गाउँका पसलमा छ्याप छयाप्ती म्याद नाघेका सामान

  • ३ असार २०७६, मंगलवार
  • 2386 पटक पढिएको

म्याग्दी ३ असार । म्याग्दीका ग्रामिण क्षेत्रका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामान भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनका क्रममा ग्रामिण क्षेत्रका पसलहरुमा म्याद नाघेका खाद्य र पेय पदार्थ बिक्री हुने गरेको भेटिएको हो ।म्याग्दीका छ वटै स्थानीय तहमा सोमबार एकैपटक बजार अनुगमन भएको थियो । जेठ महिनादेखि हरेक महिनाको पहिलो सोमबार विषयगत कार्यालय र स्थानीय तहहरुसंगको समन्वयमा गाउँ केन्द्रित बजार अनुगमन सुरु गरिएको थियो ।


प्रजिअ लीलाधर अधिकारीको नेतृत्वमा धवलागिरी गाउँपालिकाको धारापानी, ताकम र शिवाङका १४ वटा, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सरिता गौतमको नेतृत्वमा मालिकाको दरवाङका ५१ वटा र जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाको नेतृत्वमा मंगलाको बाबियाचौरका ३० वटा पसल अनुगमन भएको थियो ।


सहायक प्रजिअ महेश सुवेदीको नेतृत्वमा अन्नपूर्णको पोखरेबगरका १८ वटा, प्रहरी निरिक्षक लक्ष्मण देवकोटाको नेतृत्वमा रघुगंगाको मौवाफाँटका १७ वटा, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माको नेतृत्वम बेनीका दश वटा खाद्यान्न र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यको नेतृत्वमा बेनीका २८ वटा मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनमा स्थानीय तह र वडाका जनप्रतिनिधि तथा म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत इकाइका प्रतिनिधिहरुको पनि सहभागिता थियो । ग्रमिण क्षेत्रमा यसअघि अनुगमन टोलीले दिएको सुझाव अनुसार केही व्यवसायी दर्ता प्रक्रियामा गएको, म्याद नाघेका सामान फिर्ता गर्न छुट्टाएर राखिएको पाइएको छ ।
कतै भने सुधार र दर्ता प्रक्रियामा ब्यवसायीहरु उदाशिन बनेका छन् । अनुगमन टोलीले म्याद नाघेका सामान बरामद र नष्ट गरेको छ । तत्कालै डिलरलाई सामान फिर्ता गर्न पनि निर्देशन दिएको छ । कोकाकोला, स्पराइट, फेन्टा लगायत पेय पदार्थ, दालमोठ, चिउरा, चाउचाउ, बिस्कुट, भुजीया खानेतेल जस्ता बस्तु म्याद नाघेपनि बिक्रीका लागि राखेको भेटिएको प्रजिअ अधिकारीले बताए ।
ब्यवसायीहरुले डिलरहरुले विभिन्न स्किम ल्याएर म्याद सकिन लागेका सामान सस्तोमा गाउँमा ल्याएर बेच्ने गरेको बताएका छन् । धारापानीकी किराना ब्यवसायी नरमती थापाले डिलरले म्याद नाघेका सामान बेच्न आउने गरेको बताउँदै आफूहरु पनि अब सचेत बन्ने बताए ।
अर्की व्यवसायी समिक्षा पुर्जाले व्यवसाय दर्ता प्रक्रियाको बारेमा जानकारी नभएको बताउनुभयो । ताकमका ब्यवसायी नरेश पौडेलले व्यवसायी र उपभोक्तालाई सचेत बनाउन नियमित अनुगमन आवश्यक रहेको बताएका थिए ।
प्रजिअ अधिकारीले म्याद नाघेका बस्तुको उपभोग गर्दा जनस्वास्थ्यमा गम्भिर असर र हानी पुग्ने बताए । डिलरहरुको लापरबाही र बदमासी देखिएकाले उनिहरुलाई छलफलमा बोलाउने प्रजिअ अधिकारीले प्रतिवद्धता गरे । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत धवलागिरी इकाइका अध्यक्ष किरन थापाले ब्यवसाय दर्ताका लागि स्थानीय तहले पहल र म्याद नाघेका अखाद्य बस्तुको बिक्री वितरण रोक्न व्यवसायीलाई सचेत र उपभोक्तालाई जागरुक बनाउनुपर्ने बताए ।