साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरी पदमार्ग ( फोटो फिचर)

  • ५ कार्तिक २०७६, मंगलवार
  • कमल खत्री
  • 2634 पटक पढिएको

म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धवलागिरी हिमालको फन्को मार्न र आधार शिविर सम्मको पदयात्रामा जाने पर्यटकहरु आकर्षित हुन थालेका हुन् ।

केहि बर्ष अघि सम्म न्युन विदेशी पर्यटकहरु मात्रै भ्रमणमा आउने यस पदमार्गमा पछिल्लो समय विदेशी संगै आन्तरिक पर्यटकहरुको आगमन समेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आउनुभएका हरिप्रसाद तिलिजाले बताउनुभयो ।

‘‘ धेरै दिनको यात्रा गर्नुपर्ने भएकाले यो क्षेत्र विदेशी पर्यटकहरुको रोजाईमा मात्रै पर्ने गरेको थियो, पछिल्लो समय नेपाली पर्यटकहरुपनि आउन थालेका छन्, पदमार्ग, झोलुङ्गे पुल लगायतको पूर्वाधार बन्न थालेपछि पदयात्रामा आउने पर्यटकहरुलाई राहत मिलेको छ’’–तिलिजाले भन्नुभयो ।

धवलागिरी पदमार्गमा पूर्वाधार बन्दै गएपछि भिरमा हत्केलामा ज्यान राखेर हिड्नुपर्ने बाध्यता क्रमश हट्दै गएको छ भने पदयात्रा सुरक्षित हुन थालेको छ । दशँैको विदाको समयमा एक साता लामो पदयात्रा गरि धवलागिरी आधारशिविरमा पुग्नुभएकी धवलागिरी गाउँपालिका–४ खाम्लाकी केसरी शर्माले पर्यटन विकासको अथाह सम्भावना रहेर पनि यो क्षेत्र प्रचार प्रसारको कारण ओझेलमा परेको अनुभव सुनाउनुभयो ।

‘‘धवलागिरी पदमार्ग शाहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचार प्रसार र अत्याबश्यक पदमार्ग लगायतका पूर्वाधार निर्माणलाई पूर्णता दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ’’–म्याग्देली विद्यार्थि परिवार काठमाण्डौकी अध्यक्ष समेत रहनुभएकी शर्माले भन्नुभयो । पदमार्ग अन्र्तगत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापनिज क्याम्पदेखि आधार शिविर सम्मको ग्लेसियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय पदमार्ग अन्र्तगत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्प सम्मको पदमार्गलाई स्तरोन्नती गरिएको छ । गण्डकी प्रदेश र संघिय सरकार मार्फत प्राप्त भएको ६५ लाख बढी बजेटबाट करिब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँले अझैपनि अप्ठ्यारा ठाउँहरुमा पदमार्ग र खोलाहरुमा झोलुङ्गे पुल बनाउनको लागि पहल भैरहेको बताउनुभयो । पदमार्ग निर्माण संगै धौलागिरी आधार शिविर र चक्रिय धौलागिरी र हिमाल आरोहणको लागि जाने पर्यटकहरुलाई राहत भएको छ ।

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकहरुले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकाँश पर्यटक हेलिकप्टर मार्फत जाने भएपनि धवलागिरीको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटकहरु भने पदमार्ग हुँदै ओहोर दोहोर गर्छन् । धवलागिरी पदमार्गमा मनोरम हिमसृङ्खला संगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमताल समेत पर्यटकको आकर्षण बन्ने गरेका छन् ।

तस्बिर ः केशरी शर्मा र सरीता थापा

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l