म्याग्दीमा कोरोना नियन्त्रणमा कमाण्ड पोष्ट, स्थानीय तह र सरोकारवाला एकजुट भएर लाग्ने

  • १६ जेष्ठ २०७७, शुक्रबार
  • 1690 पटक पढिएको

म्याग्दी १६ जेठ । म्याग्दीमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र न्युनिकरणको लागि सम्बद्ध सबै सरोकारवालाहरुबिच सहकार्यलाई थप बलियो बनाइने भएको छ । शुक्रवार बेनीमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा बसेको सर्वदलिय सर्वपक्षित बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अबस्थालाई मध्यनजर गर्दै भारतीय सिमावर्ती नाकाबाट गरिने उद्धार र जिल्लामा समेत आबश्यक सतर्कतामा सरोकारवालाहरुबिच सहकार्यमा जोड दिने निर्णय भएको हो ।


बैठकले भारतमा अल्पत्र परेका जिल्लाबासीहरुको उद्धारमा सबै स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला कमाण्ड पोष्ट संग समन्वय गर्ने र दुई वटा जिप र चालक समेतको ब्यबस्था गरि २४ सै घण्टा सञ्चालन गर्न सकिने गरि तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । अहिलेसम्म जेठ ९ गतेयता भारतबाट १ सय बढी म्याग्देलीहरुलाई उद्धार गरि बेनीमा ल्याएर क्वारेनटाइनमा राखिएको छ ।


अझै धेरै जना भारतमा अल्पत्र परेको र उनीहरु जिल्ला आउन चाहेकाले उनीहरुको उद्धारलाई सहज बनाउन दुई वटा जिप तयारी अबस्थामा राख्ने निर्णय भएको सहकायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले आइसोलेसन निर्माणको लागत सम्बन्धमा स्थानीय तहहरुले नै साझेदारी गर्ने र थप ब्यबस्थापनको खर्च समेत सबै स्थानीइ तहले समानुपातीक रुपले ब्यहोर्ने निर्णय भएको छ । त्यसैगरि बेनीमा ल्याएर क्वारेनटाइमा रहेका ब्यक्तिको खाना र अत्याबश्यक सामाग्रीहरुको खर्च नागरिकको संख्या अनुसार सम्बन्धित स्थानीय तहले व्यहोर्ने निर्णय भएको छ ।


त्यसैगरि भारतबाट आउनेहरु सबैलाई बेनीकै क्वारेन्टिनमा राख्ने र पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न ६०० वटा भिटिएम व्यवस्थापन गर्ने निर्णय भएको छ । सुनौली नाकाबाट जेठ ९ गते आएका मालिका गाउँपालिका ४ महभिरका ३० वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेशनमा राखेर उपचार सुरु भएको छ ।

जेठ १० गते आएका २९ जनाको स्वाब संकलन गरेर पोखरा परिक्षणका लागि पठाइएको छ । जेठ ११ गते आएका २० जनाको शुक्रबार स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।आइसोलेशन सञ्चालन गर्न सबै पालिकाले अहिलेलाई एक एक जना स्वास्थ्यकर्मी खटाउने, औजार, स्वास्थ्य सामग्रीको व्यवस्थापन कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्ने र आर्थिक स्रोत पालिकाहरुले उपलब्ध गराउने निर्णय भएको छ । बैठकमा संविधान सभा सदस्यहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिसस प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र सरोकारवालाहरुले समेत जिल्लामा हालसम्मको लकडाउन कार्यान्वयन र कोरोना रोकथाम र नियन्त्रणका कार्यहरु सकरात्मक रहेको भन्दै थप एकताबद्ध भएर सबै नागरिक र सरोकारवाला थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएपनि आइसोलेसन निर्माण भैसकेकाले उनीहरुको उपचार र सम्भावित जोखिम न्युनिकरणमा सहजता मिलेको बताउनुभयो । उहाँले सरोकारवालाहरु मार्फत प्राप्त भएका सुझाबहरुलाई लिएर थप कार्ययोजना निर्माण गरि कोरोना रोकथाम र नियन्त्रण अभियानलाई थप प्रभाबकारी बनाउने जानकारी दिनुभयो ।