नांगीका युवाहरुद्धारा सामुहिक कृषि उद्यम सुरु ( फोटो फिचर)

  • १९ बैशाख २०७६, बिहीबार
  • 3286 पटक पढिएको

बेनी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका युवाहरु सामुहिक उद्यममा अग्रसर भएका छन् । वैदेशिक रोजगारको विकल्पमा गाउँको खेतियोग्य जमिनको सदुपयोग गरि स्वरोजगार बनेर आयआर्जन सुधार गर्न सामुहिक कृषि उद्यम सुरु गरेका हुन् ।
विदेशबाट फर्कीएका, देशका विभिन्न सहरमा बस्ने र गाउँमै रहेका चार जना युवाहरु मिलेर नांगीमा कर्बाकेली ब्रर्दश प्रा.ली सञ्चालन गरेका छन् । जापानबाट फर्कीएका लील पुर्जाको नेतृत्वमा स्थापना भएको प्रा.लीमा नांगीका हेमन्त तिलिजा, पाब्लर खोर्जा र अमन पुर्जा आवद्ध हुनुहुन्छ ।


पोखरामा बस्दै आउनुभएका पुर्जाले फार्मको बजार व्यवस्थापन, तिलिजाले व्यवस्थापन, खोर्जाले प्राबिधिक र पुर्जा लेखापरीक्षक हुनुहुन्छ । ‘‘अग्रजहरुको साथ अनि पुर्जाले जोडिदिएको माटोमा हाम्रो सृजना, बेरोजगारीलाई रोजगार, आर्गानिक बस्तुको उत्पादन हाम्रो योजना’’ भन्ने फार्मको नारा छ । रोजगारीका लागि आठ वर्ष जापानमा बिताउनुभएका पुर्जाले विदेशमा काम गर्दा हाँसिल गरेको व्यवसायिक सिपको प्रयोग गरेर जन्मथलोमा अरु युवाहरुलाई समेत सहभागी बनाएर पुनले कृषि उद्यम सुरु गरेको बताउनुभयो ।

‘गाउँमा बाँझिएर फालिएको जग्गाको सदुपयोग, रोजगार र आयआर्जनको अवसर सिर्जना गर्न साथीहरु मिलेर कृषि र पशुपालन सुरु गरेका हौ,’ पुर्जाले भन्नुभयो ‘जापानको व्यवसायिक अनुभव र सिपलाई स्वदेशमा परिचालन गरेको हो ।’उक्त कम्पनी मार्फत नांगी गाउँमा ब्यवसायिक बाख्रा, माछापालन, तरकारी र आलु खेती सुरु भएको छ । बसाईसराई र कामदार नपाएर बाझो बनेको दस रोपनी भन्दा बढी क्षेत्रफलको बारीमा यस वर्षदेखि आलु खेती गरेका छन् । आलु र तरकारी खेती गर्न पुख्यौली जग्गाका साथै भाडामा पनि लिएका छन् ।

फार्म स्थापना, बाख्रा खरिद र पूर्वाधार निर्माणमा हालसम्म पन्ध्र लाख रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालक पुर्जाले बताउनुभयो । तीन रोपनीमा मौसमी र बेमौसमी तरकारी खेती गरेका उनिहरुले माछापालन समेत सुरु गरेका छन् । उनिहरुको फार्ममा स्थानीय खरी र उन्नत बोयर जातका ६० वटा बाख्रा छन् । तीन जनाले पूर्णकालिन रोजगारी पाएका छन् । फार्म मार्फत गाउँका कृषि उपज बजारीकरणका लागि पोखरामा बिक्री कक्ष सञ्चालन भएको छ । नांगी, राम्चे, काफलडाँडा, लोप्रो, डाँडाकटेरी, फलामेडाँडा, शालिजामा उत्पादन भएको तरकारी, आलु, किबी, खसीबोका पोखराको बजारमा निकासी गर्न थालेका छन् ।

उच्च पहाडी भुगोलमा पर्ने नांगी र आसपासका गाउँ आलु खेतीको पकेट क्षेत्र हो । यहाँका कृषकहरुले रासायनिक मलको प्रयोग बिना खेती गर्छन् । खेती विस्तारका साथै बाख्राको संख्या बढाउने योजना बनाएका छन् । गाउँको उत्पादन कोशेलीको रुपमा बजार पठाउन र गाउँमा बजारबाट आवश्यक सामान पठाउन उनिहरुले गाउँघरमा हुलाकबाटोको अवधारणा अघि सारेका छन् । यस अवधारणा अनुसार गाउँ र सरहका बासिन्दाले पारसल (कोशेली) आदानप्रदान गर्नेछन् । बसाइसराई, वैदेशिक रोजगारका कारण गाउँ रित्तिदै गएको र खेतीयोग्य जमिन बाँझिदै गएको अवस्थामा नांगीका युवाहरुले सुरु गरेको उद्यमले आशा जगाएको र सकारात्मक सन्देश दिएको राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।