म्याग्दीमा कक्षा आठको कमजोर नतिजा ! बेनी, धवलागिरी र रघुगंगामा ग्रेडबृद्धी परिक्षा हुने

  • ७ बैशाख २०७६, शनिबार
  • 3299 पटक पढिएको

म्याग्दी, ७ वैशाख । स्थानीय तह कार्यान्वयनमा आएसंगै यहाँका स्थानीय तहहरुले पहिलो पटक सञ्चालन गरेको आधारभुत तहको कक्षा ८ सम्मको (विएलई) परिक्षाको नतिजा विश्लेषण आफु अनुकुल गरेका छन् । एक नगरपालिका र ५ गाउँपालिकामा अधिकाँशको नतिजा सन्तोषजनक छैन् । यहाँका तीन स्थानीय तहले ग्रेडबृद्धी परिक्षा नै सञ्चालन गर्ने भएका छन् । मिश्रित नतिजा आएपछि मालिका, मंगला र अन्नपूर्णले सम्बन्धित विद्यालयलाई नतिजा हस्तान्तरण गरेपनि बेनी नगरपालिका, रघुगंगा र धवलागिरी गाउँपालिकाले नतिजा निराशाजनक देखिएपछि ग्रेडबृद्धी परिक्षा लिने निचोडमा पुगेका हुन् । रघुगंगामा ३०३ जना परिक्षार्थीमध्ये १८० जनालाई गणित लागेको छ ।


अन्य बिषयको नतिजा सन्तोषजनक रहेपनि गणित सहित केही बिषयमा विद्यार्थीहरु अनुर्तिण धेरै भएपछि वैशाख १० देखि १४ गतेसम्म ग्रेडबृद्धी परिक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखाका प्रमुख बालकृष्ण उपाध्यायले बताए । धौलागिरी गाउँपालिकामा परिक्षामा सहभागी ३१८ जना विद्यार्थीमध्ये करिब ६० प्रतिशत बढी विद्यार्थी कुनै न कुनै विषयमा अनुतिर्ण भएको भेटिएको छ । नतिजा निराशाजनक देखिएकोले कमजोर ग्रेड ल्याउने विद्यार्थीलाई माथिल्लो तहमा भर्ना लिन ग्रेडबृद्धी परिक्षामा सहभागी गराउने तयारी गरिएको धौलागिरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख गिरीप्रसाद छन्त्यालले बताए । उनका अनुसार, धवलागिरीले वैशाख १५–२३ गतेसम्म ग्रेडबृद्धि परिक्षा संञ्चालन गर्ने निर्णय गरेको छ ।

धवलागिरीमा गणित, अँग्रेजी, विज्ञान र कम्प्युटर विषयमा अनुतिर्ण हुने धेरै छन् । बेनी नगरपालिकामा परिक्षामा सामेल भएका ९२४ जनामध्ये करिब ३५० जना कुनै न कुनै बिषयमा अनुर्तिण छन् । बेनी नगरपालिकामा पनि सबै भन्दा धेरै गणितमा ३०६ जना अनुर्तिण छन् । अनुर्तिण हुने अधिकाँश सामुदायिक तर्फका विद्यार्थी हुन् । कक्षा ९ मा भर्ना हुन कम्तीमा १ दशमलब ६ जिपि अर्थात डी प्लस ग्रेड ल्याउनुपर्ने कार्यविधिको कारण केही बिषयमा अनुर्तिण भएका विद्यार्थीलाई ग्रेडबृद्धीको अवसरको लागि ग्रेडबृद्धी परिक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिए ।

उनले मुख्य बिषयहरुमध्ये गणितमा प्रयोगात्मक परिक्षा नहुँदा अनुर्तिण हुने संख्या बढी देखिएपनि अन्य बिषयहरुको नतिजामा प्रयोगात्मकले कभर गरेपनि सन्तोषजनक भने नदेखिएको बताए । मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा पनि कक्षा ८ को नतिजा मिश्रित आएपनि ती स्थानीय तहहरुले भने ग्रेडबृद्धी परिक्षा सञ्चालन गरेका छैनन् । ग्रेडबृद्धी परिक्षा नलिईएको कारण यि तीन स्थानीय तहमा अनिबार्य बिषयमा डी प्लस ग्रेड भन्दा कम अंक ल्याएका विद्यार्थीहरुलाई पुनः कक्षा दोहोराउनु पर्नेछ । यसरी जिल्लामा पहिलो पटक स्थानीय तहले सञ्चालन गरेको आधारभुत तहको परिक्षाको नतिजालाई स्थानीय तहहरुले आफु अनुकुल विश्लेषण गरेका छन् । तर समग्रमा जिल्लाको नतिजा सन्तोषजनक छैन् ।

तीन स्थानीय तहले ग्रेडबृद्धीको लागि विद्यार्थीहरुलाई अवसर दिनु सकरात्मक रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दल बहादुर थापाले बताए । ‘‘ माध्यमिक तहसम्मकै शिक्षाको अधिकार स्थानीय तहमा छ, कक्षा ८ को परिक्षा स्थानीय तह मार्फत नै सञ्चालन भएका हुन, एसइइमा समेत मौका परिक्षा दिईने भएकाले आठ कक्षाका विद्यार्थीहरुलाई पनि त्यो अवसर दिइनु राम्रो पक्ष हो, सबै स्थानीय तहमा एकरुपता कायम भएको भए उत्तम हुने थियो’’– इकाइका प्रमुख थापाले भने । कक्षा ७ सम्म उदार शिक्षा नीति अनुसार विद्यार्थीहरुलाई फेल गर्न नमिल्ने भएपनि कक्षा ८ देखि भने अनुर्तिण विद्यार्थीहरुलाई कक्षा दोहोराउन लगाउन नपाउने बाध्यकारी छैन् ।