हस्तकलाका आकर्षक सामान, बजारीकरणको अभाव

  • २३ श्रावण २०७६, बिहीबार
  • 5149 पटक पढिएको

बेनी २२ साउन । बेनी नगरपालिका–६ जामुनाखर्कमा रहेको हस्तकला उद्योगबाट उत्पादीत सामग्रीलाई बजारको अभाव भएको छ । जामुनाखर्कका अशोक शाहीले सञ्चालन गरेको राउटे ह्याण्डीक्रफ्ट एण्ड डेकोरेशन उद्योगमा उत्पादीत सामानलाई बजार अभाव भएको हो । करिब सत्र लाख रुपैयाँ लगानी गरेर हस्तकला कारखाना खोलेका शाही उत्पादीत सामान बिक्री नहुँदा निराश बन्नुभएको छ ।

‘छ÷सात लाखको सामान स्टक छ,’ उहाँले भन्नुभयो ‘बजार नपाएर सामान बिक्री नहुँदा सोचेजस्तो भएको छैन् ।’ रोजगारीका लागि उहाँले २७ महिना मलेसियामा काम गर्नुभएको थियो । सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर विदेशको विकल्पमा उद्योग खोल्नुभएको हो । बाँसका सिन्का बनाउन उनले नौ लाख रुपैया खर्चेर चिनबाट मेसिन ल्याएको बताउनुभयो ।

उपहार र सजावटका लागि माग बमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ । पाँच सय रुपैयाँ देखि दुई लाख पचास हजार रुपैयाँ मूल्य सम्मका सामाग्री बनाएको उहाँको भनाई छ । यसअघि कारखानामा उहाँ एक्लै काम गर्नुहुन्थ्यो । सिक्नका लागि हालै अरु दुई जना पनि थपिएका छन् । बाँसका सिन्कालाई डिजाइन र स्वरुप अनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर सामग्री बनाउँछन् । बाँसका सिन्काबाट कोठालाई सजावट गर्न पनि सकिने उहाँको भनाई छ । मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारी जस्ता परम्परागत घरायसी सामग्रीहरु तयार पार्ने गरिएको छ ।

शाहीले धार्मिक स्थलहरुलाई हस्तकलामा उतारेका छन् । बाँसका सिन्काबाट पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँच तले दरबार, घरहरा लगायत दर्जनौ मन्दिर तथा ऐतिहाँसिक स्थलका दुरस्त आकृति तयार पारेका हुन् ।

‘एक पटक देखेका जुनसुकै बस्तुको पनि दुरस्त आकृति तयार पार्न सक्छु,’ शाहीले भन्नुभयो ‘कतिपय सामग्रीहरु आफ्नै सिर्जना पनि गरेको छु ।’ ३३ वर्षका शाहीले ८÷९ वर्षको उमेर देखिनै बाँसका सिन्काबाट सामान बनाउने रुची राख्ने गर्नुहुन्थ्यो । बाँसका सिन्काको टुक्रा, टुक्रालाई जोडेर दुरुस्त आकृतिका मन्दिर, महल तयार पार्ने कला र सिपलाई शाहीले ब्यवसायमा रुपान्तरणको प्रयास गर्नुभएको हो ।