मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


गत मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कोरोबार भएको थियो । यसरी हेर्दा गएको एक हप्तामा मात्रै छापावाला सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढेको छ । त्यस्तै, तेजावी सुन पनि मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

केही दिन यता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भएको हो ।

गत मंगलबार प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी एक हप्तामै २ सय ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९ सय ३६ दशमलव सात एक डलरमा कारोबार भएको छ । यस्तै चाँदी पनि बढेर २४ दशमलव तीन सात ३ डलर प्रतिऔंस पुगेको छ ।

काराेबार डटकम