राहुघाट जलविद्युतको इलेक्ट्रोमेकानिकलको ठेकदारमा भारतीय कम्पनी ‘भेल’ छनौट
- ४ मंसिर २०७६, बुधबार
- 2765 पटक पढिएको
म्याग्दी ४ मंसीर । म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारमा भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले ठेक्का पाएको हो ।
१ करोड दुई लाख, ९३ हजार २२.३५ अमेरिकी डलरमा ३६ महिने ठेक्का सम्झौता भएको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । तीनवटा कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएको मध्ये सबैभन्दा कम रकम कबोलेको भेलसँग सम्झौता गरेर स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा पठाईएको उहाँले बताउनुभयो ।
बैंकले सम्झौता स्वीकृत गरेपछि ठेकेदार परिचालित हुनेछ । भेल भारतको सरकारी निर्माण कम्पनी हो । भोइट हाइड्रो र एन्ड्रिज हाइड्रो पनि ठेक्का प्रक्रियामा सहभागी भएका थिए । भेलसँग विद्युत्गृह भित्रका उपकरण र स्विचार्डका उपकरण आपूर्ति, ढुवानी र जडान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको हो । आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित अडिट न. ३ मा १३५ र बुक्लको अडिट न. २ मा १ सय ५ मिटर सुरुङ निर्माण भएको छ ।
बेनी–जोमसोम सडक अन्तर्गत पर्ने तिल्केनीचौरमा विद्युतगृह निर्माण सुरु गरेको छ । सिभिल ठेकेदार कम्पनी जेपी एसोसिएट्सले बाँधसम्म १० किलोमिटर सडक खोलेको छ। बाँध स्थल जाने बाटोमा पर्ने रघुगंगा नदीमाथि मोटर चल्ने ट्रस पुल बनाउन लागेको कम्पनीका उपनिर्देशक गोपाल पाठकले बताउनुभयो ।
प्राधिकरणले २०६६ देखि बनाउन सुरु गरेको यो आयोजनाको एक दशकको भौतिक प्रगति करिब १५ प्रतिशत छ। पुरानो भारतीय ठेकेदार कम्पनी आईभीआरसियलसँगको सम्झौता तोडेपछि जेपी एसोसिएट्सले ६ अर्ब रुपैयाँमा सिभिल ठेक्का लिएको थियो । ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेका कारण काम सुस्त भएको छ। ४८ महिनाको काम ४५ महिनामा सक्ने सम्झौता गरेको थियो। नदीको वहावमा आधारित राहुँघाट जलविद्युत् आयोजनाले पिप्ले, झिँ र दग्नाममा दशक अघि नै २ सय ८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो।
झिँ र दग्नामको सिमामा बाँध बन्ने आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहनेछ। सिभिल ठेकेदारलाई साइट क्लियर गरेर काम गर्ने वातावरण बनाउन निर्देशन दिएको केसीले बताउनुभयो । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो ।