हत्केलामा ज्यान राखेर पुर्खेउली पेशा ‘भीर महको शिकार’ (फोटो फिचर)
- १७ असार २०७६, मंगलवार
- कमल खत्री
- 5086 पटक पढिएको
कमल खत्री
बेनी १७ असार । गुर्जा हिमालबाट बग्दै आएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ गएको छ । करिब ५ सय मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लदै छन् । पहाडको टुप्पोमा केही युवाहरु छन् । पहाडको टुप्पोबाट भीरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् ।
पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा रहेका मानिसहरु गाग्री, डोको, बाँटा लगायतका समाग्रीको साथ बसेका छन् । यो दृष्य धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँदेखि करिब ५ घण्टाको पैदल यात्रापछि पुगिने घ्यासपुर भीरमा गुर्जाका स्थानीयले भीर मौरीको शिकार (हनी हन्टिङ) गर्दै गरेको हो । सडक सञ्जालले नजोडिएको गुर्जा म्याग्दी सदरमुकाम बेनीदेखि २६ कोष टाढा दुई दिनको यात्रामा पर्छ । गुर्जामा पुख्र्यौली पेशाको रुपमा रहेको भीर मौरीको शिकार अहिलेपनि प्रचलनमा छ ।
गुर्जामा हरेक बर्ष भीर मौरीको मह काट्ने चलन छ । यस बर्ष गत जेठ १८ गतेबाट भीर मौरीको मह निकाल्न सुरु गरिएको थियो । झण्डै १ महिना बढी समयसम्म मौरीको चाका हुने प्राय सबै भीरहरुमा मह शिकार हुने गर्छ । अग्ला पहाडमा हत्केलामा ज्यान राखेर भीर मौरीको मह काट्ने गरिन्छ । सबै भन्दा जोखिम भीरमा मौरीको चाका नजीक पुगेर मह काढ्ने शिकारी (पराङ्गे) लाई हुने गर्छ । गुर्जाका अक्करे भीरहरुमा मह काट्न यस बर्ष स्थानीय अमृत छन्त्याल पराङ्गेको रुपमा भीरमा चढ्ने गरेका छन् । निगालोको चोयाबाट बनाइएको डोरीमा काठ राखेर बनाइएको भ¥याङ (पराङ)मा तुरुलुङ्ग भुण्डिएर उनले दैनिक जसो मह काट्ने गर्छन् ।
गुर्जाका ६० बढी भीरहरुमा भीर मौरीको शीकार हुने गर्छ । घ्यासपुर, छहरा, रिमताला, हुचिन, घुमाउरे, वानथान, फलियाघर, ठुलो भीर लगायतका ठुला र धेरै मह हुने भीरहरुमध्ये घ्यासपुर भीर सबैभन्दा बढी अग्लो र अप्ठ्यारो भीर हो भने मह पनि सबै भन्दा बढी यहि भीरका चाकाहरुबाट उत्पादन हुने भीरमा चढेर मह काट्ने गरेका मह शिकारी छन्त्यालले बताए । ‘‘ चोयाकै डोरीले कम्मरमा बाध्ने गर्छौँ , मुखमा सामान्य रुमालले छेक्ने हो, मौरीको टोकाइ नहुने कुरै भएन, पराङमा बेरिएर ज्यान सुरक्षित गर्नुपर्छ, पुर्खाहरुबाट शिप सिकेर यसरी मह काट्न भीरमा चढ्न थालेको हुँ’’– छन्त्यालले भने । भिरमा चढेकाले मह काढेपछि महलाई चोयाबाटै बुनेको टोकरीमा संकलन गरि चोयाको डोरीको सहायताले तल फेदीमा झार्ने गरिन्छ ।
मह शिकारीले काढेको महलाई भीरको शीरमा बस्ने डोरी खेलाउने र फेदीमा बस्ने ज्यामीहरुले ठुलो आवाजमा सम्वाद गरेर तल झाने र टोकरीलाई पुनः मह शिकारीको नजीक पु¥याउने गर्छन् । परम्परागत रुपमा गुर्जामा चार समुहले बर्षैपिच्छे पालो लगाएर मह काढ्ने चलन रहेको छ । पहाडको काप अर्थात पानीले नभिज्ने र हावाहुरीले समेत कम प्रभावित हुने ठाउँमा हुने भीर मौरीको चाकाबाट मह निकाल्ने काम पुख्र्यौली पेशा भएपनि निकै जोखिमपूर्ण र साहसिक मानिन्छ ।
पालो लगाएर मह शिकार
गुर्जामा रहेका २३० घरधुरी चार समुहमा विभाजन भएका छन् । पुस्तौँदेखि मह शिकारलाई व्यवस्थित गर्न यहाँ चार समुहले आलोपालो गरेर मह काढ्ने गर्छन् । एउटा समुहको पालो चार बर्षमा मात्रै आउँछ । यस बर्षका महशिकारीहरुको समुहमा ३७ घरधुरी आबद्ध छन् । प्रत्येक घरबाट एक जना कम्तीमा पनि मह शिकारको काममा व्यस्त छन् । गुर्जालीले मह शिकारलाई पुख्र्यौली पेशाको रुपमा मात्रै जोगाएका छैनन् । उनीहरुले सामुहिक रुपमा आयआर्जनको काम पनि गरेका छन् ।
कोहि भीरमा चढ्छन् । कोहि फेदीमा । कसैले खाना र खाजा बनाउने गर्छन भने कसैले संकलन भएको महलाई बोकेर गाउँमा पु¥याउने काम । एक महिना बढी समय खर्चिएर भीरबाट संकलन हुने महलाई एकिकृत रुपमा पकाएर परम्परागत रुपमा प्रशोधन गरि उनीहरुले विक्रि गर्छन् । भीरमा चढ्ने व्यक्तिलाई दोब्बर र अन्य व्यक्तिहरुले समान रुपमा महलाई बाँडफाँड गर्ने चलन रहेको छ । मह शिकारको कम्तीमा एक महिना यहाँका मह शिकारीहरुको टोली जंगल र गोठहरुमा बास बस्ने गर्छन् । यस बर्ष खास्कादेखि नजीकको खर्कमा रहेको गोठ र केही दिन जंगलमै त्रिपाल टाँगेर उनीहरुले मह शिकार गरेका छन् ।
यसरी हुन्छ मह शिकार
हरेक भिरमा मह काढ्नुपूर्व जिउ ज्यानको रक्षाको कामना सहित देवि, देउतालाई सम्झिएर धजा चढाउने गरिन्छ । भीरको शिरमा गाडिने किलोमा सकभर नफुक्ने गरि बाँधेर चोयाको पराङलाई पहाडतर्फ खसालिन्छ । भीरमा मह काढ्ने शिकारीले मह काढ्ने सामानको बन्दोबस्त सहितको झोला बोकेर निगालोको लौराहरु सहित पराङ चढ्छन् । मौरीको चाका नजीक पुगेपछि शिकारीले निगालोको लौरालाई भीर पहाडको कापमा ठोकेर पराङलाई बाँधेर सामान्य सन्तुलनमा राख्ने काम गर्छन् । फेदीमा बसेका र भीरको शीरमा बसेका सहयोगिहरुले चोयाकै डोरीको सहायताले फेदीबाट आगोको मुस्लो शिकारीसामु पु¥याउने गर्छन् ।
शिकारीले आगोको मुस्लोलाई मौरीको चाका नजीक पु¥याउँछन् । आगोको धुवाँले मौरीलाई भगाउने र लठ्ठयाउने काम गरिन्छ । धुँवा लगाएपछि लठ्ठीएर मौरीले टोक्न नसक्ने भएपछि शिकारीले मह काढ्न सुरु गर्छन् । भीरमा माहुरीले चाका छाडेपछि देखिने पहँेला चाका फालेपछि देखिने सेतो पोलामा बल्न मह भेटिने स्थानीय युवा थमबहादुर छन्त्यालले बताए । अक्करे भीरमा डोरीको सहायताले मह काढ्ने गरेको दृष्य काहालिलाग्दो देखिन्छ । भीरमा चढेका शिकारी, भीरको टुप्पोमा बसेका सहयोगी र फेदीमा बसेका मह संकलन कर्ताबिचको सहज सम्बादको लागि भीरको अगाडी पर्ने डिलमा केही हेरालो बस्ने गर्छन् । उनीहरुले तीन ठाउँबिचमा आईपर्ने समस्या र गर्नुपर्ने कामलाई ठुलो स्वरमा कुर्लिएर सम्बन्धित ठाउँमा खवर पु¥याउने गरेको दृष्यले मह शिकारको छुट्टै र फरक अनुभुति दिने पहिलो पटक मह शिकार हेर्न पुगेका बेनीका अमित विश्वकर्माले बताए ।
बार्षिक कति उत्पादन हुन्छ मह ?
गुर्जामा भीर मह स्थानीयको आयआर्जनको बलियो स्रोत बनेको छ । पुख्र्यौली पेशाकै रुपमा निरन्तरता पाएको मह शिकारबाट एउटै भिरमा बढीमा ४ सय लिटरसम्म मह संकलन हुने गरेको छ । भीरमा मौरीको चाकाबाट निकालिएको काँचो महलाई गाउँमा पु¥याएर पकाएर प्रशोधन गरेर स्थानीय तथा राष्ट्रिय बजारहरुमा विक्रिको लागि पु¥याउने गरिन्छ ।
मह राम्रो उत्पादन भएको बर्ष १५ देखि २५ लाख सम्म मह विक्रिबाट गाउँमा रकम भित्रने गरेको स्थानीय भिमबहादुर छन्त्यालले बताए । ९ बर्षसम्म भीरमा चढेर मह शिकारीको रुपमा मह काढेको अनुभव संगालेका छन्त्यालले हरेक बर्ष एक घरमा न्युनतम ३० हजारदेखि अधिकतम ८० हजारसम्म आम्दानी हुने बताए ।
मह शिकारलाई व्यवस्थित बनाउने तयारी
धवलागिरि गाउँपालिकाले मह शिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयको पुख्र्यौली पेशाको संरक्षण र पर्यटन संग समेत जोडेर पर्यटन विकास गर्ने रणनीति तय गरेको छ । मह शिकार गर्ने परम्परागत विधि र शैलिलाई आधुनिकीकरण गर्ने, सुरक्षा संवेदनशिलामा ध्यान दिने र प्रशोधनको लागि नयाँ प्रविधिको खोजी सुरु गरिएको गुर्जाका वडा अध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले बताए । ‘‘ महशिकार यहाँका स्थानीयको पुख्र्यौली पेशा हो, सुरक्षाको हिसाबले यो निकै जोखिमयुक्त छ, हामीले यसलाई कसरी व्यवस्थित र सुरक्षित गराउन सक्छौँ भनेर आबश्यक पहल थालेका छौँ’’–अध्यक्ष छन्त्यालले भने ।
मह शिकारको लागि डिभिजन बन कार्यालय मार्फत प्रतिलिटर रु १ सय रुपैयाँ राजश्व तिरेर संकलन पुर्जि लिनुपर्ने प्रावधान रहेको छ भने धवलागिरि गाउँपालिकाले समेत प्रतिलिटर रु १५ रुपैयाँ निकासी कर तोकेको छ । निकै साहसिक मानिने महशिकारलाई पर्यटनसग जोडेर संरक्षण र व्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् । मह शिकारीहरुको मागको आधारमा सुरक्षित र व्यवस्थित बनाउँदै पर्यटन संग जोडेर महशिकारको पुख्यौली पेशालाई संरक्षण गरिने अध्यक्ष पुनको भनाई छ ।
माग अत्यधिक
मुखमा राख्दा गुलियो र स्वादिलो हुने भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुन्छ । जंगलमा मौरीले विभिन्न जडिबुटीको रसबाट मह बनाउने भएकाले भीर मौरी जडिबुटीको रुपमा प्रयोग गरिँदै आईएको पाईन्छ । स्थानीय संगै अन्तराष्ट्रिय बजारबाट समेत भीर महको माग आउने गरेको छ । खासगरि नेपालबाट चीन र कोरियाका नागरिकहरुले मह लैजाने गर्छन् । रोगप्रतिरोधात्मक र शक्तिबद्र्धक मानिने भीर मह पहिले घरायसी रुपमा मात्रै प्रयोग हुने गरेको भएपनि अहिले भने बजारको माग पु¥याउनै मुस्कील हुने गरेको गुर्जाका स्थानीय प्रेम छन्त्यालले बताए । उनका अनुसार, अहिले गाउँबाटै प्रतिलिटर १५ सय रुपैयाँमा मह विक्रि हुने गरेको छ ।
म्याग्दीमा गुर्जा संगै मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, बरंजा, कुइनेमंगले, चिमखोला, हिस्तान, लगायतका क्षेत्रमा बर्षेनी मह शीकार हुने गरेको छ । चैत महिनामा बेशीका भिरबाट मह निकालिने भएपनि उच्च पहाडी क्षेत्रका पहाडमा असार सम्म पनि मह निकाल्ने गरिन्छ । गर्मी सुरु भएपछि माहुरीहरु लेकमा र जाडो सुरु भएपछि बेशीमा बसाईसराई गर्ने भएकाले दुबै क्षेत्रमा भीरमाहुरीको सम्भाबना छ । भीर माहुरीको चरनक्षेत्र फराकिलो हुने र विभिन्न फलफुल देखि जडीबुटीहरुका समेत रस खाने भएकाले भीरमह बढी कडा हुने भएकाले एकैपटक धेरै खान नहुने जानकारहरु बताउँछन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l