स्थानीय जातका कुखुराको ब्यवसायिक पालन

  • १७ श्रावण २०७६, शुक्रबार
  • 5093 पटक पढिएको

बेनी १७ साउन । उन्नत र नश्ल सुधार गरिएका कुखुरापालनप्रती बढेको आकर्षणका कारण म्याग्दीमा स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका छन् । आयात गरिएका ब्रोइलर र कोइलर जातका कुखुराको मासु गाउँ गाउँमा पुग्न थालेको छ । सस्तोमा पाइने भएपछि सर्वसाधारणले घरमा पाल्नु भन्दा पसलबाट मासु किनेर खाने चलन बढेको छ ।

स्वादीलो, पोषिलो र गुणस्तरीय मासु तथा अण्डा उत्पादन गर्ने स्थानीय साकीनी, घाँटी खुइले, उल्टे, किस्टोन जातका कुखुरा गाउँघरमा भेटिन छाडेका छन् । तर म्याग्दीका एक कृषकले भने लोप हुन लागेका विभिन्न जातका कुखुरालाई ब्यवसायिक रुपमा पाल्न थालेका छन् ।मंगला गाउँपालिका–५ सेराफाँटका नगेन्द्र सापकोटाले साकीनी, घाँटीखुइले, उल्टे जातको कुखुरा पालन सुरु गर्नुभएको हो । कुखुरापालनसंगै उहाँले ७ रोपनी धान खेतमा केरा खेती गर्नुभएको छ ।

घेराउ गरिएको केराको बगैचाभित्रै कुखुराको खोर र चर्ने ठाउँ बनाउनुभएको छ । तीन महिनाअघि अर्मन र बाबियाचौरका विभिन्न बस्तीबाट कुखुरा संकलन गर्नुभएको थियो । ३० वटाबाट सुरु भएको खोरमा अहिले डेढ सय कुखुरा छन् । नयाँ चल्ला उत्पादन हुने क्रम बढ्दो । चल्ला बाहेक अण्डा पनि उत्पादन गरेर बेच्ने गर्नुभएको छ । बाबियाचौरमा आफैले सञ्चालन गरेको रेष्टुरेन्टका साथै विभिन्न ठाउँबाट कुखुराको माग आउने गरेको सापकोटाले बताउनुभयो ।

लोप हुन लागेका स्थानीय जातका कुखुराको संरक्षण, बजारको आवश्यकता पुर्ति र आयआर्जनका लागि लोकल कुखुरा पालेको उहाँले बताउनुभयो । कुखुरापालनका लागि उहाँले तीन लाख रुपैयाँ भन्दा बढी लगानीमा संरचना बनाउनुभएको छ ।ती कुखुराहरुलाई स्थानीय मकै, कोदो, जौ, उवा लगायत खाद्यान्ननै आहरा दिने गरिएको छ । ५ देखि ६ महिना पालेपछि एउटा कुखुरा साढे दुई किलो सम्म हुने गर्छ । प्रतिकिलो ७५० रुपैयाँका दरले बिक्री हुने सापकोटाले बताउनुभयो ।

कुखुराको संख्या अझै बढाउने र बजार विस्तार गर्ने सापकोटाले बताउनुभयो । यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनी नगरपालिका ५ डडुवामा स्थानीय कुखुरा पकेट प्याकेज कार्यक्रम सञ्चालन गरेको छ । सिद्ध भुमे पशुपंक्षिपालन कृषक समूहमा आवद्ध तीस जना कृषकहरुलाई दश/दश वटाका दरले किस्टोन जातको कुखुराको चल्ला वितरण गरिएको कार्यालयका प्राबिधिक सुभाष रेग्मीले बताउनुभयो ।

कुखुरापालन सम्बन्धी तालिमका साथै खोर सुधारका लागि प्रति सदस्य दुई हजार रुपैयाँका दरले अनुदान समेत दिएको कार्यालयले जनाएको छ । पर्यटकीय स्थल तातोपानी र टोड्केलाई लक्षित गरेर डडुवामा स्थानीय जातका कुखुरापालन सुरु गरिएको हो ।