पुननिर्माण अभियानले विद्यालयको स्वरुप फेरिँदै, २५ विद्यालय भवन निर्माण

  • २४ पुष २०७६, बिहीबार
  • कमल खत्री
  • 3624 पटक पढिएको

म्याग्दी, २४ पुस । म्याग्दीमा विद्यालय पुननिर्माण अभियानले गति लिएको छ । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त घर र सामुदायिक विद्यालय पुननिर्माण अभियान अन्तर्गत आवास पुननिर्माण सुस्त बनेपनि विद्यालय भवन पुननिर्माणले भने विद्यालयहरुको स्वरुप नै फेरिन थालेको छ । म्याग्दीमा विद्यालय पुननिर्माण सुरु भएको तीन बर्षको अवधधिमा २५ वटा विद्यालय पुननिर्माण भएका छन् ।
पुननिर्माण सुरु भएको ४ बर्ष पुरा भैसकेपनि पहिलो बर्ष लगत संकलन र नापजाँचमै समय व्यतिथ भएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत आवास र विद्यालय पुननिर्माण हुँदै आएकोमा चालु आर्थिक बर्षदेखि विद्यालय पुननिर्माणको लागि छुट्टै शिक्षा इकाई सञ्चालनमा आएको छ । पहिलो बर्ष ४, दोस्रो बर्षमा ६ र तेस्रो बर्षमा १५ वटा विद्यालय भवन पुननिर्माण भएको पुननिर्माण प्राधिकरण शिक्षा इकाईका सुचना अधिकारी इन्जिनिएर विष्णु रिजालले जानकारी दिए ।
आर्थिक बर्ष २०७३÷०७४ मा २ कोठे र ४ कोठे १÷१ विद्यालय र ३ कोठे २ वटा विद्यालय भवन निर्माण भएको थियो । आ.ब. २०७४÷०७५ मा प्राप्त ७ वटा भवनमध्ये अन्नपूर्ण गाउँपालिका–४ काभ्रेको सरस्वती आधारभुत विद्यालय भवन निर्माणधिन अबस्थामा छ भने अन्य ६ वटा भवन निर्माण सम्पन्न भएका छन् । यस आबमा २ कोठे २ वटा, ३ कोठे ३ र ४ कोठे १ वटा भवन निर्माण भएको थियो ।


आ.ब. २०७५/०७६ को पहिलो चरणमा २० वटा भवन निर्माणको प्राप्त कोटा मध्ये अहिलेसम्म १५ वटा भवन निर्माण सम्पन्न भैसकेको छ । बाँकी रहेका ५ वटा विद्यालय भवनको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको इन्जिनियर रिजालले बताए । उनका अनुसार, बाँकी रहेका भवनको निर्माण कार्य माघभित्रै सम्पन हुने गरि कामले तिब्रता पाएको छ । विद्यालय भवन पुननिर्माणले म्याग्दीका सामुदायिक विद्यालयको स्वरुप नै फेरिन थालेको छ । सुविधायुक्त पक्की भवन निर्माण भएसंगै विद्यार्थी र शिक्षकहरुलाई पठनपाठन र अध्यापनमा सहजता हुनुको साथै शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुगेको छ । म्याग्दीमा भुकम्पबाट क्षति भएर सुचिकृत भएका १०१ वटा विद्यालयको पुननिर्माणको लागि स्थापना भएको शिक्षा इकाईले अहिले गत बर्षको दोस्रो चरणमा प्राप्त कोटामा पुननिर्माणको लागि छनौट भएका विद्यालयहरुमा भवन निर्माण कार्यलाई अघि बढाएको छ ।
                                         २४ भवन निर्माणको काम सुरु
गत आ.ब.को दोस्रो चरणमा म्याग्दीमा प्राप्त २४ वटा विद्यालय भवन र २१ वटा विद्यालय शौचालय निर्माणको कोटामध्ये अधिकाँशको निर्माण कार्य अघि बढेको छ । २ कोठे १० वटा, ३ कोठे २ वटा र ४ कोठे १२ वटा विद्यालय भवन निर्माणको लागि सम्झौता भएर निर्माण कार्य अघि बढेको इकाईका सब इन्जिनियर चन्द्रकुमार यादबले जानकारी दिए । पुननिर्माण मार्फत निर्माण गर्न लागिएका २१ वटा शौचालय अपांगमैत्री बनाईने उनले बताए । शौचालय निर्मणमा रु १५ लाखको दरले बजेट उपलब्ध गराईएको छ ।

पुननिर्माण प्राधिकरणले २ कोठे भवनको लागि २३ लाख ९० हजार, ३ कोठेको लागि ३५ लाख ८० हजार र ४ कोठेको लायग ७० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समिति अन्र्तगत गठन हुने उपभोक्ता समितिले प्राधिकरणले प्रदान गर्ने अनुदानमा अपुग रकम स्थानीय स्तरमै व्यवस्थापन गर्नुपर्नेछ । सम्झौता भएको ६ महिनाभित्र निर्माण कार्य सम्पन गर्नुपर्ने प्रावधानको कारण विद्यालय पुननिर्माण अभियानले गति लिएको इकाईले जनाएको छ । म्याग्दीमा विद्यालयहरुमा पूर्वाधारको अभाब रहेको सन्दर्भमा प्राधिकरण मार्फत भवन निर्माणको लागि प्राप्त कोटालाई सुचिकृति विद्यालयहरुमध्ये बढी आबश्यकता रहेकालाई प्राथमिकता दिएर सिफारिस गरिएको आयोजनाको जिल्ला सहजीकरण समितिको अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए । उनले प्राधिकरण मार्फत पुननिर्माण सुरु भएका विद्यालयहरुमा पूर्वाधार निर्माणको कामलाई नियमित अनुगमन समेत भैरहेको बताए ।
                                                            आवास पुननिर्माण सुस्त
म्याग्दीमा निजी आवास पुननिर्माणको गति सुस्त भएको छ । २०७२ बैशाखमा गएको महाभुकम्प पछि क्षतिग्रस्त घरहरुको पुननिर्माणको लागि पुननिर्माण सुरु सुरु भएको ४ बर्ष वितिसक्दा समेत आवास पुननिर्माणको लागि अनुदान लगेका भुकम्प पीडितहरुले आवास पुननिर्माणमा वेवास्ता गरेपछि आवास पुननिर्माणको गति सुस्त भएको हो । म्याग्दीमा पहिचान भएका ८८४ जना भुकम्प पीडित मध्ये ८०१ जनाले मात्रै निर्धारित समयमा सम्झौता गरि रु ५० हजार रुपैयाँका दरले प्रथम किस्ता अनुदान लिएका थिए । पहिलो किस्ता अनुदान लगेका मध्ये जम्मा ३६६ जनाले मात्रे आवास पुननिर्माण गरि अन्तिम किस्ता लगेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकल इन्जिनियर सोहनजंग कार्कीले जानकारी दिए ।

उनका अनुसार, पुननिर्माण सुरु गरेर दोस्रो किस्ता बापतको थप रु १ लाख ५० हजारको दरले ४१९ जनाले अनुदान लगेका छन् । पुननिर्माण गर्ने सम्झौता गरि पहिलो किस्ता लगेका ३८० जना भन्दा बढीले पहिलो किस्ता अनुदान लगेर पुननिर्माण नै नगरीकन गुपचुप बसेको पाईएको छ । आयोजनाले पूर्ण क्षती भएका पिडितलाई रु ३ लाख र आँशीक क्षती भएर प्रवलीकरण गर्नुपर्नेलाई रु १ लाखका दरले अनुदान उपलब्ध गराउँछ । गत असार मसान्तसम्म छुट भएकाहरुको सर्वेक्षण तथा पुनजाँचबाट १०९ जना पुननिर्माण र प्रवलीकरणमा ६३ जना लाभग्राही थप भएका छन् ।

आवास पुननिर्माणको लागि सम्झौता गरेका लाभग्राहीलाई घर निर्माणको लागि ताकेता गरिएको आयोजनाका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार, पहिलो किस्ता लगेर आवास पुननिर्माण नगरेका २ जनाले अनुदान रकम फिर्ता गरेका छन् । आयोजनाले आवास पुननिर्माणको लागि अनुदान लिएका लाभग्राहीलाई आवास पुननिर्माण गर्न ताकेता गरेको छ । भुकम्पबाट क्षतिग्रस्त भई आयोजनाका प्राविधिक खटिनु पूर्व नै पुननिर्माण भएका १३९ घरका धनीले मापदण्ड पुरा गरेका खण्डमा सम्बन्धित स्थानीय तहको सिफारिसमा एकमुष्ठ अनुदान दिने तयारी समेत भैरहेको आयोजनाका सुचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l