निलगिरि क्यासकेडको पहुँचमार्ग निर्माण

  • २८ जेष्ठ २०७६, मंगलवार
  • 3041 पटक पढिएको

 

नारच्याङ २८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक सय मेगावाट क्षमताका निलगिरिखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले निलगिरि क्यासकेडको पहुँचमार्ग बनाइसकेको र निलगिरिको पहुँचमार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो ।

नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युतगृहदेखि छोटेपा भन्ने ठाउँमा बस्ने बाँधसम्म सडक पु¥याएको हो । छोटेपा देखि निलगिरी र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित निलगिरीखोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु¥याउन काम सुरु गरेको छ ।

डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युतगृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरेको इञ्जिनियर केशव वाग्लेले बताउनुभयो ।

‘नदीको हाइट धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागीएको हो,’ वाग्लेले भन्नुभयो ‘स्रोत जुटाउने देखि अन्य सबै प्रक्रिया पुरा भइसकेको छ ।’ पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी र आवत जावत सहज भएको छ ।


तेह् अरब रुपैयाँ लागत अनुमान गरिएको आयोजनालाई लगानी जुटिसकेको छ । ४.४ किलोमिटर सुरुङ हुने निलगिरी क्यासकेडको पेनस्टक पाइपलाईन भुमिगत बनाइने भएको छ । निलगिरीको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ । आगामी ४ वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भौगोलिक विकटताका बावजुद पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताउनुभयो । रन अफ द रिभर प्रकृतिको यो आयोजनाको सिभिल ठेकेदार समेत छनौट भएको छ ।

यहाँबाट उत्पादीत विद्युत दानामा निर्माणाधिन २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल दश वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा रहेका छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, ४ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दी लगायत आयोजना निर्माणको प्रक्रियामा रहेका स्थानीय सुवास विश्वकर्माले बताउनुभयो ।