पदमार्गले जोडिदै झाँक्रीपानी

  • १८ श्रावण २०७६, शनिबार
  • सन्ताेष गाैतम
  • 2957 पटक पढिएको

 

बबियाचौर १८ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाँक्रीपानीलाई पदमार्गले जोडिने भएको छ । गाउँपालिकाले अर्मनको पुलचोक देखि गहते नेटा हुँदा झाँक्रीपानी जोड्ने छ किलोमिटर पदमार्ग निर्माण गर्न सुरु गरेको छ । पहिलो चरणमा पुलचोक देखि गहते जोड्ने पदमार्ग निर्माण भइसकेको छ ।

गाउँपालिकाको तेह् लाख रुपैयाँ अनुदान सहयोगमा जंगल बिचको भिरालो र उकालो बाटोमा ३३० मिटर पदमार्ग बनाइसकेको उपभोक्ता समितिका सचिव जितबहादुर किसानले बताउनुभयो । यस वर्ष नौ लाख रुपैयाँ सहयोगमा २३० र गत वर्ष चार लाख रुपैयाँ बजेटबाट १०० मिटर पक्कि पदमार्ग बनाइएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सो पदमार्ग बनाउन पाँच लाख रुपैयाँ बिनियोजन गरेको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

पदमार्ग बनेपछि आवत जावत र हिडडुल गर्न सहज भएको गहतेकी उमादेवी सापकोटाले बताउनुभयो । यात्रा सुरक्षित भएको उहाँले बताउनुभयो । पहिले जंगलको बिचमा भिरालो र चिप्लो बाटोमा हिड्दा लडेर दुर्घटनाको जोखिम थियो ।बाबियाचौरदेखि झाँक्रीपानी जाने आउने पर्यटकका साथै स्थानीयबासीहरुलाई लक्षित गरेर पदमार्ग बनाइएको हो । ढलान गरेर बनाइएको सिढीको चौडाई डेढ मिटर छ । गाउँपालिकाका प्राबिधिक नगेन्द्र सापकोटाका अनुसार एक वर्षअघि पदमार्गको सर्वेक्षण गरेर पूर्बाधार बनाउन सुरु गरिएको थियो ।

पुलचोक देखि झाँक्रेपानीको दुरी छ किलोमिटर ३६२ मिटर भएको प्राबिधिक सापकोटाले बताउनुभयो । पदमार्गको कुल लागत तीन करोड २८ लाख रुपैयाँ अनुमान गरिएको छ । बस्तीमा पक्कि र बस्ती नभएको ठाउँमा ढुङ्गे सिढी बनाएर झाँक्रीपानीलाई पदमार्गले जोड्ने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाले झाँक्रीपानीमा भ्यु टावर समेत निर्माण गरिसकेको जानकारी दिनुभयो ।

भ्रमणमा आउने पाहुनाहरुको सुबिधाका लागि घरबास सेवा सुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानी सदरमुकाम बेनी देखि गाडीमा दुई घण्टा र एक दिन पैदल हिडेर पुग्न सकिन्छ ।

यहाँबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका १६ वटा भन्दा बढी हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । वरपरका गुराँसको जंगल र त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्तीहरुको दृष्य अर्को आकर्षण हो ।

मगर र छन्त्याल समुदायको बसोबास रहेको झाँक्रीपानी गाउँ सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । परापुर्व कालमा झाँक्रीका भरीयालाई तिर्खा लागेपछि यो डाँडामा आएर लौरो गाड्दा पानीको मुल भेटिएकाले झाँक्रीपानी नाम रहन गएको किम्वदन्ती छ ।

झाँक्रीपानी नजिकै बाइसे चौबिसे राज्यको पालको ऐतिहाँसिक चिनाकोत दरबार पनि छ । झाँक्रीपानी देखि चिनाकोत जोड्ने पदमार्ग पनि बनाइएको छ ।

सन्ताेष गाैतम