हाटबजारको टहरा प्रयोगविहिन

  • २० पुष २०७६, आईतवार
  • धिरन खत्री
  • 1737 पटक पढिएको

 

म्याग्दी, २० पुष । सदरमुकाम बेनीको बहुउद्देश्यीय मैदानमा रहेको हाटबजारको टहरा प्रयोग विहिन भएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनीधी र सरोकारवालाहरु र नीजि क्षेत्रको वेवास्ताका कारण हाटबजारको टहरा प्रयोगविहिन भएको हो ।

विगत तिन बर्षदेखि हाटबजारमा निर्माण भएको टहरामा तरकारीजन्य बस्तुहरुको विक्रि र अन्य प्रयोजनका लागि सरोकारवालाहरुको ध्यान नजादाँ टहरा बेवारिसे बनेका छन् । बेनी र आसापासका क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी, फलफुल, पशुजन्य बस्तुको बजारीकरण गर्ने तथा उपभोक्ताहरुले उत्पादक बाटै सिधै खरिद गर्न पाउने सुबिधाका लागि प्रत्येक शनिबार गरिने हाटबजार सञ्चालन बेनी नगरपालिकाले बेवास्ता गरेको छ। बेनी नगरपालीकाका जनप्रतिनिधिले नगरपालिकाले आयोजना गरेका विभिन्न सार्वजनीक सुनुवाई कार्यक्रममा हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि त्यो ब्यवहारमा देखिएको छैन् ।

२०६५ सालमा सदरमुकाम बेनीजार बासीलाई लक्षित गरेर हप्ताको एकदिन शनिबार कृषी उपजको खरिद बिक्री हुदै आएको थियो । पछिल्लो समय शनिबारपनि तरकारी तथा अन्य किराना लगायतका सामानका पसलहरु खोल्नु, कृषकले उब्जनी गरेको तरकारी शनिबारमात्र उपयुक्त नहुनुले हाटबजार बन्द भएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । टहरा तथा सार्वजनिक जग्गालाई प्रयोग ल्याउन नगर कार्यपालिका, यातायात र उद्योगीहरुसंग छलफल भएर प्रयोग ल्याउने निर्णय भएपनि कार्यान्वयनमा जोड नुहदाँ टहरा अलपत्र तथा प्रयोगविहिन भएको वडाअध्यक्ष श्रेष्ठले बताए ।

कृषकहरुले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने समस्या भएपनि हाटबजार र संकलन केन्द्र प्रयोगमा ल्याउन सरोकारवालाको ध्यान पुगेको छैन् । कृषक र उपभोक्ता जागरुक नहुनु, सरोकारवालाको बेवास्ता, कमजोर व्यवस्थापन, ब्यवसायीको असहयोग, फोहोर र ढल व्यवस्थापन नहुँदा हाटबजारका लागि लाखौ खर्च गरेको भवन तथा टहरा सो अवस्थामा पुगेको हो ।

सुरुवातका केही समय राम्रोसंग सञ्चालन भएको हाटबजारमा पछिल्लो समय पूर्वाधार जिर्ण बनेका छन् । हाटबजार टहरा र कृषि उपज संकलन केन्द्र निर्माणका लागि कृषि विकास कार्यालयले वि.स २०६५ साल देखि ७१ सम्म १९ लाख रुपैया लगानी गरेको छ । गैरसरकारी संस्था सहमती, लघुउद्यम विकास कार्यक्रम, धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले दुईदुई लाख र तत्कालीन जिल्ला विकास समितिले एक लाख पचास हजार रुपैया पूर्वाधार निर्माणमा सहयोग गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l