महामारीको बिच आत्मनिर्भरताको बाटोमा लागौँ

  • १५ बैशाख २०७७, सोमबार
  • 2188 पटक पढिएको

दिनेशजंग कटुवाल
वैशाख १५ । महामारीको रूपमा फैलिदै गएको कोरिना भाइरस (कोभिड –१९) विरुद्ध सारा बिश्व जगतका मुलुकहरू लडिरहेको स्थिती छ । सम्पुर्ण पृथ्वीवासी मानव जातिहरु भय र त्रासले बाच्न बाध्य छन् । विकसित देखि अति विकसित भनिने मुलुकहरुमा लाखौं मानिसहरू मा संक्रमित भएको छ भने हजारौंको संख्यामा मृत्यु भैसकेको छ । अहिलेको समयमा हामीसंग मानव द्वारा निर्मित अन्तरीक्षमा यात्रा गर्ने यन्त्र छ, साधन छ । तर कोरोना भाइरसलाई जित्न सक्ने औषधि छैन, साधन छैन । विभिन्न विद्वानहरुका विश्लेषण अनुसार कुरा गर्ने हो भने कोरोना भाइरस हतियार बिनाको अर्को बिश्व युद्ध भएको जिकिर छ । मानव जातिको लागि यो कोरोना भाइरसको संक्रमण निकै चुनौतीपूर्ण स्थिति हो भनेर भनिएको सुन्नमा आउछ । ठूलो जनधनको क्षति हुने चुकाउनु पर्ने स्थिति बन्छ भन्ने तर्क छ ।

कोरोना भाइरसको चपेटामा परेका मुलुकहरुको अर्थतन्त्र डामाडोल हुने स्थिति छ । बिश्व अर्थतन्त्रमा गिरावट आउने र आर्थिक मन्दी लाग्ने अबको चुनौती हुनेमा कुनै संका छैन् । अहिलेको अबस्थाले निरन्तरता पाएमा भोलिका दिनमा भोकमरीको स्थिति सिर्जना नहोला भन्ने स्थिति पनी छैन । यसैगरी कोरोना महामारी अझै केही महिना रहि रहने हो भने मानव जातिप्रती निकै ठूलो चुनौती थपिने निश्चित नै छ । यसरी विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण देखि नेपाल मुलुक पनि अछुतो नहुने कुरा रहेन भएन ।

नेपालको सन्दर्भको बिषयमा कुरा गरौ । नेपाल एक गरिब राष्ट्र त्यही माथि मुलुकको आम्दानीको दरो श्रोत वैदेशिक रोजगारिबाट भित्रने रेमिट्यान्स । वैदेशिक रोजगारीका लागि विदेशीने नेपालीहरुको तथ्यांक हेर्ने हो भने लगभग ६० लाखको हाराहारीमा नेपाली श्रमिक बिश्व बजारमा बेचिएका छन् । बिश्व अहिले कोरोना महामारीको चपेटामा परेको स्थिति छ । नेपाली श्रमिकहरुले श्रम गर्ने विकसित र अति विकसित मुलुकहरू ले यो समयमा लकडाउनको सामाना गरिरहेका छन् । लकडाउनको सामाना गर्ने मुलुक हरुको अर्थतन्त्र डामाडोल हुने स्थितिमा छ , धरापमा पर्ने सम्भावना छ । मैले जोड्न खोजेको कुरा हाम्रा ६० लाख श्रमिक मध्यका ४० प्रतिशत नेपाली श्रमिक स्वदेश फिर्ता भए भने पनि देशको स्थिति कस्तो होला ? देशको लागि मुलुकको अर्थतन्त्रमा त घाटा हुन्छ नै गरिबी , बेरोजगारी , हत्या , हिंसा र लुटपाट बढ्ने सम्भावना पनि हुन्छ । यस्तो स्थिति आयको खण्डमा सरकारले कस्तो कदम चाल्नुपर्ने हुन्छ त ! त्यसको बिसयमा सोच्नुपर्ने समय आएको छ ।

मुलुक कोरोनाको चपेटामा परेको छ । जटिल परिस्थितिले मुलुक पुर्ण रुपले लकडाउन गरिएको छ । लकडाउन भएको पनि महिना दिन बढि भैसकेको स्थिति छ भने भोलिका दिनमा लकडाउन अझै लम्बिने देखिन्छ । कोरोनाको कारणले अधिकांश उद्योग , कारखाना , होटल रेष्टुरा लगायतधका क्षेत्र बन्द हुने परिस्थिति छ । यस्तो भएमा वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरु स्वदेश फिर्ता हुने संख्या बढ्ने देखिन्छ । देशलाई यसैगरी महिनौं लकडाउन गरे भोलिका दिनमा भोकमरी त नहोला तर खाद्यान्न लगायतका अत्याबश्यक सामान र बस्तुको संकट नहोला भन्न सकिदैन । अरु विकसित मुलुकहरु को जस्तो हाम्रो अर्थतन्त्र छैन , उद्योग कारखाना छैनन् त्यसैले हाम्रो मुलुकलाई कोरोनाले विकसित मुलुकको अर्थतन्त्रमा जस्तो असर पार्दैन र पार्ने कुरा पनि भएन किनभने हामी न्यून अर्थतन्त्र बोकेको मुलुक हौं ।

अहिलेको चीन कुनै समयमा भोकमरीबाट आफ्नो करोडौं जनता गुमाएको थियो तर अहिले चिनलाइ हेरौं उ अग्र स्थानमा आउन केही कदम मात्र पछाडी छ । चिनले आर्थिक क्रान्तिको सुरुवात कृषिक्रान्ती बाट गरेको थियो । यस आलेखमा चीनलाई बिचमा घुसाउनुको कारण हामी सँग चुनौती र अवसर दुई वटै नै छ । ८० प्रतिशत नेपाली भु भाग कृषि योग्य छ भने हाम्रा युवा जनशक्ति रोजगारी नपाएर विदेशिनु परेको छ । यस्तो अवस्थामा सरकारले कृषि सम्बन्धि नयाँ नयाँ योजनाहरु ल्याउनु पर्छ । आधुनिक कृषि प्रणाली मुलुकमा निर्भर कृषि क्षेत्रमा बृहत लगानी गर्नुपर्छ । मुलुक संघीयतामा गैसकेको छ । स्थानीय सरकारहरुले कृषिमा आत्मनिर्भर गराउने खालका बिशेष खालका कार्यक्रम ल्याउनेतर्फ भुमिका खेल्न सक्नुपर्छ । कृषि बजारको उचित ब्यवस्थापन गर्नुपर्छ । तराईलाई अन्नको भण्डारणको रूपमा प्रयोग गरेर अन्नको मेरुदण्ड तराईलाई बनाउनुपर्छ भने पहाड र हिमाललाई फलफूल र जडिबुटीको हबको रूपमा विकास गर्नुपर्छ ।

सरकार र जनताको स्वामित्व हुने गरि पारदर्शि तरिकाले सरकारले जनता र सरकारको लगानीमा ७७ वटै जिल्लामा कोल्डस्टोर ( भण्डारण गृह ) निर्माण गर्नुपर्छ । ताकी आज जुम्लामा उत्पादन भएको स्याउ कुहिएर खेर जानु परेको छ , पहाडमा उत्पादन भएको बस्तु कौडिको भाउमा जान्छ , तराईमा उत्पादन भएको धान , गँहु , गेडागुडी भारत बेचेर भारतबाट महँगोमा आयात गर्नुपरेको छ । अब यस्तो विडम्बनालाई अन्त्य गर्नुपर्छ । हामी संग जनशक्ति प्रयाप्त छ । हाम्रो जनशक्तिको प्रयोगले अरब मुलुक र अन्य मुलुकहरु विकसित भएका छन् । हाम्रो मुलुकको स्थान झन् झन् खस्किदै छ । यो जनशक्तिलाई सहि प्रयोग गर्ने सरकारले हो त्यसैले सरकारमा बसेकाहरु मा दुरदर्शिता र सफल लिडर गर्न सक्ने क्षमतावान हुनुपर्छ ।

अझै वर्तमान स्थितिको कुरा गर्ने हो भने सरकार कोरोना महामारीको बारेमा खासै जवाफदेही भएको देखिएन । अझै भनौं सरकार जनता जोगाउन होईन कुर्सी जोगाउन लागिपरेको देखियो । यस्तो जटिल परिस्थितिमा सरकारमा बसेकाले यस्तो बेमौसमी खेती गरे यसले हुने क्षतिको जिम्मेवार को हुन्छ ? सुखद कुरा हो कोरानाले आज सम्म नेपालमा एक जना नेपालीको पनि ज्यान गएको छैन यदि सरकारको गैरजिम्मेवार पनको कारणले कोरोनाबाट मृत्यु भए अथवा यसको संक्रमण नियन्त्रण बाहिर गए कस्ले जिम्मा लिन्छ ? यो समय कुर्सीको लागि लुछाचुडी गर्ने समय होइन । दुरदर्शिता राखौं देशमा भएको कृषिको सम्भाब्यता खोजौं । जनताको लगानीमा जनतालाई नै रोजगारीको सिर्जना गरेर देशको अर्थतन्त्र विकास गरौं । यदि चाहने हो र भिजन लिएर लाग्ने हो भने समृद्धि हाम्रै पालोमा सम्भव छ । सरकारले युवा शक्तिलाई वैदेशिक रेमिट्यान्सको लागि बेच्ने होइन स्वदेशमा नंग्रा खियाउने बाताबरण सिर्जना गरे मुलुकले आफै गति लिन्छ । हामिलाइ बाताबरण र बजार ब्यवस्थापन भए पुग्छ सरकार देश हामीले बनाउँछौ ।