आमा ! छोरा ! कति पुरा भयो भरोसा ?

  • २२ श्रावण २०७६, बुधबार
  • 4298 पटक पढिएको

गुन पुन ‘गुञ्जन’
आमा……।
हे, आमा……।
आमा , तपाई कति महान् ? तपाईको बारेमा अनेकौँ शब्दहरुले सिँगारिएका गाथाहरु आज मलाई फिक्का लाग्छ । आमाको मुख हेर्ने दिन होस् ,या आफुले पाएका सफलताका श्रेयहरु एकै छिन तपाईलाई केहि हिस्सा दिने क्रममा या अक्कल झुक्कल भेट हुदा खिचिएका तस्बिरहरु होस् , सबै आजकलको सस्तो सामाजिक सञ्जालमा छरपष्ट पारेको देख्दा एकातिर के साँच्चै आमा प्रति अथाह माया नै भएको हो त ? भन्ने लाग्छ भने अर्काे तिर आमा प्रतिको श्रद्धा ,माया केबल सामाजिक सञ्जालको भित्तामा रँग्याउन मात्रै सिमित हो त ?

‘दुई सन्तान, इश्वरको बरदान’ नेपाली समाजमा आशिर्बाद दिने र तालिम गोष्ठिमा वा जनसँख्या नियन्त्रणको क्रममा गुञ्जीरहने उखान । जुन उखान सुन्दा सतही राम्रो लाग्छ । हो की क्या हो झैँ लाग्छ , तर बास्तबिकतामा फरक छ । बर्तमान समयमा हाम्रो समाजको खाडल यसरी फराकिलो भएको छ की गाउँ देखी शहर । शहर देखी बिदेशसम्म । हुदा खाने र हुने खाने बिचको दुरी । आधुनिकतामा रम्ने र परम्परालाई अँगाल्न खोज्ने बिचको फरकपन । जब जब मानिसको इच्छा आकाँक्षा बद्दै जान्छ ,पश्चिमा सँस्कृतिको दवदवा बढ्छ् । अनि आधुनिकताको खोक्रो आडम्बरमा आफुलाइ लिप्त बनाउछ । तब छरपष्टको जीवन बिताउन थाल्छ ।

परिवार–परिवार , समाज–समाज बिचको दुरी फराकिलो बन्दछ । र भौतिक रुपमा सम्पन्नशाली ब्यक्तिहरु पनि भावनात्मक रुपमा कमजोर हुन पुग्दछन् । अब हाम्रो परिबेश भन्ने बेला आएको छ , के साँच्चै दुई सन्तानमात्र हुनु ठिक छ ? के अब नेपाली आमाले दुई सन्तान मात्र जन्माउदा अन्तिम स्वास फेर्दा छोराको मुख हेर्ने वा सन्तानको हातबाट पानि पिउने इच्छा पुरा होला त ? यस्तै यस्तै अनेकौ प्रश्नहरु मनमा उब्जीएका छन् । गुम्सीएका छन् । समाजमा भिन्न चित्र र स्वरुप देखिन थालेका छन् ।

जब सन्तानको लागि आमा गभवति हुन्छीन् । आमाको मनमा अनेकौ बिचारहरु सल्बलाउन थाल्छन् । के खाने के नखाने ? जे पायो त्यही खाँदा कतै बच्चामा खोट हुन्छ की ? छोरा हुन्छ की छोरी ? छोरी भइहाल्यो भने समाजले के भन्ला ?छोरा भयो भने समाजमा कस्तो शान होला ? भोली गएर आफ्नो बँश धान्ला की नधान्ला ? मलाई कति सुख सयल दिन सक्ला ? यस्तै अनगिन्ती कुराहरु मनमा सोच्दा सोच्दै समय बित्छ ।

स्मरण रहोस, नारामा छोराछोरी समान भन्ने गरिएपनि नेपाली समाजमा अझैपनि छोरा र छोरीमा गर्भदेखि नै विभेद हुने गरेको तितो यथार्त छ । छोरी जन्मीदा खिन्न हुने आमाहरुलाई के छोराहरुले भरोसा, चाहना र इच्छा पुरा गरिदिएका छन त ? पक्कैपनि यो गम्भिर प्रश्न र सवाल अहिलेको बहसको बिषय बन्न सक्छ । प्रसुतीको चरम पिडामा पनि छोरा जन्मियो भन्दा बलिन्द्रा आशु पु्छ्दै सबै दुख भुलेर बच्चालाइ काखमा च्याप्ने आमाले कतै बच्चालाई चिसोले समाउछ की भनेर थोत्रा झुत्रा कपडाले भएपनि बेरेर राख्छिन् । त्यो दिन त्यो रात, त्यो परिवारमा बल्ल हाम्रो घरको कुल घराना थाम्ने सन्तान आयो भनेर बाबा गाउटोल भरि छोरा जन्मियो भन्दै खुशि बाँड्न भ्याइसक्छन् । एक कान दुइ कान मैदान हुन बेर लाग्दैन । समाज भरि छोरा जन्मेछ भनेर खुब हल्ला पिटिन्छ ।

चौतारे, दोबाटे अनि धारामा गफ गरिन्छ । त्यो दिन घरमा कसैको अनुहारमा दुख भेटिन्न । बच्चामा कसैको नराम्रो दृष्टि नलागोस भनेर आमाले लुगाले छपक्कै छोप्छिन् । हिडाइ बोलाइ नै फरक हुन्छ । कतै चोट लाग्छ की कतै झगडा पो गर्छ की या अप्ठ्यारोमा गएर लड्छ की वा गलत सँगतमा लागेर बिग्रन्छ की ? भनेर रात दिन चिन्तामा परेर हुर्काउछिन् , बढाउछिन् ,पढाउछिन् ।  छोरो ठुलो भयो । पढ्न शहर पस्यो । रमझम भेट्यो । मन बदलियो । रमझमले तान्यो । उसमा अब परिबर्तनका छालहरु देखिन थाल्यो । आमा प्रतिको मायाहरुमा कमी आउन थाल्यो । आफ्नो जिम्मेवारी हरु बिर्सिदै गयो । अब उसले कति पढ्छ या काम गर्छ । उसलाई पहिलाको त्यही घर आँगन सानो लाग्छ । फोहोर लाग्छ । आमा बुबाको दैनिकी पाखे लाग्छ । गाउघर शुन्य लाग्छ । शहर नै बसाइ सर्न मन लाग्छ । एउटा छोरो उच्च शिक्षा पढ्न बिदेश लाग्छ । नेपालमा कुनै प्रकारको अबसर छैन । धेरै पढेर ठुलो मान्छे बन्ने, पैशा कमाउने , आमाबाबालाई खुशी राख्ने आदि सपना देख्दै बिदेश पलायन हुल्छ । थाहा छैन , ऊ फर्कन्छ या फर्कन्न । फर्के पनि समयको अत्तोपत्तो छैन । अर्को छोरो शहरमा छ । काम गर्छ वा पढ्छ वा अन्य केही गर्छ थाहा छैन ।

घरमा छोराको भबिश्य देख्दा देख्दै थाकेका, उमेर पाकेर सेता भएका कपाल सुम्सुम्याउदै घरको आँगनको डिलबाट छोरा आउने बाटो हेर्दैमा दिन बित्छ आमाको । नानाथरी सपना देख्दैमा रात बित्छ तर अहँ छोरा फर्कने कुनै सुइको समेत हुदैन । लामो समयको दुख ,संघर्ष पछि पनि जिन्दगीले कुनै सुखको सास फेर्ने अबसर समेत नपाउने अबस्था छ । छोरा शहरबाट घर आउला सुख देला , तर फर्कदैन । बिदेशबाट छोरा आउला , पैसा ल्याउला , घर बनाउला तर छुट्टी मिल्दैन रे । यता सासले आश मार्न आँतिसक्यो , न शहरको नत बिदेशको छोरा आउने हल्ला छ …..।
आमाका सबै भरोसा गुम्दा लाग्दो हो ? एउटा होइन, दुइवटा होइन तीन वटा छोरा जन्माउन पाएको भए ! कोही शहर वा बिदेश छिरे पनि एउटा छोरा गाउँमै बस्दो हो । म सँगै मेलापात गरेर मिठो मसिनो खाएर अन्तिम स्वास लिँदा साहारा त बन्दो हो । दुखमा आशु पुछ्ने छोरा भैदिएको भए मेरो जिवन यस्तो बेरङ्ग अनि बेढङ्गको हुनेत थिएन की ? आमाको सपना यसरी चिरहरण हुनुमा छोराहरुको मात्रै दोस हो त ? पक्कैपनि हाम्रो परिवेश, देशको अबस्था अनि बाध्यताले पनि आमाहरुका चाहना पुरा हुन सकेका छैनन् । यहाँ ग्रामीण परिवेशलाई आधार बनाएर आमा र छोराको भुमिका चित्रण गर्न खोजिएपनि खासमा हरेक आमा बुबाले आफ्ना छोराछोरीमाथि ठुलो भरोसा राखेका हुन्छन् ? के हामीले आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गरेका छौँ त ? छोरा र छोरीबिचमा हुने गरेको सामाजिक विभेदको अबस्था कस्तो छ ? यि प्रश्नहरुमा नयाँ शिराबाट अगाडी बढ्नुपर्ने अबस्था सिर्जना भएको छ ।