रघुगंगामा ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु, छोरीलाई गाउँपालिकाको मासिक एक सय

  • २१ श्रावण २०७६, मंगलवार
  • 3431 पटक पढिएको

कमल खत्री/ सन्ताेष गाैतम

मौवाफाँट २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउनका लागि ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

गाउँपालिकाले छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले आफूले पाउने पारिश्रमिकबाट स्थापना गर्नुभएको भवबहादुर भण्डारी अक्षयकोषबाट हरेक दम्पतिका एक छोरीलाई आफ्नो कार्यकाल सकिएपछि पनि निरन्तरता पाउने गरि थप मासिक एक सय रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गर्नुभएको छ । आठ वटै वडामा गाउँपालिकाले तोकेको सहकारी संस्थामा छोरीका नाममा खाता खोलेर गाउँपालिका र अभिभावकले मासिक एक/एक सय रुपैयाँका दरले बचत गर्ने कार्यबिधीमा उल्लेख छ । गाउँपालिकाले दश वर्षसम्म र अभिभावकले बीस वर्षसम्म मासिक रुपमा खातामा जम्मा गर्ने पैसा छोरी बिस वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाईने प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बालिका १० बर्षदेखि २० बर्ष नपुग्दा सम्म उनका अभिभावकले आफ्नो आम्दानीको ५ प्रतिशत रकम सो खातामा अनिबार्य रुपमा जम्मा गरिदिनुपर्ने प्रावधान राखिएको छ । बालिकाको खातामा जम्मा हुने रकम बीस वर्षअघि शिक्षा लगायतको अत्याबश्यक कार्यका लागि आवश्यक परेर निकाल्नु परेमा गाउँपालिकाको स्विकृति लिनुपर्ने बाध्यकारी व्यवस्था राखिएको छ । सर्त पालना नगरे खातामा अभिभावले जम्मा गरेको पैसा समेत गाउँपालिकालेनै फिर्ता लिने जनाइएको छ ।

बालबिवाह न्युनीकरण, संस्थागत प्रसुति सेवालाई प्रोत्साहन, सहकारीको प्रर्वद्धन, बचत गर्ने बानिको विकास, गर्भमा लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन छोरी पेवा कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तो सुबिधा पाउन दुई सन्तान मात्र जन्माउनुपर्ने, स्वास्थ्य संस्थामा प्रसुति हुनुपर्ने, बीस वर्ष अघि बिवाह गर्न नपाउने, अभिभावकले बचतलाई २० वर्षसम्म निरन्तरता दिनुपर्ने सर्त पालना गर्नुपर्ने प्रावधान राखिएको छ ।

खाता खोलीने सहकारी संस्थाले नियम अनुसार अडिट, साधारणसभा र अधिवेशन गरेको हुनुपर्नेछ । ‘कार्यक्रम सानो भएपनि यसले धेरै आर्थिक र सामाजिक पक्षलाई समेट्न खोजेको छ,’ प्रशासकीय अधिकृत थापाले भन्नुभयो । यसैगरी सामुदायिक वन उपभोक्ता समूहसंग साझेदारी गरेर वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने कार्यबिधि पनि बैठकले पारित गरेको छ । वन समुहसंग रहेको पुजिलाई विकास, गरिवि निवारण, आयआर्जनमा परिचालन र नियमनका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

साझेदारीका कार्यक्रम सञ्चालन गर्न समूहले कम्तीमा पचास प्रतिशत बजेट लगानी गर्नुपर्नेछ् । नमुनाको रुपमा मौवाफाँटको चुहिनेपानी कुनौटा सामुदायिक वन समूह र गाउँपालिकाको एक/एक लाख रुपैयाँ साझेदारीमा विपद् व्यवस्थापन योजना सञ्चालन गर्ने निर्णय भएको छ । ७ देखि ११ सदस्यीय कार्यक्रम कार्यान्वयन र गाउँपालिका अध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरिनेछ् । यसैगरी २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि गत असार २० गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको प्रथम पञ्चवर्षिय योजना मंगलबारको बैठकमा सार्वजनिक गरिएको कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

आर्थिक विकास र गरिबी निवारणलाई जोड दिएको पञ्चवर्षिय योजनाले मध्य र दिर्घकालिन प्रकृतिका योजनाहरुको वडागत सूचि समेत तयार पारेको छ । कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति गठन भएको छ । २०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीतिहरु, यातायात, सडक, खानेपानी, विद्युत, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिएको छ ।